काठमाडौं : मल्लकालसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट भोट (तिब्बत) जाने प्रमुख नाका थियो 'सँक्व'। उपत्यकामा पृथ्वीनारायण शाहले राज्य गर्न शुरु गरेपछि पनि यही नाका हुँदै भोटसँग व्यापार हुन्थ्यो।
बनेपाबाट भोट जाने चलन भए पनि सँक्व सबैका लागि पायक मार्ग थियो। कालान्तरमा तातोपानी नाका विकास भयो, कोदारी राजमार्ग बन्यो, ती स्थानबाट भोटसँग व्यापार फस्टायो।
त्यसपछि कुनै बेला नेपालमण्डल क्षेत्रको अर्थतन्त्रको आधार मनिएको 'सँक्व' भने ओझेलमा पर्यो।
नेपालभाषामा 'सँ' भनेको भोट र 'क्व' भनेको (मुनि)। काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको 'सँदेयाक्वय्' भोटको मुनि रहेको यो देश कालान्तरमा 'साँखु' का रुपमा स्थापित भयो। स्थानीयका अनुसार नेपाली भाषाको उदय र बेलायतीहरुले नक्सा बनाउँदा 'साँखु' लेखिदियो। अनि 'सँक्व' को मौलिक पहिचानमा समेत संकट उत्पन्न भयो।
यद्यपि, अझै पनि काठमाडौं उपत्यकामा रहेका पुरान नेवार वस्ती (अष्टमातृकाले घेरिएर बनाइएको प्राचीन) भने 'सँक्व' शब्द जीवन्त रहेको छ।
***
प्राचिन ग्रन्थ 'मणिशैली महावदन' लाई आधार मान्ने हो भने सँक्वको स्थापना ३३२० वर्ष पहिला भएको हो। सँक्वका इतिहासकार प्रकाशमान श्रेष्ठका अनुसार उक्त ग्रन्थमा उल्लेख भएअनुसार कलिगढ संवत् १८०१ (हाल कलिगत संवत ५१२१) मा फाल्गुन शुक्ल तृतियाका दिन सात गाउँ मिलाएर साँखु बनेको उल्लेख छ।
बग्रयोगिनीका नवौं पुस्ताका पुजारी जोगदेव बज्राचार्यले उग्रतारा बज्रयोगिनीको निर्देशनपछि शंखको आकारमा 'सँक्व' को स्थापना गरेको बताउँछन् श्रेष्ठ।
'त्यतिबेलाको महानगरको रुपमा यो शहरको विकास भएको पाइन्छ। सात गाउँहरुलाई एकीकृत गरी हजार घरको वस्ती सहितको यो शहर लावण्य देशको व्यवस्थित राजधानीसमेत थियो।' स्कन्द पुराणमा लावण्य देशका बारेमा उल्लेख छ।
नवराज महाराजले लावण्य देशमा राज गरेको तथ्य भएको भन्दै उनी भन्छन्, 'राज चन्द्रवती शाली नदीमा खसेर पानी रोकिएको र नवराज महाराजले पानीलाई अर्घ दिएपछि पानी बगेको किम्बदन्ती छ। त्यसबेला पानी रोकेको देखेपछि नेवार समुदायले यसलाई 'नादि खुसि' भन्न शुरु गरेको हो। नेपाल भाषामा ना भनेको पानी दि भनेको रोकिनु र खुसि भनेको नदी। पानी रोकिएको नदी भएकाले यसलाई पहिला नादि खुसि भनिएको कुरा शिलालेखहरुमा रहेको छ।'
शहरका लागि महत्वपूर्ण आधार भनेको पानी हो। त्यसैले तत्कालिन समयमा साँखुको निर्माणसँगै वृहत राजकुलोको स्थापनासमेत गरिएको शिलालेखहरुमा उल्लेख छ। एउटा ठूलो राजकुलोले साँखुको प्राचीन वस्तीमा रहेका सबै घर छुन्थे। मानिसहरु यहीका पानीको प्रयोग गर्थे। करिब २० वर्ष अघिसम्म पनि यही राजकुलो पानी घरायसी कामका लागि प्रयोग गरिन्थ्यो। अहिले पनि साँखु नगरमा यो राजकुलोको अस्तित्व छ। यही राजकुलोको पानीले साँखुका पोखरी, ढुंगेधारा, इनार रसाउने गरेको थियो। राजकुलोको मार्ग पुराना ढुंगाहरुले छोपिएका छन् भने केही बन्द भइसके। केहीमा ढल मिसिसके।
उपत्यकामा बनेका थुप्रै राजकुलोहरु हराइसकेको अवस्थामा साँखुमा अझै राजकुलोको अस्तित्व छ। तर यसको संरक्षणमा सरोकारवाला निकायहरुले चासो नदिएको स्थानीयको गुनासो छ।
**
'ढोका'ले जीवित बनाएको शहर
साँखुको शालिनदी र बज्रयोगिनी धेरैका लागि परिचित नाम नै हो। तर साँखु पुग्ने धेरैलाई त्यहाँको पहिचानका रुपमा रहेको ढोकाहरुबारेमा भने थाहा हुन्न। शंखका आकारमा साँखुको स्थापनाकालमा नै यहाँ विभिन्न ढोकाहरु बनाइएको थियो। तीमध्ये पाँचवटा ढोकाहरु अहिले पनि छन् जुन साँखुको दैनिक जीवनशैलीको आधार हो।
भौध्वखा:
साँखुको प्राचीन वस्तीभित्र बसोवास गर्ने मानिसले बुहारी भित्र्याउँदा जहाँ पायो त्यहीबाट शहरभित्र गराउन पाउँदैनन्। साँखुको इपाटोलमा दाँया बायाँ दुई कलशले लसकुस गरिरहेको आकारमा बनाइएको 'भौध्वखा:' बाटमात्रै साँखुवासीले दुलही भित्र्याउने गर्छन्। यस्तै, सुनटोलमा रहेको छ म्हयामचा ध्वखा:। नेपालभाषामा म्हयामचा भनेको छोरीचेली। विवहापछि छोरीहरुलाई यही ढोकाबाट अन्माएर पठाइन्छ।
साल्खाटोलमा छ सि ध्वखा:। साँखुभित्र कसैको मृत्यु भयो भने यही ढोका हुँदै दीप (चिहान) लगिन्छ। प्राचीन वस्तीभित्र वसोवास गर्ने कोहीको वस्ती बाहिर मृत्यु भयो भने मृतकको शवलाई साँखु नगरमा प्रवेश गराउन मिल्दैन। शवलाई नगरको बाहिर बाटो हुँदै चिहान लग्नुपर्ने हुन्छ।
सि ध्वखा:
यस्तै, धुँल्लाटोलमा रहेको छ महत्वपूर्ण द्य: ध्वखा:। अर्थात भगवान भित्र्याउने ढोका। प्रत्येक वर्ष हुने बज्रयोगिनी जात्रामा बज्रयोगिनी देवीलाई यही ढोका हुँदै भित्र्याउने गरिन्छ।
स्वस्थानी व्रत चल्दा विष्णु भगवान माधव नारायणका रुपमा शालि नदीमा आएर व्रत बस्ने गरेको मान्यता छ। एक महिनासम्म चल्ने यो व्रतका बेला साँखुको शालिनदीमा पूजा गर्न पुग्नेहरुको घुइचो लाग्छ। यो महिना भर माधवनारयणलाई दैनिक रुपमा (परदेश यात्राका दिन बाहेक) साँखु नगर परिक्रमा गराइन्छ। माधव नारायणको मूर्तिलाई नगर प्रवेश गराइ फिर्ता ल्याउन चलाखु टोलमा रहेको माधवनारायण ध्वखा: प्रयोग गरिन्छ।
माधवनारायण ध्वखा:
'लिच्छवी र मल्लकालमा बनेका उपत्यकाका शहरहरुमा यस्ता धेरै ढोकाहरु छन्। भक्तपुर र पाटनमा समेत विभिन्न ढोकाहरु अहिले पनि छन्। तत्कालिन समयमा बनेका ढोकाहरुले नगरको सीमासमेत छुट्याउने गर्थ्यो। उपत्यकाका धेरै ढोकाहरु हराइसके' प्रकाशमान भन्छन्, 'शहर विकास गर्दा ढोकाहरु कति महत्व थिए भन्ने यसबाट बुझिन्छ। शहरलाई व्यवस्थित बनाउन र थिती बसाल्न साँखुमा बनेका ढोकाहरुले तत्कालिन समयमा महत्वपूर्ण भूमिका खेलेको थियो।'
'ध्वखा:' निर्माणको अर्को किम्बदन्ती
'मणिशैली महावदन' मा नै शालिनदी र साँखुको सम्बन्धका बारेमा समेत उल्लेख गरिएको उनी बताउँछन्। मणिशैली पर्वतबाट झरेको पानी शैल नदी हुँदै बग्ने गरेको ग्रन्थमा उल्लेख छ। पछि शैल नदी अपभ्रम्श भए शालिनदीका रुपमा कहलियो।
देवाशुर संग्राममा देव र दावनहरुको लडाइ भयो। त्यसबेला दावनहरु देवहरुभन्दा निकै बलिया भए। देवताहरु कमजोर हुँदै जाँदा दावनहरुले निकै दुख: दिए। त्यसबेला भगवान विष्णुले स्वस्थानीको व्रत बसेको कथन छ।
म्हयामचा ध्वखा:
प्रकाशमान भन्छन्,'विष्णु भगवानले बज्रयोगिनीलाई स्वस्थानी देवी मानेर ३० दिनसम्म व्रत बसेर आशीर्वाद लिएको पौराणिक कथा विष्णु पुराणमा उल्लेख छ। त्यसबेला माधव नारायणका रुपमा विष्णुले द्वादशी तीर्थ भनेर यहाँ भएका १२ वटा तीर्थमा स्नान गरे। नौ कुण्डमा नुहाए। नौ कुण्डमा भएका नौवटा नाग राजाहरुको सेवा गरे। यसरी ३० दिनसम्मको तपस्याका कारण विष्णुले ब्रहमाण्ड हाँक्न सक्ने शक्ति हासिल गरेको विश्वास गरिन्छ।'
विष्णुले तपस्या गरी आफ्नो दाहिने शंख साँखुमा बसाएर यहाँ शंखको जस्तै एउटा शहर बनाउन भनेको समेत कथन रहेको छ। यो साँखुलाई शंखरापुर पनि भनिन्छ। सोही अनुरुप शंखका आकारमा बनाइएको शहरमा विभिन्न ढोकाहरु बनाइएको मान्यता रहेको श्रेष्ठ बताउँछन्।
यी सबै ढोकाहरु जे प्रयोजनका लागि बने आजसम्म त्यसले निरन्तरता पाइरहेको छ। साँखुको पहिचान बनेको यी ढोकामा कुँदिएका आकृतिहरुले यिनलाई अझै विशेष बनाएकै छ। सबै ढोकाहरुको वरपर अष्ट मातृकाहरु स्थापना गरिएका छन्। अष्टमातृकाहरुले नगरको रक्षा गर्ने विश्वास छ।
द्य: ध्वखा:
हालसम्म पनि प्रयोगमा आइरहेका यी ढोकाहरु विभिन्न कालखण्डमा पुनर्निर्माण भएका छन्। यी पाँच ढोका बाहेक साँखुमा अन्य ढोकाहरु पनि रहेको बताइन्छ। लायकु ध्वखा: (राजदरबार ढोका), तलेजु ध्वखा: लगायत थुप्रै ढोकाहरु कुनै बेला साँखुमा थिए। अहिले ती ढोकाहरु लोप भइसके।
प्रकाशमान भन्छन्,' हामीसँग अहिले जति ढोकाहरु छन्। तिनीहरुको संरक्षणमा हामीले निकै ध्यान दिएका छौं। यी ढोकाहरुले नै साँखुलाई जीवित बनाइरहेको छ। तिनीहरुको महत्वका बारेमा हामीले वर्तमान पुस्ताहरुलाई सिकाइरहे छौं। आउने दिनहरुमा पनि यसले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं।'