PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

हिमालयन शेर्पासँग च्यासल युथ क्लब पराजित



पहिलोपोस्ट

हिमालयन शेर्पासँग च्यासल युथ क्लब पराजित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासलमाथि ३-२ गोल अन्तरको जित निकालेको हो।

खेलमा सुरुवाती अग्रता निकालेको हिमालयन शेर्पाका लागि विजय श्रेष्ठले पहिलो गोल गरेका थिए। उनले खेलको २८ औं मिनेटमा अग्रता बनाए। त्यसको ५ मिनेट भित्रै त्रिदेव गुरुङले गोल गर्दा हिमालयन शेर्पाले अग्रता दोब्बर बनायो।

खेलको ३८ औं मिनेटमा च्यासलका हयातो वाकिनोले गोल गर्दै च्यासलको खाता खोल्दा पहिलो हाफमा हिमालयन शेर्पा क्लब २-१ ले अगाडि रह्यो।

दोस्रो हाफमा फेरि पनि विजय श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको स्कोर अघि बढाए। उनले खामिर गिल्सनको पासमा गोल गरेका थिए। खेलको ८९ मिनेटमा च्यासलका वाकिनोले फेरि गोल गर्दै च्यासललाई खेलमा फर्काउन कोशिस गरे पनि उनको गोल टिमलाई खेलमा फर्काउन पर्याप्त भएन।

हिमालयन शेर्पालले खेल ३-२ ले आफ्नो पक्षमा पार्‍यो। जितसँगै शेर्पा क्लबले १० औं स्थानमा रहेको च्यासलसँग अंकदुरी घटाएको छ।

त्यस्तै आज ३ बजे जावलाखेल युथ क्लब र फ्रेन्डस क्लब सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भिड्ने छन्। आजै हलचोकस्थित एपिएफको मैदानमा हुने भनिएको मनाङ मर्स्याङदी क्लब र न्युरोड टिम (एनआरटी)बीचको खेल भने स्थगित भएको छ। प्राविधिक कारणले खेल भोलि दिउँसो १ वजेको लागि सारिएको एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell