
काठमाडौं : कलंकीमा मोटरसाइकललाई ठक्कर दिएर फरार भएका टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीवार सिन्धुपाल्चोकको चौतराबाट २६ वर्षीय अनिल लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो। 'लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।
बुधवार राति कलंकीको अन्डरपासमा मोटरसाइकललाई लामाले चलाएको टिपरले ठक्कर दिएको थियो। प्रदेश नम्बर २ -०३ -००४ प ५५० नम्बरको मोटरसाइलका चालक रौतहटका १९ वर्षीय राजेशकुमार चौधरी र मोटरसाइकल पछाडि बसेका २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको थियो।
टिपर भने फरार थियो। तरऽ बिहीवार ललितपुरको नख्खु पुल नजिकै रहेको सूर्यचन्द्र ग्यारेजमा रोकी राखेको अवस्थामा बा ४ ख ७५७९ नम्बरको टिपरलाई नियन्त्रणमा लिएको थियो। चालक भने फरार नै थिए। रातीको समयमा टिपर चालकहरु विच अस्वस्थय प्रतिस्पर्धा हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
लामाले दुर्घटना भएपछि टिपर ग्यारेजमा राखेर फरार भएको प्रहरीले जानकारी दिएको छ।
सिसिटिभी क्यामराको सहयोगमा टिपर नियन्त्रणमा लिएको डिएसपी बोगटीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो। उपचारको क्रममा दुवै जनाको बिहीवार बिहान मृत्यु भएको हो।