PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

रोजगारी मेलामा मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारसँग समन्वय नगरी संस्थाहरुले काम गरे’



राधेश्याम पटेल

रोजगारी मेलामा मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकारसँग समन्वय नगरी संस्थाहरुले काम गरे’

वीरगंज : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुले प्रदेश सरकारको समन्वय र सहकार्य बिना काम गरिरहेको आरोप लगाएका छन्। शनिवार वीरगंजको त्रिजुद्ध माध्यमिक विद्यालयमा प्रदेश २ मै पहिलो पटक आयोजना भएको वृत्ति परामर्श तथा रोजगार मेलाको उदघाटन कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

प्रदेश सरकारको सहकार्य र समन्वय बिनानै सबै संस्थाहरुले कार्यक्रम चलाएका कारण अपेक्षाकृत परिणाम आउन नसकेको उनको धारणा थियो। मुख्यमन्त्री राउतले प्रदेश सरकारले एकद्वार प्रणालीबाट सामाजिक संस्थाहरुलाई काम गर्न गराउन कानुन ल्याइने पनि बताए। वीरगंज महानगरपालिकाले प्रदेश नम्बर २ मा पहिलो पटक रोजगार मेलाको आयोजना गरेकोमा उनले धन्यवाद समेत व्यक्त गरे।

संघीय सांसद प्रदिप यादवले सीप बिना युवा विदेशिएका कारण विदेशमा जोखिम मोल्दा ज्यान गुमाउनु परेको बताउँदै युवालाई आधारभुत तालिमको आवश्यकता रहेको बताए। तालिम लिएका युवालाई सरकारले शून्य ब्याजमा ऋण उपलब्ध गराए मात्र बेरोजगारी कम हुने उनले धारणा व्यक्त गरे।

वीरगंजका मेयर विजयकुमार सरावगीले बेरोजगारी न्यून गर्नको लागी वृत्ति परामर्श रोजगारी मेलाको आयोजना गरिएको बताए। यसबर्ष एक दिने मेलाको आयोजना गरिए पनि आउने बर्षदेखि मेलालाई अझ व्यवस्थित बनाउदै एक हप्तासम्म आयोजना गरिने उनले बताए।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सुबोध गुप्ता, रोजगार तथा तालिम प्रदायक संस्थाका प्रदेश सचिव ललन तिवारी, नेकपाका जिल्ला अध्यक्ष प्रभु हजरा लगायतका व्यक्तिहरुले मेलाको महत्व तथा आवश्यकताका बारेमा बोलेका थिए।

मेलामा ४६ वटा स्टल राखिएका थिए। मेलामा वीरगंज आसापासका विद्यार्थी तथा युवा लगायत १० हजार भन्दा बढिले अवलोकन भ्रमण गरी विभिन्न स्टलमा फारम भरी व्यक्तिगत विवरण दर्ता गराए। उनीहरुको विवरण अनुसार रुचि भएको क्षेत्रमा योग्यता र दक्षताको आधारमा छनोट गरी जागिर दिइनेछ भने अदक्षलाई सीममूलक तालिम दिई आत्मनिर्भर र रोजगारी प्रदान गरिने लक्ष्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell