- स्वेच्छा राउत/सविन ढकाल-
नारायणी २८ वर्षसम्म बाँची। ऊ थला परिन। नियमित औषधि उपचार पनि गर्नु परेन। उस्तो धेरै स्याहारको खाँचो पनि भएन। ऊ जीवित रहनुले सबैलाई चकित तुल्याएको थियो। अनि उत्तिकै खुसी पनि।
गएको हिउँद। एक दिन नारायणीको मृत्युको खबर राजु खत्रीसम्म आइपुग्यो। उनी स्तब्ध भए। केहीबेर विश्वास गर्नै सकेनन्। अनि कुदेर पुगे। आँखा टल्पलाई सकेका रहेछन्। परेला चिम्म गरेर झारे।
नारायणीको छेउमा पुगेर सुम्सुम्याए। नजिकको आफन्त बिते झैँ लाग्यो उनलाई।
नारायणी अर्थात् घोडी। त्यो घोडी राजु सिपाही बनेर नेपाली सेनामा भर्ती भएको दुई वर्षपछि जन्मिएकी थिई। उसलाई राजुले नै स्याहारे। तालिम दिए। सवार गरे। विभिन्न सभा समारोहमा अश्वकला गराए। थुप्रै खेल जितेकी पनि थिई उसले।
निक्खर कालो वर्णकी, निधार अनि चारवटै खुट्टाको खुर वरपर भने सेतो। चहकिला आँखा र सिउँदो काटिएको झैँ लाग्ने रौँ। निकै सुगठित थिई नारायणी।
शरहका प्राय: घोडा बीसदेखि पच्चीस वर्षमात्र बाँचेका थिए। तिनले भन्दा लामो रेस पार गरी नारायणीले।
अन्ततः जहाँ जन्मिई त्यहीँ प्राण त्यागी - नेपाल क्याभ्लरीमा। नेपाल क्याभ्लरी अर्थात् नेपाल घोडचढी सेना जुन नारायणहिटी दरबार परिसरको उत्तर ढोकापट्टि छ।
२०७२ को वैशाखमा भूकम्प गयो। सिंहदरबारभित्र रहेका तबेला थप जीर्ण भए। त्यहाँ रहने अवस्था थिएन। त्यसैले २०७४ सालमा नेपाल क्याभ्लरी स्थानान्तरण गरियो, नारायणहिटी दरबार परिसरमा। जहाँ तीनवटा कंक्रिटका तबेला बनाइएका छन्। तीमध्ये एक तबेला नारायणीको नाममा - ‘नारायणी तबेला’। किनकि ऊ विशेष थिई।
'ठाउँ फेरियो। तबेला फेरियो। नयाँ घोडा पनि आए अनि गए पनि। तर, नारायणीसँग बेग्लै लगाव भयो। त्यो घोडीको सम्झनामा छाक छोडियो तर याद छोड्न सकिएन,' नारायणीलाई सम्झिँदा राजु उनकै नामको तबेलाभन्दा अगाडि छन्।
+++
हरेक दिन बाबु काँधमा हलो बोकेर निस्किँदा काखीमा किताब च्यापेर निस्कन्थे दक्षिणकालीका राजु खत्री। फुटेका कुर्कुच्चा, फाटेका लुगा। बाबुको दुःख देख्न सकेनन्। कक्षा ८ को परीक्षा दिए र हापिदिए पढाई। त्यसपछि बुबासँगै खेतबारीमा खटिन थाले। गाई भैँसी स्याहार्नुपर्ने जिम्मा।
२०४१/४२ सालतिरको कुरा हो। राजुका दाइ रामबहादुर कहिलेकाहीँमात्र घर आउँथे, सफा लुगामा चिटिक्क परेर। उनी घर आउनुको मतलब घरमा मीठो तरकारी पाक्नु थियो। किनकि राजुका दाइ नेपाल आर्मीमा थिए। हनुमानढोका दरबारमा खटिएका। गाउँघरमा उनको शान नै बेग्लै।
राजुलाई लाग्थ्यो - दाइ पैसा कमाउने भएकै कारण उसले बढी माया पाउँछ। उनलाई बिस्तारै आफ्नो फुटेको कुर्कुच्चा, माटो र गोबर लागेको लुगासँग दिक्क लाग्न थाल्यो।
एकाएक सोचे- 'हलो छोड्छु। बन्दुक भिर्छु। म पनि आर्मी बन्छु। पैसा कमाउँछु।'
आर्मी बन्न सके बिहेवारी पनि सजिलै हुने विश्वास। मानिसहरू भन्थे- 'आर्मी पुलिसमा जागिर खानेको हात, खुट्टा, आँखा सबैथोक सद्दे हुन्छ। केटो हेर्नै पर्दैन।'
पढाई छाडेको करिब तीन वर्षमा आर्मीमा भर्ना खुलेको थाहा पाए। उनी किशोर अवस्थाकै इख बोकेर कसैलाई थाहा नदिई जागिर खान हिँडे।
दौड, लिखित, शारीरिक प्रतिस्पर्धा सबै तह पार गरे। आफूसँगै जागिर खान आएकाहरूबाट सुने- मेडिकलमा चाहिँ 'पावर' लगाउनुपर्छ। त्यसपछि हनुमानढोका दरबारमा कालो दौरा सुरुवातमा ठाँटिएर तरबार बोकेर उभिएका दाइसम्म नपुगी सुखै पाएनन्। लुसुक्क गए र आफू पनि आर्मीमा भर्ती हुने कुराको बेलिबिस्तार लगाए। दाइले प्रतिवाद गरेनन् तर सम्झाए- 'यो गाह्रो काम हो। सकेसम्म फेरि पढ्न थाल्। प्रशासनको जागिर खानुपर्छ।'
राजुले भर्ती प्रक्रियाको अन्य तह पार गरिसकेका थिए। स्वास्थ्य जाँच मात्र बाँकी हुँदा उनले दाइको कुरा मान्ने ठाउँ नै थिएन। अन्ततः इखैइखमा लिएको निर्णयले जित्यो। उनी आर्मी बन्नका लागि योग्य ठहरिए।
उनीसँगै ५ सय ६० जनाको भर्ती भएको थियो। राजुलाई आज पनि सम्झना छ त्यो दिनको जुन दिन छानिएका सबै हातमा एकएक वटा थाल, गिलास र झोला बोकेर जम्मा भएका थिए। त्यस दिन उनीहरूलाई हेर्न 'चिफ साप' सचित शमशेर जबरा आउँदै थिए। धेरैले सोचेका थिए उनी आउँछन्। बधाई दिन्छन्। नयाँ सेनालाई नेपाली सेनाको जिम्मेवारीबारे बताउँछन्।
तर, त्यसो भएन।
सचित शमशेरले त पाँच सय साट्ठी जनाबाट ४० जनालाई मात्र जागिरका लागि योग्य ठहर गरिदिए।
हातमा थाल र गिलाससँगै खुसी बोकेर आएकाहरू अधिकांश भारी मन लिएर फर्किए।
धन्न! राजु चालिस जनाभित्र छानिए। आर्मी भए।
उनले सोचेका थिए, अब बन्दुक बोकेर खटिइन्छ। त्यस समय ‘भैरवनाथ गण’मा सबैभन्दा गाह्रो हुन्छ भन्ने सुनेका थिए। अहिले दुःख गरे पछि सुख पाइन्छ भन्ने सोचले त त्यही गणमा डोहोर्याइसकेको थियो। दूर्भाग्य उनी त्यस गणका लागि छानिएनन्। उनलाई खटाइयो बालाजुको पशु परिबहन गुल्म जसलाई खच्चड गुल्म पनि भनिन्थ्यो। त्यहाँ सेनाले ढुवानीका लागि प्रयोग गर्ने खच्चडहरू थिए। तिनको रेखदेखको जिम्मेवारी सिपाहीको।
गाई भैँसी हेर्न छोडेर आर्मी बनेका उनको भागमा खच्चड हेर्ने जिम्मेवारी पर्यो। तर, उनी खिन्न भएनन्। सेना बन्नका लागि लिएको तालिमले प्रतिबद्ध बन्न सिकाएको थियो।
२०४७ साल भदौको १४ गतेदेखि उनी सेवामा खटिए।
‘भाग्यले चालिस जनामा पारेको थिएँ। भाग्यले नै खच्चड गुल्ममा पुर्यायो। खुसी त्यसैले जिम्मेवारी स्वीकारेँ,’ राजुले सुनाए।
त्यही गुल्ममा उनी एक वर्ष खटिए। तालिम लिए। ठिक एक वर्षपछि २०४८ सालको साउन २ गते उनको सरुवा भयो - 'किङ्स हाउस होल्ड क्याभ्लरी'मा। त्यही दिनदेखि हो उनी घोडासँग जोडिएका। त्यहाँ पनि जिम्मेवारी केही फरक भने थिएन। घोडाको रेखदेख गर्नु अनि तिनलाई दानापानी दिनु, ढुकुटी कुर्नु। बस् खच्चडको साटो घोडा हेर्नुपर्ने भयो। त्यहाँ घोडचढी तालिम पनि गर्नुपर्यो। बिस्तारै घोडासँग नजिकिए उनी। घरमा बाबुआमा भन्थे- 'मान्छेको त भर हुँदैन जनावरको के भर? घोडाले लात हान्छ। लडाउँछ। अङ्गभङ्ग पार्छ।'
सुरुसुरुमा त उनलाई पनि डर नलागेको होइन। घोडा चढ्दा लडेका पनि हुन्। तर, राजुले जिम्मेवारीभन्दा माथि जीवन हुँदैन भन्ने आत्मसात् गरिसकेका थिए। बिस्तारै घोडाहरूले पनि चिन्न थाले।
कालो राइडिङ हेल्मेट, हरियो रङको ब्रिचेस अनि कालो बुट। घोडा चढ्दाको पहिरनले पनि उनलाई आत्मविश्वासी महसुस गराउन थाल्यो। आफूसँगै घोडाप्रतिको विश्वास पनि गहिरो हुँदै गयो। खटिँदाखटिँदै भावनात्मक रूपमा जोडिए ती घोडाहरूसँग। घोडालाई निकै समझदार र मेहनती पाए।
संवैधानिक राजतन्त्रको अन्त्यसँगै 'किङ्स हाउस होल्ड क्याभ्लरी' पनि 'नेपाल क्याभ्लरी' बन्यो।
+++
नाम : मुना
नम्बर : ४०४
जात : नेपाली
जन्म मिति : २०६२/०१/१८
लिङ्ग : पोथी
आमा : मालिनी, बाबु: सरोज
यो घोडाको परिचयपत्र हो, नेपाल क्याभ्लरीको तबेलामा झुण्ड्याइएको। क्याभ्लरीमा तीनवटा तबेला छ। भाग्य, नारायणी र डमरु तिनका नाम। यी तबेलामा कुल १०७ घोडा छन्। ती सबैको परिचय रोचक लाग्छन्। कतिका आमाबुबा अनि बच्चा सबै तबेलामै छन्। केही नेपालकै हिमाली भेग अनि भारत, पाकिस्तान, स्पेन लगायत देशहरूबाट भित्र्याइएका पनि। एक किसिमले ग्लोबलाइजेसनकै संकेत। यी घोडाहरूको सेवामा खटिएका छन्, दुई सय २२ जना सेनाको 'भाइ टोली' र 'दाइ टोली'। दाइ टोली अर्थात् घोडचढीहरू। अनि भाइ टोलीको जिम्मेवारी चाहिँ घोडाको रेखदेख, दानापानी दिनु आदि।
हरेक बिहान भाइ टोली उठ्छन्। साढे चार बजेसम्ममा त घोडाहरूलाई पानी दिइसक्नुपर्छ। त्यसको ठिक आधा घण्टापछि दाना। दानामा चना, जौ, चोकर आदि। दिनभरमा यसैगरी चार पटक पानी र चारै पटक दाना खुवाउनुपर्छ। बेला-बेलामा स्वास्थ्य उपचार पनि। पशु चिकित्सक निर्देशनालय नारायणहिटी उत्तर ढोकामै छ।
गर्भवती वा सुत्केरी घोडी अनि बिरामी घोडा/घोडीका लागि भने खानपिन र रेखदेखको विशेष व्यवस्था छ। घोडालाई गुलियो खुब मनपर्छ। त्यसैले विशेष अवस्थामा उनीहरूलाई थप दाना र सख्खर दिइन्छ। यसरी स्याहारमा रहेका घोडा सवारीका लागि प्रयोग हुँदैनन्।
घोडी सुत्केरी भएको ६ महिनासम्म बच्चासँगै राखिन्छ। ६ महिनापछि बच्चाबाट छुट्ट्याइन्छ तर त्यसपछिको ६ महिना पनि उसको प्रयोग हुँदैन। आराम पाउँछिन्। जन्मिएको तीन वर्ष पुगेका घोडाहरू मात्र यहाँ ल्याइन्छ। एक वर्ष तालिम दिइन्छ। अनि उमेरले १६ वर्ष नपुगुन्जेल उनीहरू काममा प्रयोग हुन्छन्।
'बछेडा बछेडी जन्मिँदा यस परिसरको माहौल नै बेग्लै बन्छ। जन्मिएको तीन दिनदेखि कुद्न थाल्छन्। रौनक छाउँछ,' क्याभ्लरीका मेजर राजन पाण्डे बोलिरहँदा चौरमा तीन महिने सुत्केरी घोडी रोहिणी यताउति कुदिरहेकी थिई। उसको पछिपछि कुद्दै थियो, तीन महिने गिर्वाण। गिर्वाणकी आमा रोहिणी निक्खर काली छ, नेपाली जातकी। उसको बुबा जंगे भने पाकिस्तानी। जंगे निक्खर सेतो रङको छ। उसको ड्युटी बग्गी तान्नु हो। यति जानकारी दिइसकेर पाण्डेले गिर्वाणतर्फ इशारा गर्दै बोले, 'यो अहिले कालो छ। केही समयमै सेतो हुन्छ, बाबुजस्तै।'
यहाँ खटिएका हरेक तह र तप्काका सेनाहरूले यी घोडालाई नजिकबाट चिनेका छन्। यिनको व्यवहार बुझेका छन्। यिनको मनस्थिति बुझ्न पनि उस्तो धेरै समय लाग्दैन उनीहरूलाई। वास्तवमा संकेत, इशारा र अनुशासनले बाँधेको छ सेना र सेनाका घोडाहरूलाई।
हरेक वर्ष घोडेजात्राका दिन। टुँडिखेलमा राइड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, सो जम्प, टेण्ट पेगिङ लगायत आकर्षक खेलहरू भइरहँदा टुँडिखेलभित्र र बाहिर घोडाहरूको जादुमय प्रस्तुति हेर्नेको भीड लाग्छ। वाहवाही पाउँछन् घोडचढी सेनाले पनि। त्यतिखेर घोडाहरूको फोटो मिडियामा छाउँछ। उनीहरूले विभिन्न खेलमा जितेको मेडल र पुरस्कारको चर्चा हुन्छ। तर, जात्राका लागि मात्र भने तयार हुँदैनन् यी घोडा। हरेक दिन तालिम अनि परेड। घोडाको पनि र घोडचढी सेनाको पनि। विशेषत: 'स्कर्टिङ'मा सजाएर सवार गराइन्छ यिनलाई। संसद्मा राष्ट्रपतिले नीति तथा कार्यक्रम घोषणाका लागि जाँदा हुने सवारीका क्रममा देखिने घोडा पनि यिनै हुन्। त्यसबाहेक विशिष्ट अतिथिको आगमनमा, अधिकारप्राप्त व्यक्तिहरूको शुभ कार्यमा पनि क्याभ्लरीका घोडाहरूले बग्गी तान्छन्।
१९०६ सालमा तत्कालीन राजा सुरेन्द्रविक्रम शाहले अश्वसेना अर्थात् घोडचढी सेनाको सुरुवात गरेका हुन्। इतिहासमा घोडचढी सेना युद्धका लागि कहलिए।
'अब त देश शान्त छ। युद्ध होइन चाडपर्व र उत्सवहरूमा प्रयोग हुन्छन् घोडा। मनोरञ्जनका दृष्टिकोणले हेर्छन् आम मानिसले पनि,' राजु सुनाउँछन्।
राजुले यिनै घोडाहरूसँग सहकार्य गरेको झन्डै ३० वर्ष भयो। सिपाहीबाट प्रमुख सुबेदार भइसकेका छन् राजु। सरुवा हुने सुविधा पाए पनि उनले यो ठाउँ छाड्न चाहेनन्। किनकि उनका लागि परिवार बन्यो तबेलाका घोडाहरू। घोडासँग नजिक भएकै कारण अरू जनावरप्रति पनि नजिक भएका छन् उनी। घरमा तीनवटा कुकुर पालेका छन्। उनलाई जनावर कहिल्यै फोहोर लाग्दैनन्।
'सफा र फोहोर चाहिँ जनावर पाल्ने मानिसको जिम्मेवारीको कुरा हो। जस्तो राख्यो त्यस्तै बन्छ जनावर पाल्ने ठाउँ,' उनले भने।
किशोरावस्थामा भकारो सोहोर्न घिनाएनन् उनले किनकि बाबुको मायाले जित्यो। सहयोग गर्न गोठदेखि मलको खाल्डोमा पसे। घिन त्यसै हरायो।
जागिरमा जिम्मेवारी तबेला सम्हाल्ने पर्यो। घोडाहरूको बफादारी र संवेदनशीलताले जित्यो। यहाँ पनि घिन हरायो।
'माया गरेर हेरे जे पनि सुन्दर छ। जिम्मेवारीवोध गरेर काम गरे जनावर पाल्ने ठाउँ पनि सफा हुन्छ,' उनले भने , 'हामीलाई यो ठाउँ गनाउँदैन तर यहाँ आएर कसैले नाक थुन्दा वा मुख खुम्चाउँदा खल्लो लाग्छ।'
घोडा र तबेला सफा राख्दा खटिइरहने भाइ टोलीको खुलेरै प्रशंसा गर्छन् उनी।
‘अब त घरमा छोरा बिरामी परे श्रीमतीले उपचार गर्न लग्छिन् भन्ने हुन्छ तर यहाँ कुनै एउटा घोडा बिरामी परे निद्रा पर्दैन। किनकि छोराले बोलेर पीडा व्यक्त गर्न सक्छ यिनले त सक्दैनन्। अनुमान गर्नुपर्छ। समयमा उपचार नहुँदा ज्यान गुमाउँछन् अनि क्याभ्लरीमा शोकमा पर्छ,' उनी घोडाहरूप्रति आफ्नो लगाव प्रस्ट्याउँछन्।
विरलै छाडेका छन्, उनले यस ठाउँ। जब छाडे, त्यस समय दूर्भाग्यपूर्ण बन्यो।
+++
२०६१ सालमा शान्ति सेनाका रूपमा हाइटी जाने भए उनी। युएन मिसन जानेको तालिम काभ्रेपलाञ्चोकको पाँचखालमा हुन्छ। देश द्वन्द्वमै गुज्रिरहेको थियो। त्यसैले पाँचखालस्थित क्याम्पदेखि यता धुलिखेलसम्म र उता पाँचखालसम्म तालिममा रहेका सेना नै परिचालित हुनुपर्थ्यो, पटोलका लागि। त्यही बेला हो तबेला छाडेर मैदानमा उत्रिएका थिए राजु खत्री, पहिलोपटक। पटोलकै क्रममा २०६१ सालको चैत १४ गते दोलालघाट पुगेका थिए उनी। टोलीका तीनजना मात्र थिए। बाँकी सबै सर्वसाधारण। सेनासँगै हुनुले ढुक्क तुल्याएको थियो उनीहरूलाई। सँगै उकालो लाग्दै थिए। हिँड्दै जाँदा रातमाटे भन्ने ठाउँ पुगे। त्यसपछि सिधै अस्पतालको शय्यामा।
उनको अनुहारमा ३२ ठाउँमा टाँका लगाइएको थियो। पूर्ण होसमा फर्किएपछि उनले थाहा पाए बायाँ आँखा गुमेछ। त्यस समय घाइते भएर तङ्ग्रिएका उनी युएन मिसनमा सहभागी हुन पाउने नियम थियो। तर, उनले सोचे - अब काममा फर्किन सक्दिनँ। शान्ति सेना त परको कुरा।
तर, जब त्यही एम्बुसमा परी ८ वर्षीय बालकले दुवै आँखा गुमाएको चाल पाए तब उनको आत्मविश्वास जाग्यो। र, कुनै पनि हालतमा काममा फर्कनले अठोट लिए।
२०६२ सालमा उनी शान्ति सेना गए। हाइटीको द्वन्द्वबीच खटिए। फर्किए पुनः घोडाको लगाम समाउन नै।
राजुलाई धक फुकाएर घोडा सवार गर्दा निकै गर्विलो महसुस हुन्छ। दुई वर्ष भयो उनले १४ वर्षकी घोडी मुना सवार गर्न थालेको। उनलाई आफ्नै सन्तानजस्तै लाग्छ मुना। उस्तै प्यारो अनि अनुशासित पनि। तर, अब मुना धेरै समय कुद्न सक्दिन। उसको आराम गर्ने दिन नजिकिँदै छ। ऊ बुढी हुन्छे। उसलाई नारायणीजस्तो लामो समय बाँच्छे कि बाँच्दिन निश्चित छैन। धन्न मुना रिटायर्ड हुनुअघि राजु रिटायर्ड हुनेछन्, आउँदो वर्षको मंसिरमा। त्यसपछि ऊ अन्य सैनिककी घोडी बन्छे।
'अबको आठ महिनापछि त मैले चाहेर पनि यहाँ बस्न पाउँदिन। अनि चाहेर पनि बिर्सन सक्दिनँ यस ठाउँलाई,' राजु भावुक सुनिन्छन्।
अहिले पनि उनी घोडालाई अप्ठ्यारा, उकाली, ओराली अनि चुनौतीपूर्ण यात्राको बानी पार्न 'क्रस कन्ट्री राइड'मा लिएर निस्कन्छन् दाइ टोलीसँगै। उनले बायाँ आँखा नदेख्ने कुरा थाहा पाउँदा अचम्मित हुने धेरै छन्। कतिले सोध्छन्- आँखाको कारण घोडचढी अप्ठ्यारो हुँदैन?
राजु निर्धक्क जवाफ दिन्छन्- 'मेरो घोडाले मलाई डोहोर्याउँछ नि।'