PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'२३ नम्बर' टोपी जसले भुवनलाई पुर्‍यायो प्रहरी हिरासत



अनन्तराज न्यौपाने

'२३ नम्बर' टोपी जसले भुवनलाई पुर्‍यायो प्रहरी हिरासत

विराटनगर : माघ २२ गते। राति १० बजेर ५४ मिनेटमा एक युवक मन्दिरभित्र छिर्छन्। मन्दिरभित्र रहेका बहुमूल्य मूर्ति र अन्य सामान पालैपालो आफ्नो झोलामा राख्छन्। करिब सात मिनेटमा उनी मन्दिरका बहुमूल्य सामान लिएर बाहिर निस्कन्छन्।

मोरङको पुरानो सदरमुकाम रङ्गेली बजारमा रहेको ऐतिहासिक संसारी माईको मन्दिरमा चोरी भएको खबर चारैतिर फैलिन्छ। बिहानै प्रहरीले चोरी भएको जानकारी पाउँछ। यस मन्दिरलाई प्रदेश नम्बर १ को सरकारले प्रदेशस्तरको मन्दिर घोषणा गर्दै यसै वर्षको वडा दशैँदेखि फूलपाती भित्र्याउने र बढाईं गर्ने कामको पनि सुरुआत गरेको थियो।

प्रहरीका लागि बहुमुल्य सामान फिर्ता ल्याउनु र चोर पक्राउ गर्नु निकै चुनौति देखिन्छ। तर प्रहरीको अगाडि एक्कासी एउटा क्लु आइपुग्छ। चोरले टाउकामा लगाएको '२३ नम्बर' लेखिएको रातो टोपी। त्यो सँगै पावरवाल चश्मा। चोरीको दृश्य सिसी टीभीबाट निकालेपछि अनुसन्धान गरिरहेको प्रहरी के ठहरमा पुग्यो भने राति चश्मा लगाउनेले दिउँसो पनि पक्कै लगाएको हुनुपर्छ। यसपछि प्रहरीको अनुसन्धान रङ्गेली क्षेत्रमा चश्मा लगाउने युवातिर सोझिन्छ।

प्रहरी चश्मामा मात्र अडिएन, चोरी गर्नेले लगाएको टोपी र लुगाका रङका आधारमा पनि अनुसन्धान सुरु हुन्छ। प्रहरीले पराजुली थरका एक युवकले २३ नम्बरको टोपी र चश्मा लगाउने गरेको जानकारी पाउँछ।

प्रहरीले शनिवार गते नै रङ्गेली नगरपालिका वडा नम्बर ३ का भुवन पराजुलीका घरमा छापा मार्छ। नभन्दै खोजबिनका क्रममा पराजुली सुत्ने कोठामा रहेको काठको लो बेडमुनि हरियो रङको कोट कभरमा चेन लगाएर लुकाएर राखिएको संसारी माताको मूर्तिको शिरमा लगाउने चाँदीको मुकुट १ थान, छत्र १ थान, त्रिशूल १ थान, पित्तलको गणेश र छोटी माताको पुरानो मूर्ति २ थान तथा पित्तल र फलामको त्रिशूल २ थान फेला पार्‍यो।

माघ २५ गते राति साढे ११ बजे चाँदीका ३ वटा सिक्री फेरि भेटिए। यी सिक्री घर पछाडि गोबर ग्यास प्लान्टमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। चोरी भएका मालवस्तुको मूल्याङ्कन ११ लाख ३५ हजार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार पराजुलीले चोरीमा प्रयोग गरेको ज १२ प ५४६८ नम्बरको मोटरसाइकल पनि उनको घरबाटै बरामद गरिएको छ। साथै चोरी गर्दा लगाएका लुगा, टोपी, झोला, हाफ पञ्जा, विन चिटर, जुत्ता फेला परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell