- भावना शर्मा -
यहाँ पाइलै पाइलामा
मन्दिर छन्
यी स-साना गोडाहरु
कहिल्यै पुग्न सक्दैनन् त्यहाँसम्म
आकाश र धर्ती जोडिने ठाउँजस्तै
कति दूऽऽऽर रहेछ देउताको घर!
नीलकाँडाको झ्याङमाथि हिँड्दाहिँड्दै
म जहाँ उभिन खोज्छु
तेर्स्याइदिन्छन् तगारो
मबाट घाम जून समेत खोसेर
देउता कसैको पेवा बनिरहन मिल्छ?
+++
पक्कै आमालाई थाहा होला
तर उनी पनि बोल्दिनन्
बदलामा उनका आँखाहरु बोल्छन्
कसैले भनिदेओस्
मेरो पैतालामा के छ त्यस्तो
जसले मन्दिर टेक्दा देउता रिसाउँछन् ?
+++
म कति कुदुँ
कति नाघुँ 'पुजारी'का आँखा छली छली मन्दिरको पर्खाल
कति फाल हालुँ घामदेखि जुनसम्म
कति पछ्याउँ नभेटिने त्यो सागरको पुछार
के मैले बोलेको मूर्तिले साँच्चै सुन्दैनन्?
देउताले त मनको कुरो बुझ्नुपर्ने हैन र!
+++
मूर्तिहरु किन बोल्दैनन् आमा?
मेरा प्रश्नहरुमा तिमी नबोलेझैं
मूर्तिहरुले जवाफ नदिएका होलान्
तिमी पनि त सयौंपटक घोच्दामात्र चलमलाउँछ्यौ
के तिमी र मूर्ति उस्तै हो?
+++
मूर्तिहरु जब बोल्छन्
घण्टीभन्दा तिखो स्वरले बोल्छन्
गड्याङ्गुडुङ्भन्दा चर्को बोल्छन्
मूर्ति बोलेको दिन यहाँ चट्याङ पर्छ
भत्काएर अग्ला पर्खालहरु
हाम्रै आँगनमा घ्वाँइपासा खेल्न आउनेछन्
तिमीजस्तै चुपचाप बसेका मूर्तिहरु...
आमाऽऽऽ
अब तिमी पनि बोल है!!