PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

साग फुटबलमा स्वर्ण जित्नेलाई साढे पाँच लाख पुरस्कार दिने एन्फाको घोषणा



रासस

साग फुटबलमा स्वर्ण जित्नेलाई साढे पाँच लाख पुरस्कार दिने एन्फाको घोषणा
फोटो : एन्फा।

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३ औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक जित्ने नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ। एन्फाको आज बसेको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो।

नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो। सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही पाँच लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ। साग फुटबलमा रजत पदक प्राप्त गरेको महिला टोलीका खेलाडीलाई जनही एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिने एन्फाले निर्णय गरेको छ। महिला फुटबल टोली फाइनलमा भारतसँग पराजित भएको थियो।

यस्तै एन्फाले शहीद स्मारक बी डिभिजन लिग खेल्ने प्रत्येक क्लबलाई प्रतियोगिता तयारी स्वरुप १० लाख उपलब्ध गराउने निर्णय गरेको छ। बी डिभिजन लिगको विजेतालाई १५ लाख, उपविजेतालाई आठ लाख, तेस्रो हुने क्लबलाई पाँच लाख तथा चौथो हुनेलाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यसैगरी सी डिभिजन लिगको तयारीका लागि प्रत्येक क्लबलाई सात लाख रुपैयाँ दिइने एन्फाले जनाएको छ। महिला फुटबल प्रतियोगिताका विजेतालाई १५ लाख, उपविजेतालाई आठ लाख, तेस्रोलाई पाँच लाख तथा चौथो हुनेलाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने एन्फाले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell