PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दैलेखमा भेटिए मलेरियाका बिरामी



पहिलोपोस्ट

दैलेखमा भेटिए मलेरियाका बिरामी

दैलेख : दैलेखमा मलेरियाका बिरामी भेटिएका छन्। स्वास्थ्य कार्यालय दैलेखका अनुसार जिल्लामा नौ जना मलेरिया बिरामी भेटिएका हुन्। रोजगारीका लागि पैसा कमाउन भारत गएका मानिसमा लामखुट्टेबाट सर्ने मलेरिया रोग देखा परेको हो।

नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित छन्। बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौँमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो। बिरामीको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताएको छ।

मलेरियाका बिरामी दैलेख क्षेत्र–२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नं १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाबाट भेटिएको हो। मलेरिया रोग अन्यत्र सर्न नदिनका लागि सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा निराजन पन्तले बताए।

पन्तले मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सर्तक रहन सल्लाह र परामर्श दिने गरेको बताए। जिल्ला अस्पतालका वरिष्ठ ल्याव असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार मलेरियाका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्ला बाहिर उपचारका क्रममा मलेरिया भेटिएको जनाएको छ।

सेभ द चिल्ड्रेन, मलेरिया कार्यक्रमका डा मदन कोइरालाका अनुसार मलेरियाका नौ बिरामी भेटिएपछि दैलेख मलेरियाको जोखिममा रहेको र त्यसका लागि प्रभावकारीरूपमा स्थानीयवासीमा जनचेतना जगाउनुपर्ने देखिन्छ।

“रोजगारीका लागि मुग्लान जाने फर्किँदा मलेरियाको सङ्क्रमित भई फर्किने हुनाले सङ्क्रमितको उपचार र हुनसक्ने सङ्क्रमणलाई रोक्न स्थानीय सरकार विशेष महत्व दिएर लाग्नुपर्छ”, उनले भने। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell