
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिपरि रहेका भक्तिभाव गाउनेहरुका कारण नेताहरुले धर्ती छाड्ने र आकाशमा उड्ने सक्ने खतरा रहेको बताएका छन्।
आज नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको सपथ ग्रहण तथा एकताको प्रथम बैठकमा बोल्दै प्रचण्डले व्यवसायीले वरिपरि रहेका मानिसहरुको बारेमा छिटो चिन्ने तर नेताहरुले ठम्याउन नसक्ने बताएका हुन्।
उनले भने, ‘वरिपरि भक्तिभाव गाउनेहरुबाट प्रभावित हुने खतरा नेताहरुमा हुन्छ। अनि धर्ति छोड्ने र आकाशमा उड्ने खतरा हुन्छ।’
प्रचण्डले नेताहरुलाई धर्तीमा ल्याएर राख्ने जिम्मेवारी व्यवसायीहरुकै भएको बताए। सरकारले गरेका घोषणा र जनताको अपेक्षमा विरोधभास रहेको उनको भनाइ थियो।
उनले भने, ‘हामी माथि निकै राम्रो गरेका छौँ भन्ठानेका छौँ। हाम्रो नियत खराब छैन होला, हामीले राम्रो गर्न खोज्यौँ होला तर राम्रो गर्न खोज्नु एउटा कुरा हो, राज्यको हैसियतले जनताले त्यो कुरा महसुस गर्नु अर्को कुरा हो।’
उनले आउने दुई/तीन वर्ष राम्रो काम गर्न नसकेमा जनताले कम्युनिस्ट पार्टी भन्दैमा भोट नदिने पनि प्रचण्डले बताए।
‘जनतालाई कम्युनिस्ट र कांग्रेस त्यति धेरै मतलब हुँदैन भन्ने देख्यौँ नि त हामीले। जनताले जसलाई पनि उखेलेर फालिदिन्छ,’ प्रचण्डले भने।
व्यवहार राम्रो नभए कम्युनिस्ट साइनबोर्ड र संविधानमा लेखिएको नाराले नबचाउने उनको भनाइ थियो।