
काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै नेपाल पुलिस क्लब अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ।
आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा विभागीय टोली पुलिसले ब्रिगेड ब्वाइजमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलको २९ औं मिनेटमा भरत शाहले गोल गर्दै पुलिसलाई अग्रता दिलाए। कर्नरबाट निरकुमार राईले प्रहार गरेको बललाई शाहले गोलमा परिणत गरे।
जितसँगै पुलिस आठौं स्थानबाट पाँचौं स्थानमा उक्लिएको छ। ११ खेलमा ५ जित २ बराबरी र ७ हारसँगै पुलिसको १७ अंक छ।
आजै भएको पहिलो खेलमा थ्री स्टार क्लबले संकटा क्लबलाई हराउँदै शीर्ष तीनमा स्थान बनाएको थियो।