PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वीरगंज नाकामा ६ सय कार होल्ड, आयातकर्ताले १० महिनासम्म छुटाएनन् गाडी



राधेश्याम पटेल

वीरगंज नाकामा ६ सय कार होल्ड, आयातकर्ताले १० महिनासम्म छुटाएनन् गाडी

वीरगंज : वीरगंजस्थित दुई भन्सारको तीन वटा नाकामा करिब ६ वटा महंगा गाडीहरु होल्ड भएर बसेका छन्। आयातकर्ताले विदेशबाट बिलासी कार आयात गरी राजस्व नतिर्दा ती कारहरु होल्ड भएर बसेका हुन्।

६ सय कारमा विशेषगरी हुन्डाई, टोयोटा, किया, इसुजु ब्रान्डका कारको संख्या बढी रहेको छ। वीरगंज भन्सारको आइसिपी नाकामा पौने ३ सय, पुरानो वीरगंज भन्सार नाकामा दुई सय र सुक्खा बन्रदरगाह भन्सारमा सय गरी कुल ६ सय भन्दा बढि कार थन्किएका हुन्।

वीरगंज भन्सारका सूचना अधिकारी विमलकुमार साहका अनुसार आयातकर्ताले गाडी मगाएर राजश्व नबुझाउँदा गाडीको जाँचपास नभएको हो। कन्टिनेन्टल ट्रेडिङ प्रालिले जापानिज ब्रान्डको इसुजु कार र कोरियन ब्रान्डको किया, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोरियन ब्रान्डको हुन्डाई र युनाइटेड ट्रेडर्सले जापानिज टोयोटा ब्रान्डको कार आयात गर्छ। आइसिपी भन्सार यार्डमा आइसर ब्रान्डको ५९ वटा ट्रयाक्टर पनि थन्केर बसेको साहले बताए।

सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार भन्सारमा करिब १ वटा जति किया र इसुजुको कार होल्ड भएका बताए। वीरगंज भन्सारको आइसिपी भन्सार सञ्चालन गर्ने नेपाल इन्टरमोडल यातायात विकास समिति आइसिपी शाखा अधिकृत जितेन्द्र रसाईलीका अनुसार २४ घण्टाभित्र भन्सार यार्डबाट गाडी छुटाएर लगेमा क्षमता अनुसार न्युनतम ३६ रुपैयाँ देखि ६ सय ४३ रुपैयाँ प्रवेश शुल्क तिर्नु पर्छ भने ७ दिनसम्म पार्क गरेमा प्रतिदिनको ४ सय २८ रुपैयाँ प्रतिदिन जोडिँदै जान्छ। त्यसैगरी ७ दिन पछि जतिदिन सम्म पार्क गरे पनि एक दिनको ४ सय ७१ रुपैयाँ थप पार्किङ शुल्क लाग्ने गरेको उनले बताए।

भन्सारबाट किन छुटाइदैनन् गाडी 

आयातकर्ताले विदेशबाट गाडी खरिद गरी भन्सार नाकामा रोक्नुको कारण राजस्वको पैसा हुने गरेको पाइएको छ। विलासी गाडीमा ८० प्रतिशत सम्म भन्सार महसुल, ६० प्रतिशत सम्म अन्तशुल्क, १३ प्रतिशत भ्याट र ८ प्रतिशत सडक सम्भार दस्तुर गरी करिब गाडीको दामको डेढ सय प्रतिशत सम्म राजस्व तिर्नु पर्ने हुँदा गाडी किन्ने ग्राहक पाइएपछि मात्र गाडी छुटाउने गरिएको भन्सार अधिकारीहरुको भनाई छ।

‘शोरुममा पुरानो कार देखाएर गाडी बुक गर्ने गरिन्छ, जब ग्राहकले गाडी बुक गरी एडभान्सको केही रकम हालेपछि मात्र आयातकर्ताले गाडी छुटाएर लग्ने गरेका छन्’, उनले भने, ‘गाडी खरिदमा बैंकले ऋण दिन र डाउन पेमेन्टको प्रतिशत पनि कम गरेपछि गाडी बिक्री घटे पनि आयातकर्ताले गाडी छुटाउन ढिलाइ गर्ने अर्को कारण हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell