PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

फ्रेन्ड्समाथि एपिएफको फराकिलो जित, आशिष लामा बने धेरै गोल गर्ने खेलाडी



पहिलोपोस्ट

फ्रेन्ड्समाथि एपिएफको फराकिलो जित, आशिष लामा बने धेरै गोल गर्ने खेलाडी

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबले फ्रेन्ड्स क्लबमाथि फराकिलो जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा एपिएफले ५-२ को फराकिलो अन्तरले जित निकालेको हो।

एपिएफको जितमा आशिष लामा र प्रविन स्याङतनले समान २/२ गोल गरे भने कप्तान तोपबहादुर विष्टले १ गोल गरे। यता फ्रेन्ड्स क्लबका लागि फिलिप डि सौजा र विश्व अधिकारीले १/१ गोल फर्काए।

खेलको १२ औं मिनेटमै गोल गर्दै एपिएफलाई अग्रता दिलाएका आशिषले ४० मिनेटमा दोस्रो गोल पनि गर्दा एपिएफ पहिलो हाफमा २-० ले अगाडि रह्यो। दोहोरो गोल गर्दै म्यान अफ दी म्याचसमेत बनेका आशिष ८ गोल गर्दै जारी सिजन सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समेत उक्लिएका छन्। उनी पछि च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले ७ गोल गरेका छन् भने आर्मीका नवयुग श्रेष्ठले ६ गोल गरेका छन्।

दोस्रो हाफमा फ्रेन्ड्स क्लबले गोल फर्काउँदै खेलमा फर्कन चाह्यो। खेलको ६९ मिनेटमा फिलिपले गोल गर्दै फ्रेन्ड्स क्लबको खाता खोले। तर, त्यसको २ मिनेट भित्रै एपिएफका प्रविनले गोल गर्दै एपिएफको गोलसंख्या ३ पुर्‍याए। ७६ मिनेटमा फ्रेन्ड्स क्लबका विश्व अधिकारीले गोल गर्दै टिमलाई खेलमा फर्कन चाहे।

तर, अतिरिक्त समयमा एपिएफका कप्तान टोपबहादुर र प्रविनले गोल गर्दै एपिएफको फराकिलो जित निकालेका हुन्। जितसँगै रेलिगेसन जोनमा रहेको एपिएफले पुछारमा रहेको सरस्वती क्लबसँग ४ अंकको दुरी कायम गरेको छ। एपिएफ र ब्रिगेड ब्वाइजको समान ८ अंक छ भने सरस्वती क्लबको ४ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell