PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्मला प्रकरणमा महानिरीक्षक खनालको यू-टर्न : भीडको निर्देशनमा खनिएको खाडल, फर्किएला प्रहरीको साख?



सविन ढकाल

निर्मला प्रकरणमा महानिरीक्षक खनालको यू-टर्न : भीडको निर्देशनमा खनिएको खाडल, फर्किएला प्रहरीको साख?
फाइल फोटो

मंसिर ५ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल धनगढीतर्फ निस्किए। खनालसँगै केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डिआइजी नीरज शाही, इन्टरपोल प्रमुख एसएसपी उमेश जोशी, एसएसपी रामदत्त जोशी साथमा थिए।

त्यो रात धनगढीको एक होटेलमै बास बसे।

बिहानै कञ्चनपुरका जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यको टोलीलाई बोलाएर एउटा फाइल झिकाए। फाइल थियो- निर्मला बलात्कार तथा हत्या प्रकरण।

१५ महिनापछि महानिरीक्षक खनाल एकाएक यू-टर्न भइसकेका थिए। निर्मला हत्या प्रकरणको सुरुवातमा संगठनका केही 'किरा'ले संगठनको बदनाम गराए भन्दै भाषणबाजी गर्दै हिँड्ने महानिरीक्षक खनाल परिवर्तन भइसकेका थिए। उनलाई केन्द्रीय अनुसन्धान व्यूरोबाट डिएसपी अंगुर जिसीको नेतृत्वमा गएको टोलीले गरेको अनुसन्धान सही भएको लाग्न थालिसकेको थियो।

खनालको धनगढी यात्रा दिलीपसिंह विष्टलाई नै पक्राउ गर्नुमा थियो। खनालले सरकारी वकिल कार्यालय तथा अन्यबाट पनि ग्रिन सिग्नल पाइसकेका थिए। २०७५ भदौ १३ गते कञ्चनपुर पुगेर निर्मलाको अनुसन्धान गरेका डिएसपी अ‌‌जुर जिसीलाई पनि उनले धनगढीमा नै बोलाएका थिए।

तर महानिरीक्षक खनालले सोचेजस्तो भएन। मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा माहोल बिग्रिने संकेत आएपछि महानिरीक्षक खनाल खिन्न भएर काठमाडौँ फर्किन बाध्य भए। पहिलो अट्याक खेर गयो।

दुई साताअघि फेरि महानिरीक्षक खनाल धनगढी पुगे। औपचारिक काम भवन उद्घाटन र निरीक्षण। तर भित्री मिसन दिलीपसिंह विष्ट पक्राउ। विष्टलाई प्रहरीले निगरानीमा नै राखेको थियो। महानिरीक्षक खनालले अनुसन्धानमा सहयोगको अपेक्षामा आफू अनुकूलका एसपी समेत सरुवा गरिसकेका थिए। एसपी मुकुन्द मरासिनीले जिल्लाको नेतृत्व पाएका थिए।

तर यसपटक पनि उनी सफल भएनन्। सरकारी वकिल कार्यालयबाट ग्रिन सिग्नल नपाएपछि उनी फर्किएका थिए। यस पटकको फर्काई पहिलेभन्दा निराशाजनक थियो। आफ्नो कार्यकाल छँदै निर्मला प्रकरणलाई टुंगोमा पुर्‍याएर फर्किने उनको चाहनामा पूर्णविराम लाग्दै थियो।

पपुलिष्ट आइजी निर्मला प्रकरणमा कहाँ चुके?

नेपाली समाजमा एउटा उखान स्थापित छ- जसोजसो पण्डित,उसैउसै स्वाहा। महानिरीक्षक खनालको कमान्डमा पनि यस्तै भयो। निर्मला प्रकरणको झण्डै ६ महिनासम्म आइजी खनालको कमाण्ड पनि यो घटनामा छरपस्टै भयो। कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टको नेतृत्व कमाण्ड नचुकेको भने होइन। तर, खनालले आफ्नै एसपीको पनि डिएनए जाँच गराए। निर्मलाको भेजिनल स्वाबमा भेटिएको पुरुष वीर्यको डिएनएसित अरू डिएनए म्याच हुन्छ कि हुँदैन परीक्षण गरिएको हो। यस अनुसार बलात्कारमा संलग्न भएको हुनसक्नेको मात्र डिएनए परीक्षण गर्नुपर्ने हो। जसले गर्दा सर्वसाधारणले प्रहरीलाई हेर्ने दृष्टिमा नकारात्मक छाप छोड्यो। त्यतिमात्र होइन संगठनभित्र पनि आइजीको आलोचना भयो।

अनुसन्धानमा लापरबाही गरेको आरोप लागेका एसपीलाई कानुन अनुसार विभागीय कारबाही गर्नुको साटो उनले शंकास्पद अभियुक्तका रूपमा डिएनए नै परीक्षण गर्न लगाए।

अपराध अनुसन्धानमा अरू प्रमाण भेटिएपछि पुष्टिका लागिमात्र डिएनए परीक्षण गराउनु पर्ने हो। तर, भीडको मागकै भरमा एसपी विष्टमात्र हैन, एसपी विष्टका छोरा किरण र आयुश विष्टको पनि डिएनए चेक गरियो। महानिरीक्षक खनालको अनुसन्धान टिम प्रमाण होइन भीडमा कुद्यो। परिणाम अहिले पनि भौतिक र परिस्थितिजन्य भए पनि पुनः दिलीपसिंह विष्टमाथि अनुसन्धान गर्ने साहस बटुल्न सकेको छैन।

चार महिनासम्म निर्मला प्रकरणमा प्रहरीको भूमिकाबारे चर्को आलोचना भइरहँदा प्रहरी हेडक्वार्टरले औपचारिक रूपमा कुनै जानकारी दिन जरुरी ठानेन। हेडक्वार्टरले अनुसन्धानबारे औपचारिक रूपमा प्रस्ट नपार्दा हल्ला र ‘रे ले बजार लिइरह्यो।

सर्वसाधारण प्रहरीको आलोचना गर्दै थिए, आइजीले त्यसैमा हो मा हो मिलाउँदै आफ्नै संगठनका व्यक्तिलाई 'धमिरा'सम्म भन्न भ्याए। पपुलिष्ट भाषणमा नै उनी रमाए। प्रहरीलाई अनुसन्धानको ट्रयाकमा होइन, भीडको पछाडि दौडाए।

घटना भएको १८ महिनापछि एकाएक घटना 'ट्वीस्ट एण्ड टर्न' देखियो।   एआइजी धिरु बस्न्यातले बुझाएको प्रतिवेदन त्रुटिपूर्ण भएको भन्दै पछिल्लो पटक डिआइजी सुरज केसीको नेतृत्वमा बनेको पुनरावोलकन समितिले खारेज गर्न सुझाव दिएको छ। २०७५ भदौ ३१ गते प्रहरी प्रधान कार्यालय नक्सालले एआइजी बस्न्यातको नेतृत्वमा बनेको समितिले भीड र रे'को भरमा नै प्रतिवेदन बुझायो।

घटना के भयो भन्ने खोजीभन्दा पनि प्रहरीको अनुसन्धान नै गलततर्फ केन्द्रित भएको डिआइजी सुरज केसीले माघ २२ गते बुझाएको पुनरावलोकन समितिको प्रतिवेदनले भन्छ। तर महानिरीक्षक खनालले धिरुको प्रतिवेदनकै भरमा झनै गाली गर्दै गए। जसले अनुसन्धानलाई  सही दिशा दिन सकेन।

भीडले जेजे भन्दै गयो, त्यसैमा सही थाप्नुतर्फ लाग्यो प्रहरी नेतृत्व। दशैंपछि आइजीको सिफारिसमा गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई सेवाबाट हटायो।

भीडले अहिले सोधिरहेको छ, गल्ती नगरेको भए किन हटायो? गल्ती गरेको हो भने किन थुनेन?आइजी खनाल यो विषयमा पनि केही नबोली चुप बसे।

अपराध अनुसन्धानमा अब्बल ठहरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) संलग्न अनुसन्धानमा हालसम्म प्रश्न उठेको थिएन। तर, अपराध अनुसन्धानमा पोख्त नभएका नारायणसिंह खड्काको कमाण्डमा रहँदा भएको घटनाले यो संगठनसमेत नराम्ररी विवादमा मुछियो।

निर्मला प्रकरणमा त्यसपछि प्रहरी डिएनएमात्र अपराधीसम्म पुग्ने प्रमाण भन्दै पछि लाग्यो। डिएनए मिल्यो अपराधी मिलेन निर्दोष मापनको सूचक यही मात्र भयो। त्यसैले अहिलेसम्म धेरैले प्रश्न उठाइरहेका छन्। ल दिलीपले नै बलात्कार गरेको भए डिएनए किन मिलेन? महानिरीक्षक खनाल नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका प्रमुख एसएसपी राकेश सिंहकै विश्वासमा दौडिए। के कञ्चनपुरमा प्रहरीले गल्ती गर्‍यो भनेर पत्याउने आइजीले सिंहको परीक्षणमा अलिकति शंका गरिदिएको भए निर्मला प्रकरण यति जटिल बन्दैनथ्यो की!

तर ७० जनाभन्दा बढी शंकास्पदको डिएन नमिलेपछि बाध्य भएर डिएनएमा नै प्रश्न उठ्यो।

महानिरीक्षकको हतारोले उनी चिप्लिँदै गए। शंकाकको खाडल महानिरिकले झनै बढाउँदै लगे।

निर्मला पन्तको हत्या अनुसन्धान गर्न १८ महिनाको अवधिमा  औसतमा प्रति महिना एउटा समिति गठन भयो। तर हात लाग्यो शून्य।

सबै समितिले दिलीपसिंह विष्टलाई बाहिरै राखेर अनुसन्धान गरे। जसले गर्दा समिति अपराधीसम्म पुग्न सकेन। 'मैले त पटकपटक भनेको थिएँ। तर उनीहरूले त्यसो गरेनन्।' महानिरीक्षक खनालले  केही दिनअघिको भेटमा सुनाएका थिए।

डिएसपी जिसीपछि हाल आइजीको लाइनमा रहेका तत्कालीन एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा टोली गयो, एसपी कमल थापा पनि पुगे। यो टोलीले विशाल चौधरी र प्रदिप रावललाई नियन्त्रणमा लियो। महानिरीक्षक खनाल यस प्रकरणमा पनि चुके। घटनामा कहीँ कतै नमिल्ने चौधरीलाई आफैं बयान लिन गएर अपराधी झैँ प्रस्तुत भए।

अनुसन्धानमा अम्बल भनिने महानिरीक्षक चौधरी पक्राउमा नराम्रोसँग पछारिए। एसएसपी प्रकाश अधिकारी, एसपी उमाशंकर चतुर्वेदी, एसपी सुदीप गिरी, एसपी विष्णु केसी, एसपी रमेश थापा,एसपी दुर्गा सिंह, एसपी दीपक रेग्मी,एसपी मेखबहादुर खत्री, एसपी गणेश चन्द, डिएसपी रुगुम कुँवर, दुर्गा दाहाललगायतको टोलीले अनुसन्धान गर्‍यो तर परिणाम जिरो।

कञ्चनपुरमा आन्दोलित भीड, केही सञ्चार माध्यममा 'रे' का भरमा आएका समाचार, आफ्नै संगठनभित्रबाट दिएको गलत रिपोर्ट, डिएनएको त्रृटिले महानिरीक्षक खनालको झण्डै एक वर्ष बढी बित्यो।

कसरी भए आइजी यू-टर्न?

आफ्नै कार्यकालमा निर्मला प्रकरण सुल्झाउने प्रयासमा खनाललाई सफलता मिलेन। तर, पहिलोपटक केन्द्रीय अनुसन्धान व्यूरोबाट डिएसपी जिसीको नेतृत्वमा गएको टोलीको अनुसन्धानमा विश्वस्त भएर घर जाँदैछन्।

महानिरीक्षक खनालले दिलीपलाई पक्राउ गर्न नखोजेका होइनन् तर आफैंले सुरुमा गरेको गल्ती नै उनका लागि ठूलो पर्खाल बन्यो। तर खनालले प्रहरीले उठाएका तीन ठूला पर्खाल भत्काएर जाँदैछन्। डिएनएको आधारमा अब अपराधी पत्ता नलाग्ने निश्चित भएको छ। राष्ट्रिय मानव अधिकार आयोगले घटना प्रकरणमा विज्ञसहितको टोलीले अनुसन्धान गरी डिएनए संकलन र परीक्षण प्रक्रियामै प्रश्न उठाउँदै गृह मन्त्रालयमा प्रतिवेदन बुझाएपछि गृहले छानबिन गर्न अर्को टोली गठन गर्‍यो। गत भदौ २६ गते मन्त्रिस्तरीय निर्णय अनुसार राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व निर्देशक डा. जीवनप्रसाद रिजालको नेतृत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिले बुझाएको प्रतिवेदनमा भेजिनल स्वाबमा भनिएको पुरुषको डिएनए वीर्य हो भन्न नसकिने उल्लेख गरेपछि डिएनएबाट अनुसन्धान नहुने देखिएको थियो। आइजी खनाललाई यू-टर्न गराउने एउटा कारण डिएनए नै हो।

धिरु बस्न्यात नेतृत्वको प्रतिवेदनले पनि खनाललाई अनुसन्धानमा केही रुमलिरहेको थियो।

दोस्रो थियो पुनरावलोकन समितले बुझाएको प्रतिवेदन।

प्रहरीले २०७५ भदौ ४ गते निर्मलाको मुख्य अभियुक्तका रूपमा ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्टसँग बयान लिएको थियो। डिएनए नमिलेपछि रिहा भएका विष्टले आफूलाई कुटपिट गरेर बयान लिएको भन्दै हिँडेपछि यातना दिएको आरोप प्रहरीलाई लाग्यो। दिलीपलाई अदालत उपस्थित नगराउँदै रिहा गर्न प्रहरी बाध्य भयो। बस्न्यातको समितिले पनि आरोपितलाई यातना दिई बयान गराएको, प्रमाण नष्ट गरेको, नक्कली प्रमाण खडा गरेको भन्ने भीडको भरमा नै प्रतिवेदनमा प्रहरीलाई कारबाही गर्न सुझाएको थियो। एआइजी बस्न्यातको समितिले के विष्टलाई यातना नै दिएको थियो त? भन्ने जानकारी लिन प्राविधिक र वैज्ञानिक पुष्टि नभई केवल प्रहरी कर्मचारीको बयान, आन्दोलनकारीहरूको भनाई तथा सञ्चार माध्यममा आएका विविध समाचारलाई आधार बनाई प्रतिवेदन तयार पारेको डिआइजी सुरज केसीले पुनरावलोकन समितले बुझाएको प्रतिवेदनमा उल्लेख छ।

त्यसो त पछिल्लो ६ महिनायता दिलीपबारे पनि विभिन्न जानकारी आएका छन्। विष्ट आफैंले निर्मलाको हत्या गरेको भन्दै हिँडेको भिडियो। निर्मलाको बलात्कारपछि हत्या भएको समय आसपास विष्टलाई वरपर देख्ने महिलाको भनाई लगायतले आइजी यू-टर्न भएका छन्।

सुरुमा प्रहरीले गरेका गल्ती अहिले सच्याएर अघि बढ्न प्रहरीले ठूलो मूल्य चुकाउनु परेको छ। भीडको निर्णय र हतारको कामले डिआइजीसम्म सेलिब्रटीको छाप बोकेका आइजी निर्मला प्रकरणमा असफल भएर घर फर्किँदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell