PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

'वुहानका अजेय मानिस' भाइरल, फुकुयामाको पुस्तक 'ओरिजिन अफ पोलिटिकल अर्डर' पनि सर्वाधिक खोजीको सूचीमा



पहिलोपोस्ट

'वुहानका अजेय मानिस' भाइरल, फुकुयामाको पुस्तक 'ओरिजिन अफ पोलिटिकल अर्डर' पनि सर्वाधिक खोजीको सूचीमा

अस्पतालको शय्या, मुखमा निलो मास्क, गाडा निलो रंगको टिसर्टमा ढल्किएका फू अस्पतालमा प्रयोग हुने सिरक ओडिरहेका छन्। हातमा छ  फ्रान्सिस फुकुयामा लिखित पुस्तक 'ओरिजिन अफ पोलिटिकल अर्डर'। अहिले उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

नोवल कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' वुहानस्थित नयाँ बनिरहेको अस्पतालमा उपचारका लागि भर्ना भएका मध्येका पहिलो लटका विरामी हुन फू। उनलाई अहिले सामाजिक सञ्जालमा 'वुहानका अजेय मानिस'को रुपमा चित्रण गरिएको छ।

मोबाइल क्याबिन अस्पतालमा पुस्तक पढिरहेका उनले पुस्तकका लेखकको पनि ध्यान आकर्षित गरेका छन्।

३९ वर्षीय फू थर भएका उनी फ्लोरिडा स्टेट युनिभर्सिटीका पोस्ट डक फेलो हुन्। वुहान विश्वविद्यालयबाट विद्यावारिधि सकेर उनी फ्लोरिडामा पोस्ट डकका लागि पुगेका थिए। उनको गृहनगर हुवेइ प्रान्तको स्याओकान हो। जुन वुहानबाट नजिक छ। उनका अभिभावकहरु वुहानमै बस्छन्।

आफ्ना अभिभावक भेट्नका लागि वुहान पुगेका उनलाई त्यहाँ कोरोना भाइरसको संक्रमण देखिएको थियो। अर्कै अस्पतालमा भर्ना भएका उनलाई वुहान अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भर्खरै बनेको मोबाइल क्याबिन अस्पतालमा फेब्रुअरी ५ मा रिफर गरिएको थियो।

'उनले वुहानमै पुस्तक किनेका थिए। उनलाई अध्ययन गर्न अधिक मन पर्छ, फूले हुवेइ डेलीलाई भनेका छन्,' चाइना डेलीले अगाडि लेखेको छ, 'उनले आफ्नो रुचिभन्दा बाहिर गएर पुस्तक पढिरहेका थिए। उनलाई यो थाहा पनि थिएन कि उनको तस्विर भाइरल हुनेछ।'

फूको तस्विर भाइरल भएसँगै फूकुयामाको पुस्तक पनि चर्चित बनेको छ। 'दी ओरिजिन अफ पोलिटीकल अर्डर'ले चीनको रिभ्यु साइट 'तुवान' मा रिकमेन्डेट पुस्तकको पहिलो स्थानमा उपस्थिति जनाएको छ।

नेटिजनहरुले यतिबेला उनको तस्विर सेयर गर्दै उनको सकारात्मक र शान्त स्वभावको प्रशंसा गरेका छन्। 'अस्पतालको शय्यामा पढिरहेको उनको तस्विरले मलाई थप उत्साह र आशा भरेको छ,' एक जना विवो प्रयोगकर्ताले लेखेका छन्।

'तपाईँ जतिबेला तनावमा हुनुहुन्छ त्यतिबेला भित्री पीडालाई कम गर्न उपाय भनेको पढ्नु नै हो,' अर्का नेटिजनले लेखेका छन्, 'शारीरिक अभ्यासले पनि यसलाई कम गराउन सकिन्छ।'

क्याबिन अस्पतालमा शारीरिक व्यायम गरिरहेका अर्का एक जना व्यक्तिको भिडियो पनि सामाजिक भाइरल भइरहेको छ। क्वारेन्टाइनमा राखिएका विरामीलाई नृत्य तथा थाइची गतिविधि प्रख्यात बनेका छन्।

वुहानमा यतिवेला सबै नागरिकलाई अस्पतालमा चेकअपका लागि आह्वान गरिएको छ। अधिक शंकास्पद विरामीहरुका कारण वुहानमा ११ वटा स्थानलाई मोबाइल क्याबिन अस्पतालको रुपमा फेब्रुअरी ७ मा विकास गरिएको छ। यस्ता मोबाइल अस्पतालले नोवेल कोरोना भाइरसको संक्रमण सकरात्मक देखिएका १० हजार विरामीलाई उपचार प्रदान गर्न सक्छन्।

आइतबार मध्यरातसम्म चीनमा ४० हजार १७१ जनामा यसको संक्रमण देखिइएको छ। यसका कारण ९०८ जनाको मृत्यु भएको छ। आइतबार मात्र हुवेइ प्रान्तमा २ हजार ६१८ जना नयाँ संक्रमित फेला परेका थिए भने ९१ जनाको मृत्यु भएको थियो। त्यस्तै आइतबार नै ३५६ जना उपचारपछि घर फर्किएका थिए।

हालसम्म हुवेइमा मात्र २९ हजार ६३१ जनामा संक्रमण देखा पर्नुका साथै ८७१ जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये एक हजार ७९५ जनाको सफल उपचार भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell