माघमा स्वस्थानी व्रतकथा सुन्ने र सुनाउने प्रचलन। अहिले कथा वाचन जसरी हुने गर्छ, त्यसरी नै कथामाथि आलोचना पनि। त्यसो त स्वस्थानीलाई 'कथा' मानिसकेपछि समीक्षा हुनु ठूलो कुरा होइन। यो कथालाई लैङ्गिक दृष्टिकोणबाट कटू आलोचना गर्नेहरु धेरै छन्। यति हुँदाहुँदै पनि चिसोमा धाएर साँखुको शालिनदी पुग्नेको भिड घट्दो छैन, बढेकै छ। अझ त्यसमाथि, स्वस्थानीको ब्रत बस्नका लागि विदेशबाटै कोही नेपाल आइपुग्छ र चिसोमा नदीकिनारामा बस्न सक्छ भन्ने चाहिँ अनौठो सुनिन सक्छ। शालिनदी किनारमा प्रतिभा अहिले ब्रतमा छिन् जसले आस्थाको फरक कथा वयान गर्छ।
नाम: प्रतिभा थापा
उमेर: २६ वर्ष
ठेगाना: स्थायी चितवन, हाल जापान।
छ वर्षअघि प्लस टू सकेर उच्च शिक्षाका लागि जापान पुगिन् प्रतिभा। उनले स्नातक तहसम्मको पढाई पूरा गरिन् त्यहीँ। अनि दुई वर्षअघि वर्किङ भिसा लिइन् र त्यहीँ बसिन्। पढुन्जेल भएको खर्चले बोकाएको ऋण चुक्ता गर्नु थियो। त्यसैले प्राय: व्यस्त रहन्थिन्।
यसपाला भने उनले फुर्सद निकालिन्। कमाइ, खर्च, ऋण र समयको विषयमा सोचिनन्। नेपाल आइपुगिन् ५ जनवरी २०२० मा। स्वस्थानी सुरु हुनु केही दिनअघि।
जापान गएपछि पहिलोपटक नेपाल आउनुको एउटै उद्देश्य रहेछ उनको - अधुरो सपना पूरा गर्नु। अर्थात् शालिनदीमै गएर स्वस्थानीको व्रत।
वर्षौपछि घर आएकी छोरी केही दिन मात्र चितवन बस्दा आमा खुशी थिइनन्। उस्तै चिन्ता हावा पानी र मौसम नमिल्नुको। सम्झाएकी थिइन्- ‘बिरामी पर्छेस्।‘
तर, प्रतिभा आफ्नो निर्णयमा दृढ थिइन्।
तिनै प्रतिभा शालिनदीको किनारमा भेटिइन्। दिउँसोको खाली समय घाम तापेर बसिरहेको अवस्थामा।
हरेक बिहान शालीनदीमा नुहाउनु, अन्य व्रतालुसँगै नित्य पूजा गर्नु, मन्दिर परिसरमा जम्मा हुने दानीबाट दान ग्रहण गर्नु अनि साँझपख दुङ्गेधाराबाट पानी बोकेर कोठामा फर्कनु उनको दिनचर्या।
सोचेजस्तो सहज नभएको बताउँछिन् उनी यो व्रत।
‘हरेक कार्य विधि र समयको नियम कडा,’ उनले भनिन्, 'आफन्तको मृत्यु भए पनि व्रतालुले ठाउँ छाड्न नमिल्ने गरी कठोर रहेछ।'
जापानको सफासुघर वातावरणमा रमाएकी उनलाई सुरुमा परालमा सुत्नुपर्ने कुराले तर्साएको थियो।
सबैभन्दा असहज लागेको व्रतालुको ‘परदेश यात्रा’ पार गर्नुथियो। परदेश यात्रा अर्थात् जुत्ता वा चप्पलबिनै शालिनदीदेखि पशुपति, फर्पिङ अनि पनौती हुँदै चाँगुनारायसम्मको यात्रा। त्यो पनि हिँडेरै।
खाना एक छाकमात्र। नुन नखाएकाले शरीर गल्नु स्वभाविक थियो। 'सक्दिन' भन्ने डर उनको मनमा नभएको होइन। झन्, औषधी पनि खान नपाइने नियमले उनलाई अत्याउँथ्यो।
यस्तो अवस्थामा आमाले रुँदै ‘नजा। सक्दैनस्’ भनेको सम्झिइन् उनले।
‘छोटो बिदा छ घरमै बस् भन्नु भएको थियो। तर मैले मानिँन। समय मिलाएर त छुट्टी लिएको। यस्तो मौका सधैं मिल्दैन नि,’ उनले भनिन्।
अपेक्षा गरेभन्दा सहज रुपमा उनको परदेश यात्रा सफल भयो। माघ ९ गते साँझ पशुपतिनाथको मन्दिर पुगिन् अन्य व्रतालुसँगै। भोलिपल्ट बिहानै वाग्मतीमा स्नान गरिन्। माधव नारायणको पूजा भयो। अनि त्यहीँबाट मध्यान्ह्यमा लागे फर्पिङ। फर्पिङको नित्यकर्म सकेर उनीहरु पनौती गए। त्यसपछि पुन: साँखुस्थित शालिनदी फर्किए।
पनौती कमलको फूल लिन पुगेका थिए उनीहरु। फर्पिङ चाहिँ जल लिन। त्यस्तै चामल लिनका लागि चाँगुनारायण।
यही माघ २६ गते सकिने स्वस्थानी व्रतको समापनको दिन हुने पूजा (साङ्गे)मा चढाउन यी सामग्री जुटाउनुपर्थ्यो। यसैका कारण पनि यहाँ व्रतालुका लागि परदेश यात्राको महत्व हुने गर्छ।
फर्कदाँ उनको पाइतालामा चिराचिरा देखियो। पीडा बयान गर्न नसक्ने बताउँछिन् उनी। भनिन्, 'धर्मप्रतिको विश्वासले जितेको छ। स्वेच्छाले बसेको व्रत हो। यसमा मेरो केही गुनासो छैन। घरमा भए कहाँ सक्नु यसरी?'
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म बसिने स्वस्थानी व्रत कथामाथि आलोचना गर्नेहरु कम छैनन् नि?
'सबैको आस्था र सोचले फरक अर्थ राख्छ,' उनी प्रष्ट छिन्, ‘त्यसमा पनि हामी त हिन्दु धर्म मानेका मान्छे। आफ्नो धर्म र विश्वासलाई नकार्न सकिँदैन।'
+++
साँखुमा स्वस्थानी व्रतको व्यवस्थापन संयोजक गर्दै आएका छन् जीवनमान सिंहले। उनका अनुसार हरेक वर्ष देश विदेशबाट व्रतकै लागि यहाँ आउनेहरुको सङ्ख्या बढ्दो छ। व्रत बस्दा जोखिम धेरै छ तर यहाँ आउनेहरुले ती सबै चुनौती सामना गर्ने हिम्मत बोकेरै आउँछन्।
२०६० सालमा चार सय ७२ जना व्रतालु थिए यहाँ। 'त्यसको तुलनामा अहिले त केही जस्तो लाग्दैन,' उनले भने। संख्या बढे पनि त्यो रेकर्ड चाहिँ तोडिएको छैन।
उनको अनुभवमा यसरी व्रत बस्न जो कोही सक्दैन।
‘यसको विधि कठिन छ। त्यसका लागि दृढ संकल्प र आस्था चाहिन्छ,' उनले भने।
माघ २३ गते भक्तपुरको चाँगुनारायण मन्दिर गएपछि सबै व्रतालुको अन्तिम परदेश यात्रा पूरा भएको हो। आइतवारबाट एक महिना लामो व्रत समापन हुँदैछ।
+++
यसपाला हरेक वर्ष झै माधवनारायणको पूजा गर्दै महिला र पुरुषहरु व्रत बसिरहेका छन्। दुई सय दुईजना व्रतालुमा ७ जना पुरुष पनि छन्। दैनिक आवत् जावत् गर्ने भक्तजनको सङ्ख्या हजारौं। वर्षेनी बढ्दो यस भिडको व्यवस्थापन गर्छ माधव नारायण समितिले।
गत माघ २० गते। दिउँसोको एक बज्नै लागेको थियो। मन्दिर परिसरमा भक्तजनको भिड उस्तै। पूजा गर्नेहरुको लाइन लामो तर व्यवस्थित। माधव नारायण समितिका स्वयंसेवकहरु खुब खटिएका थिए।
शालीनदीमा नुहाउनेहरुको वेग्लै समूह। कोही चाहिँ फोटो खिच्नमै मस्त। सुरक्षाकर्मी पनि माहोल सहज र सुरक्षित बनाउन लागि जुटिरहेका।
बाहिरको चहलपहलभन्दा ठीक विपरीत स्वस्थानी व्रत बस्नेहरु शान्त देखिन्थे। उनीहरुलाई न चिसोको चिन्ता न होहल्लाको नै। भिडमा मिसिएर आएकाहरु तिनै व्रतालुलाई दान गर्दै थिए।
त्यही भिडमा देखिए एक बालक।
बुझ्दै जाँदा उनी व्रतालु पो रहेछन् त! उनलाई देख्नेहरु अचम्म मान्दै थिए र फर्किँदै हेरिरहेका थिए।
नाम : समिर श्रेष्ठ
उमेर : १४ वर्ष
ठेगाना : साँखु
यस वर्ष शालिनदीमा रहेका व्रतालुमध्येकै कान्छा। भाग्योदय माध्यमिक विद्यालयमा कक्षा ६ का विद्यार्थी। एक महिना पुग्नै लाग्यो, विद्यालय नगएको।
बिहान झिसमिसेमै उठ्नु, शालिनदीमा नुहाउनु, पूजा गर्नु, माधव नारायण वाचन अनि स्वस्थानी व्रतालुले पालन गर्नुपर्ने हरेक नियम उनको दैनिकी बनेको छ।
तीन वर्षअघिदेखिको रहर रहेछ उनको। हरेक वर्ष उनी स्वस्थानीको कथा सुन्थे। घरबाट नजिकै रहेको मन्दिर दैनिक जसो पुग्थे पनि। त्यहीबाट उनमा व्रतको रहर पलायो।
भने, 'पहिले त स्वस्थानीका बारेमा केही थाहा थिएन। दुईजना दाइहरुले व्रत पूरा गरेपछि मलाई पनि रहर लाग्यो। त्यसैले म पनि बस्छु भन्ने भयो।‘
यस पटक जाडो बिदा पनि ठ्याक्कै व्रतकै समयमा परेकाले उनकी आमाले व्रत बस्न दिइन्।
‘सुरुमा त आमालाई मनाउन गाह्रो भयो। उहाँलाई मेरो पिर। सक्दैनस् होला भन्नुहुन्थ्यो,' उनले भने, 'तर मैले जिद्दी गरेँ।'
छोरालाई साँच्चै गाह्रो छ भन्ने बुझेकी छिन् उनकी आमाले। त्यसैले हरेक विहान भेट्न आउँछिन्। सञ्चो बिसञ्चो सोध्छिन्।
उनले संकेत गरेको ‘गाह्रो’ हेर्नेलाई पनि सहज छैन। माघको चिसोमा मन्दिर वरपर धोती मात्र बेरेको शरीर भुईंमा लम्पसार पार्दै पल्दिँदै पल्टिँदै परिक्रमा गर्नु सजिलो होस् कसरी?
हामीसँगको कुराकानीमा केही धकाउँदै बोले, 'हेर्दा त रमाइलो अनि सजिलो पनि लागेको थियो।‘
पुरुष व्रतालुहरुलाई 'साँवा' भनिन्छ। उनीसँगै रहेका अन्य ६ जना साँवाले सप्तमीको दिन भुईंमा शरीर पल्टाएरै साँखु चोक परिक्रमा गरेका थिए।
व्रतमा खाना पनि चाहेजस्तो कहाँ पाउनु? चौबीस घण्टामा एक छाकमात्र। रातमा त्यो पनि अनिलो। साधा खानासँग ढुङ्गेधाराको पानी।
हामीसँग भेट भएको दिन खिर खाने पालो रहेछ। तर, अबेरसम्म भक्तजनको नित्यपूजा सकिएको थिएन। जति ढिला नित्यपूजा सकिन्छ त्यति नै ढिलो खाना खाने समय हुन्छ।
एक महिना जुत्ता, चप्पल नलगाउँदा उनको पैतालाले न्यानो भुलिसक्यो भन्दैं थिइन्।
धेरैपटक घर फर्कने सोच पनि नबनाएका होइनन् उनले। तर, आफ्नो अठोट र आमासँग गरेको ढिपी सम्झिएँ। फेरि व्रत पूरा गरेरै छाड्छु भन्ने अठोट लिए।
‘रहर पूरा भयो। सायद अब चाहिँ कहिले पनि यस्तो कर्म आँट्दिन होला,’ उनले सुनाए।
समिर केही आत्तिएका छन्। तर, आफूसँगै व्रत बस्ने अन्यको जोश र प्रतिज्ञा देखेर दङ्ग पनि। त्यसैले ऊर्जा दिएको छ उनलाई।