PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सरकारको विरोधमा मण्डलामा कांग्रेसका भातृ संगठन : महिलालाई खै मञ्च? भन्दै नेविसंघ नेतृको आक्रोश



नेत्र तामाङ

सरकारको विरोधमा मण्डलामा कांग्रेसका भातृ संगठन : महिलालाई खै मञ्च? भन्दै नेविसंघ नेतृको आक्रोश

काठमाडौं : शुक्रवार माइतीघरमा नेपाल विद्यार्थी संघले अख्तियारले हालै माउ पार्टी नेपाली काँग्रेसका उपसभापति विजय गच्छदारविरुद्ध दायर गरेको मुद्दाको विरोधमा सभा आयोजना गर्‍यो।

विरोध सभा तरुण दलका अध्यक्ष जितजंग बस्नेत, प्रजातान्त्रिक सेनानी संघका अध्यक्ष, मगर संघका अध्यक्ष लगायतले सरकार र अख्तियारको विरोधमा मन्तव्य राखे।

तर, महिला नेतृलाई भने मञ्चमा मन्तव्य राख्ने ठाउँ दिइएन।

मञ्चमा महिलालाई आसन र भाषण पछिल्लोपटक चर्चाको विषय हो। काँग्रेसले आफ्नो जागरण अभियानमा पनि महिलालाई मञ्च र मन्तव्य व्यक्त गर्न दिने प्रतिवद्धता जारी गरेको थियो।

तर, नेविसंघको आजको विरोध सभामा महिलाले मञ्च दिए पनि मन्तव्यका लागि स्पेस पाएनन्। त्यसपछि मञ्च नजिकै उभिएका महिला नेतृहरु नेविसंघका नेताहरुविरुद्ध आक्रोशित बने।

नेविसंघ तदर्थ समितिका अध्यक्ष राजीव ढुंगाना अन्तिम वक्ता थिए। उनलाई मन्तव्य राख्न उद्घोषकले समय दिएपछि नेवि संघका नेतृहरु पटकपटक महिलालाई मन्तव्यको समय दिन माग गर्दै मञ्चमा पुगे। तर, मञ्चबाट उनीहरुको मागको कुनै सुनुवाई भएन।

महिलालाई मन्तव्यका लागि ठाउँ नदिएको भन्दै विरोध गरेको सूचना पाएपछि आफ्नो सम्बोधनमै ढुंगानाले महिला संघकी अध्यक्ष संसदमा विरोध कार्यक्रम रहेकाले आउन नसकेको प्रष्टाएका थिए।

अध्यक्ष ढुंगानाको मन्तव्य सकिनासाथ विरोधमा उत्रिए उनीहरु। तर, ढुंगानाले उनीहरुलाई सम्झाउँदै अबदेखि गल्ती नहुने भन्दै सम्झाएपछि महिला नेतृहरु मौन भएका थिए।

किन विरोध?

महिलालाई मञ्चमा बोल्न नदिएकोमा आक्रोशित देखिन्थिन् नेविसंघकी पूर्व नेतृ झल विश्वकर्मा। उनी भन्दै थिइन्, 'विरोधसभामा महिला संघको जसले बोले पनि हुन्छ भन्ने थियो। तर, त्यहाँ महिला संघको कोही उपस्थित हुनु भएन। त्यही ठाउँमा नेविसंघको एकजना पदाधिकारीलाई किन बोल्न दिइएन?'

मञ्चमा नेविसंघ तदर्थ समितिका उपाध्यक्ष तुलसा पन्त र महामन्त्री उर्मिला थपलिया थिए। महिलाको मन्तव्यका लागि नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीलाई निम्त्याइएको थियो।

उनी नआइपुग्ने भएपछि कार्यक्रम अन्त्यका लागि अध्यक्ष ढुंगानाले मन्तव्य राख्न शुरु गरे। त्यही बेला महिला नेतृलाई बोल्न पाउनुपर्ने माग आफूले राखेको विश्वकर्माले बताइन्। अधिवक्तासमेत रहेकी उनले भनिन्, 'अध्यक्षले बोल्न थालेपछिमात्र थाहा पाइयो महिलालाई बोल्न दिइएन। महिला जसरी भए पनि बोल्नुपर्छ भन्ने माग मेरो थियो। प्रोग्राम सेड्युल सही थियो। तर, महिला संघकी अध्यक्ष नआउने भएपछि त्यो ठाउँमा नेविसंघकै उपाध्यक्ष वा महामन्त्रीलाई बोल्न दिनुपर्थ्यो।'

अध्यक्ष ढुंगानाले नियतवश त्यसो नगरेको बताएपछि आफूहरुले विरोध गर्न छाडेको उनले बताइन्।

सरकारविरुद्ध माइतीघर मण्डलामा कांग्रेसको विरोध प्रदर्शन : ‘टंगालको अख्तियार अब बालुवाटारमा राखे हुन्छ’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell