PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

घरेलु मैदानमा पहिलो ओडिआई जित्ने नेपालको दाउ : आज हराउला त अमेरिकालाई?



पहिलोपोस्ट

घरेलु मैदानमा पहिलो ओडिआई जित्ने नेपालको दाउ : आज हराउला त अमेरिकालाई?
तस्बिरहरु: क्यान/पहिलोपोस्ट फाइल फोटो

'खेल राम्रै भइ रहेको थियो। सेकेन्ड इनिङ्सको सुरुमै केही बिग्रियो। पछि खेलमा फर्किएका पनि थियौं,' नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल बुधवार भन्दै थिए, 'पारस र म छिट्टै आउट हुँदा दवावमा पर्‍यौं।'

विश्वकप लिग टू अन्तर्गतको नेपाल, ओमन र अमेरिका त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमनसँग पराजित भएपछि कप्तान ज्ञानेन्द्र मल्लले पारस र आफू ओपनिङमा जम्न नसक्दा ओमनले दिएको चुनौती पछ्याउन नसकेको प्रतिक्रिया दिएका थिए। तर, सँधै त्यस्तै नहुने भन्दै कप्तान मल्लले यसपाला सकारात्मक संकेत छाड्न चाहे। उनको त्यो संकेत थियो- अमेरिका र नेपालबीच आज हुँदै गरेको खेल।

सिरिजको दोस्रो दिनको खेल पनि सम्पन्न भयो, ओमन र अमेरिका बीच। ओमनले लगातार दुई खेलमा जित निकाल्दै सिरिजको यात्रालाई सुखद् बनाइसकेको छ। आज पालो छ, पहिलो खेलमै पराजय भोगेका अमेरिका र नेपालबीचको।

खेल आज कीर्तिपुरस्थित टियू मैदानमा हुँदैछ। शनिबारको दिन भएकाले पनि मैदान खचाखच हुने पक्का नै छ। नेपालको ओमनसँगको खेलमा ४१ सय हाराहारीमा समर्थकहरु उपस्थित भएका थिए। र, आजका लागि हिजो शुक्रवार दिउँसोसम्म ५ हजार भन्दा धेरै टिकट बिकिसकेको नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले जनाएका थिए। इसेवाबाट सिरिजको टिकट बिक्री गरिएको हो।

घरेलु मैदानमा पहिलो ओडिआई जित्ने अवसर नेपाललाई छ। तर, अमेरिकी टिमका सामु पनि नेपालकै जस्तो चुनौती छ दोस्रो खेल जित्नुपर्ने। विश्वकप लिग २ अन्तर्गत ९ खेलमा १२ अंक बनाएको अमेरिकालाई ८ खेलमा समान १२ अंक नै जोडेको ओमनले पछ्याइरहेको छ।

त्रिकोणात्मक सिरिजमा पहिलो खेलमा ओमनसँग पराजित भएसँगै अमेरिकी कप्तान सौरभ नेत्रभाल्करले ओमनसँगको हारले धेरै कुरा बुझ्न मद्दत गरेको प्रतिकृया दिएका थिए। उनले नेपाली टिमलाई घरेलु समर्थकको साथ राम्रो हुने तथ्यलाई पनि राम्ररी बुझेका छन्।

'नेपालसँगको खेल रोचक र चुनौतीपूर्ण हुनेछ। ओमनसँगको हारका वावजुत यहाँको धेरै कुरा बुझ्न पाएका छौं। विशेषगरी पिचको,' उनले भने, 'हामी क्वालिफाइ हुन चाहन्छौं।'

१८ महिना अघि ओडिआइ डेभ्यु गरेको नेपालका लागि घरेलु मैदानमा पहिलो एकदिवसीय खेल जित्ने अवसर छ शनिबारलाई। तर, नेपालका लागि ओमनसँग अर्धशतकीय पारी खेल्दै नेपालको रन उकासेका शरद भेषावकरको अनुपस्थितिले भने नेपालको ब्याटिङलाई प्रभावित पार्ने देखिन्छ। भेषावकरको स्थानमा सुवास खकुरेललाई ल्याउने निश्चित भइसकेको छ। उनले ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ललाई साथ दिने सम्भावना छ।

‘शरदको स्थानमा सुवासलाई खेलाउने भन्ने कुरा आएको छ। डकुमेन्टेसनको काम बाँकी छ। आइसीसीले मान्यता दिए हामी सुवासलाई खेलाउँछौं। आइसीसीलाई हामीले यसको जानकारी दिइसकेका छौं। हामी त्यसैको रेस्पोन्स पर्खेर बसेका छौं,’ शुक्रबार प्याकुरेलले भनेका थिए।

ओमनविरुद्ध अर्धशतक बनाएका भेषावकरको अनुपस्थिति नेपाली टिमलाई अफ्ठ्यारो पार्न सक्छ। ओमनसँगको खेलमा नेपालका मुख्य ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का दोहरो अंकको रन समेत नजोड्दै पभेलियन फर्किएपछि दीपेन्द्रसिंह ऐरी र बिनोद भण्डारीसँग ठूलो साझेदारी गर्दै शरदले नेपालको रन उकासेका थिए।

खेलका क्रममा शरदलाई कठिन भइरहेको देखिन्थ्यो। नेपाली टिमका फिजियो विक्रम न्यौपानेले भेषावकरको अवस्थालाई मैदानमै पटकपटक परीक्षण गरिरहेका थिए।

नेपालले अमेरिकासँग १० वर्षपछि आफ्नै मैदानमा भेट्दै छ। अमेरिकाको यसअघिको नेपाली मैदानमा भएको खेल सम्झन लायक छैन। कारण हो सुरक्षा चुनौती। अमेरिका र नेपालको यसअघिको खेलमा समर्थकको खराब ब्यवहारले खेल नै प्रभावित बनेको थियो। त्यसलाई लिएर आइसीसीले अनुसन्धानका लागि कमिटी नै बनाउनु पर्ने लज्जास्पद अवस्था आएको थियो।

यसपाला क्यान सतर्क देखिन्छ। सिरिजको पहिलो दिन कीर्तिपुर क्रिकेट मैदान पुग्दा त्रिवि गेटबाटै सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्थ्यो।

‘सुरक्षा निकायहरुसँग समन्वय गरेका छौं। उहाँहरुले विदेशी खेलाडीहरु आएदेखि नफर्किउन्जेलसम्मका लागि प्लान बनाउनु भएको छ,’ क्यानका सचिव प्याकुरेलले सिरिज सुरु हुने अघिल्लो दिन भनेका थिए। सुरक्षाकै लागि मैदान छेउमा नेपाल प्रहरी र प्राइभेट सेक्युरिटी तथा बाहिर सशस्त्र प्रहरी तैनाथ हुने प्याकुरेलले बताएका थिए।

सुरक्षा व्यवस्थाकै कुरा गर्दा एकजना ट्वीटर प्रयोगकर्ताले पहिलो नेपाल र ओमनको खेलमा जस्तै अमेरिका र ओमनको खेलमा पनि त्यति नै समर्थक थिए त भन्ने प्रश्नमा नेपाली क्रिकेटलाई नजिकबाट नियाल्ने इएसपीएनक्रिकइन्फोका पत्रकार पिटर डेला पेनाले एउटा रमाइलो ट्वीट गरे।

उनले लेखेका छन्, 'त्यहाँ २०० जति दर्शक थिए, त्यसमध्ये आधा सुरक्षाकर्मी।' यसले क्यानले यसपटक गरेको सुरक्षा तयारीलाई देखाएको छ।

नेपाल र अमेरिकाबीचको खेल आज साढे ९ बजे कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ। जारी सिरिजमा राम्रो नतिजा निकाल्न सके वर्ल्डकप लिग २ र क्वालिफायर्स हुँदै एकदिवसीय विश्वकपमा पुग्ने बाटो नेपाललाई खुल्नेछ।

‘वर्ल्डकप लिग २’ विश्वकप पुग्ने रोडम्याप हो। यस अन्तर्गत त्रिकोणात्मक सिरिज आयोजना गरिएको हो।

लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्। यो अढाइ वर्षे लिग हो। जसमा यी सातवटा टिमले प्रतिस्पर्धा गर्नेछन् जो विश्वकपभन्दा दुई स्टेप परै छन्। यस समूहका प्रत्येक टिमले ३६ वटा खेल खेल्नेछन्। सन् २०१९ को अगस्टबाट सुरु भएको खेल श्रृंखला २०२२ को जनवरीसम्म चल्नेछ। यस बीचमा १ सय २६ वटा खेल हुनेछ।

ओमनसँगको खेलमा चम्किएका ब्याट्सम्यान इयान होल्यान्ड र अक्षय होमराजसँग नेपाली बलर सचेत हुनुपर्ने देखिन्छ भने शौरभ नेत्र भाल्कर, रस्टी थेरन जस्ता खेलाडीले नेपालको ब्याटिङलाई अफ्ठारो पार्न सक्छन्।

यता नेपाल तर्फ कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का तथा दीपेन्द्रसिंह ऐरीमा नेपालको ब्याटिङ धेरै निर्भर रहनुपर्ने अवस्था छ। बलिङमा अघिल्लो खेलमा विकेट लिन नसके पनि सन्दीप लामिछाने अमेरिकाविरुद्धको खेलमा उत्कृष्ट हुन सक्छन्। त्यस्तै ओमन विरुद्ध उत्कृष्ट बलिङ गरेका सुशन भारी पनि अमेरिकाविरुद्ध चम्कन सक्छन्।

अमेरिकी टोली

सौरभ नेत्रभाल्कर (कप्तान), स्टेभन टेलर, करिमा गोरे, इयन हल्याण्ड, अक्षय होमराज, एलमोर हुटचिनसन, आरोन जोन्स, नोथुस केन्जिगे, ज्याभिएर मार्सल, मोनान्क पटेल, निसर्ग पटेल, तिमिल पटेल, क्यामरुन स्टेभेन्सन, रस्ती थोरन

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषावकर र ललितनारायण राजबंशी

वैकल्पिक खेलाडी : पवन सर्राफ, सुवास खकुरेल, सुन्दीप जोरा, किशोर महतो

अफिसियल:

म्यानेजर : ऋषिराम गौतम, कोच : जगत टमाटा, एसिस्टेन्ट कोच : वसन्त शाही, फिजियो: विक्रम न्यौपाने, एनालिस्ट : रमन शिवाकोटी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell