PahiloPost

Jan 27, 2025 | १४ माघ २०८१

लाटोकोसेरो संरक्षण गर्न प्रदेश मन्त्रीको आग्रह, ‘पुन्य कमाउन महायज्ञमा लाखलाख दान गर्ने तर प्रकृति विनास गर्ने?’



विधुर ढकाल

लाटोकोसेरो संरक्षण गर्न प्रदेश मन्त्रीको आग्रह, ‘पुन्य कमाउन महायज्ञमा लाखलाख दान गर्ने तर प्रकृति विनास गर्ने?’

स्याङ्जा : गण्डकी प्रदेशका आर्थिक योजनामन्त्री किरण गुरुङले प्रकृति संरक्षण गर्न अपिल गरेका छन्।

उनले दान गरेर नभइ प्रकृति संरक्षण गरेर पुन्य कमाइने बताए। लाटोकोसेरो तथा हुचिल उत्सवको स्याङ्जामा उद्घाटन गर्दै उनले पुरानो चेतना छाडेर नयाँ चेतनाबाट अगाडि बढ्नु पर्ने बताए।

‘भगवानको नाममा महायज्ञ लगाउँदा लाखलाख दान दिन्छौँ। तर प्रकृतिको विनास गर्दै हिँडेका छौँ’, उनले भने, ‘हिजोको चेतनाले होइन आजको चेतनाले काम गर्नु पर्छ। प्रकृतिको संरक्षणमा सहयोग गरौँ। प्रकृति संरक्षण गर्नेलाई सहयोग गरौँ।’

मन्त्री गुरुङले प्राकृतिक जीवजन्तुको देश नेपाल भएको भन्दै लाटोकोसेरो सहितका लोपोन्मुख जीवजन्तु लोप भए मानवलाई असर गर्ने बताए। त्यसले मानवजातीलाई पनि असर पर्ने उनको भनाइ थियो।

‘हामीले समृद्ध नेपालको परिकल्पना गरेका छौँ। प्रकृतिको संरक्षण बिना यो सपना पूरा हुँदैन’, उनले भने, ‘विकास निर्माणका काम अगाडि बढाउँदै गर्दा प्रकृतिको संरक्षणमा ध्यान दिएर अगाडि बढ्नु पर्छ।’

कार्यक्रममा चार जनालाई २५ हजार राशिको ‘नेचर कन्जरभेसन अवार्ड’ प्रदान गरिएको छ।

प्रकृति संरक्षणका क्षेत्रमा योगदान पुर्‍याउने पंछी विशेषज्ञ मनशान्त घिमिरे, संरक्षणकर्मी विश्वनाथ रिजाल, कैलालीका पत्रकार अविनास चौधरी र संरक्षणकर्मी लक्ष्मण पौडेलले अवार्ड प्राप्त गरे।
त्यस्तै डिभिजन वन कार्यालय स्याङ्जा, पत्रकार बासुदेव पौडेल, बर्दिया प्रकृति संरक्षण क्लब र दीप ज्योति क्लब पाँचथरलाई स्थानीय संरक्षण अवार्ड प्राप्त गरे। उत्सव दुई दिनसम्म चल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell