काठमाडौं : विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले फेरि ओमनको सामना गर्दैछ। सिरिजको पहिलो खेलमा ओमनसँगै १८ रनले पराजित भएर खराब शुरुवात गरेको नेपालले हिजो भएको दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो।
कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ उत्रने छ। सिरिजमा अपराजित ओमन भने लगातार तेस्रो जित निकाल्दै विश्वकप लिग २ कै अंकतालिकामा शीर्षस्थानमा उक्लने दाउमा हुनेछ।
अमेरिकासँगको जित पछि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले आफूहरु जितको लागि खेल्ने र त्यसमा पनि ब्याटिङमा बढी केन्द्रीत रहेको बताएका थिए।
‘ब्याटिङको मिडलमा चाहीँ हामीले अझ कन्सन्ट्रेट गर्न सकिरहेका छैनौं। त्यसलाई अलि राम्रो गर्न सक्यौ भने हाम्रो जुन किसिमको बलिङ छ नि त्यसले पक्कै पनि राम्रो नतिजा निस्किन्छ,’ कप्तान मल्लले भने, ‘दुई वर्षे खेल हो। हामीले अझै होमवर्क गर्न बाँकी नै छ। ओमनसँगको खेलमा मिडलअर्डर सुधारेर यसअघिका गल्ती नदोहोर्याइ जितका लागि खेल्ने छौं।’
लिग तालिकामा नेपाल २ खेलमा १ जित निकालेर २ अंक सहित छैटौं स्थानमा छ भने ओमन ८ खेलमा ६ जित निकाल्दै १२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। १० खेल खेलेर समान १२ अंक जोडेको अमेरिका रनरेटका आधारमा शीर्षस्थानमा छ। खेल आज बिहान साढे ९ बजे कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ।
विश्वकप लिग २ आगामी विश्वकप प्रवेशका लागि पनि नेपालका लागि महत्वपूर्ण छ। ‘वर्ल्डकप लिग २’ विश्वकप पुग्ने रोडम्याप हो। यस अन्तर्गत त्रिकोणात्मक सिरिज आयोजना गरिएको हो।
लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्। यो अढाइ वर्षे लिग हो। जसमा यी सातवटा टिमले प्रतिस्पर्धा गर्नेछन् जो विश्वकपभन्दा दुई स्टेप परै छन्। यस समूहका प्रत्येक टिमले ३६ वटा खेल खेल्नेछन्। सन् २०१९ को अगस्टबाट सुरु भएको खेल श्रृंखला २०२२ को जनवरीसम्म चल्नेछ। यस बीचमा १ सय २६ वटा खेल हुनेछ।
ओमन टोली
जिसान मक्सुद (कप्तान), अक्विब इलियास, जतिन्दर सिंह, खवार अली, सानुथ इब्राहिम, सुरज कुमार, मुहम्मद नसिम, सन्दीप गौद, मुहम्मद नदिम, जय ओडेड्रा, बादल सिंह, अहमेद फैज बट, कलीमुल्लाह,बिलाल खान
नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनाश बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, सुवास खकुरेल र ललितनारायण राजवंशी