PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

के हवाई जहाजमा प्राइसवार सुरु भएको हो? यात्रुले कहिलेसम्म पाउलान् सस्तोमा उड्न?



वसन्तराज उप्रेती

के हवाई जहाजमा प्राइसवार सुरु भएको हो? यात्रुले कहिलेसम्म पाउलान् सस्तोमा उड्न?

काठमाडौं : आन्तरिक उडानमा नयाँ विमान कम्पनी थपिएपछि ‘प्राइसवार’ सुरु भएको छ। यो ‘प्राइसवार’ का कारण उपभोक्ताले भने सस्तोमा जहाजको यात्रा गर्न पाएका छन्।

आन्तरिक उडानमा बुद्ध र यति एयरलाइन्सको बर्चस्व तोड्न तेस्रो कम्पनी श्री एयरलाइन्स भित्रिएपछि प्राइसवार सुरू भएको हो।

तेस्रो कम्पनीका रुपमा ठूलो लगानीमा एग्रेसिभ रूपमा आउन खोजेको श्री एयरलाइन्सलाई केही समय नियामक निकायबाट रोक्न खोजे पनि सफल भएनन्, जसको प्रतिफल उपभोक्ताले पाए। ट्रंक रुटमा उडानको अनुमति पाएपछि श्रीले प्रतिस्पर्धी मूल्य तय गर्‍यो।

श्रीकै कारण दुई वायुसेवा कम्पनीले समेत भाडादर घटाउन बाध्य भए। संचालनमा आएको एक वर्षभित्रै जनकपुर, पोखरा र सिमरा उडानका लागि टर्बोप्रोप चलाउन अनुमति माग्यो श्रीले। तर, झण्डै एक वर्ष रोकेर बल्ल उडान अनुमति पाएको छ। तीन गन्तब्यमा उडान अनुमति पाएपछि श्रीले अरु वायुसेवा कम्पनी भन्दा सस्तोमा उडान गर्ने घोषणा गरिसकेको छ।

कम्पनीका अनुसार काठमाडौं-पोखरा उडान शुक्रबारदेखि सुरु हुनेछ। श्रीले हालसालै उडान अनुमति पाएको पोखरा, जनकपुरमा यति र बुद्ध एयरले उडान गर्दै आएका छन् भने सिमरामा बुद्धले मात्र उडान गर्दै आएको छ।

'प्रतिस्पर्धाले जुनै पनि यातायातमा सहुलियतको बाटो  खुल्छ। बसमा जस्तै हवाइ जहाजमा पनि यही कुरा लागू हुन्छ। तर कम्पनीको गन्तब्य विस्तारले प्राइसवार निश्चित छ,' एक विज्ञले भने।

‘प्राइसवार होइन'

नयाँ गन्तब्य विस्तार गरे लगत्तै कायम भाडादरलाई हेरेर प्राइसवार सुरू भएको नमानिने व्यवसायी बताउँछन्।

'जुनसुकै नयाँ गन्तब्यमा नियमित उडान सुरू गर्दा यात्रु लक्षित आकर्षक भाडादर 'प्रमोसनल फेयर' राख्नु स्वभाविक  हो। यो भनेको सीमित अवधिका लागि राखिन्छ। राष्ट्रिय मात्र नभइ अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रमोसनल फेयर राख्ने गरिन्छ,' ती व्यवसायीले भने।

त्यसो त लागत मूल्यभन्दा कममा टिकट बिक्री हुँदा हवाइ कम्पनी संकटमा पर्छन्। तीनवटा कम्पनीको प्रतिस्पर्धाले उपभोक्ता लाभान्वित भए पनि कुनै एउटा कम्पनी संकटमा पर्ने देखिन्छ।

‘अहिलेको प्रतिस्पर्धाले कुनै एउटा कम्पनी संकटमा पर्ने देखिन्छ। क्यास वर्निङ व्यवसायमा क्यास रिच हुने सस्टेन गर्छ नहुने संकटमा पर्छ,’ ती व्यवसायीले भने, ‘यो अन्तर्राष्ट्रियदेखि नेपालकै सन्दर्भमा समेत लागू हुन्छ।’

प्राधिकरणले तोकेको भाडादर अनुसार हाल काठमाडौं-पोखराका लागि न्यूनतम २७ सय रूपैयाँदेखि अधिकतम पाँच हजार ५० रूपैयाँ कायम  गरिएको छ। यसैगरी पोखरा-काठमाडौं उडानका लागि न्यूनतम ४२ सय रूपैयाँदेखि पाँच हजार ५० रुपैयाँ कायम रहेको छ।

काठमाडौं-जनकपुर उडानका लागि ३४ सय रुपैयाँ देखि ४३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ। यसैगरी काठमाडौं-सिमरा उडानका लागि ३१ सय २० रूपैयाँ कायम गरिएको छ भने काठमाडौं-राजविराज उडानका लागि ३६ सय रूपैयाँदेखि ६२ सय रूपैयाँसम्म निर्धारण गरिएको छ। तर ती गन्तब्यमा प्राधिकरणले तोकेको भन्दा न्यून मूल्यमा टिकट बिक्री भइरहेको छ।

माग र आपूर्तिका आधारमा वायु सेवा कम्पनीले प्राधिकरणले निर्धारण गरेको मूल्यलाई मध्यनजर गर्दै अधिकतम भाडादरसम्म कायम गर्दै आएको बताएका छन्। 'यात्रुको चाप कम हुँदा आकर्षित गर्नका लागि हामीले एयर फेयर घटाएका हुन्छौं र यात्रुको चाप बढी हुँदा भाडादर पनि बढाइने पनि गरिन्छ,' हवाई यातायात सम्बद्ध एक व्यवसायीले भने, 'यो माग र आपूर्ति अनुसार निर्धारण हुने हो।'         



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell