PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शहर नष्ट नगर्न सरकारलाई खबरदारी, माइतीघरमा यसरी उत्रिए खोकना र बुंगमतीवासी

शहर नष्ट नगर्न सरकारलाई खबरदारी, माइतीघरमा यसरी उत्रिए खोकना र बुंगमतीवासी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : सरकारका योजनाहरुका कारण शहर नै नष्ट हुने भन्दै खोकना र बुंगमतीका वासिन्दाहरुले आज राजधानीमा विरोध प्रदर्शन गरेका छन्। 

बुंगद्य: (रातो मछिन्द्रनाथ) रहेको बुंगमती, सिकाली  र रुद्रायणी मन्दिर रहेको खोकना शहर हुँदै सरकारले राष्ट्रिय परियोजना निर्माण गर्ने कार्य थालनी गरेसँगै स्थानीयहरुले विरोध गर्दै आएका थिए। 

खोकना र बुंगमती हुँदै काठमाडौं-तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्रयाकसँगै १३२ केभिए विद्युत प्रसारण लाइन, बाहिरी चक्रपथ,  नयाँ स्याटालाइट शहर, बाग्मती कोरिडोर, काठमाडौँ तराई रेलमार्ग जस्ता आयोजनाहरू सञ्चालनमा ल्याउने सरकारको नीति छ। फास्ट ट्रयाकका कारण खोकनाको कुदेश र सिकाली मन्दिरमा असर पर्ने स्थानीयले बताउँदै आएका छन्। 

सरकारले सबै परियोजना एकै स्थानमा ल्याएर ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै खोकना र बुंगमतीका गुठी खल: हरुले सर्वोच्च अदालतमा समेत मुद्दा दायर गरेका थिए। सर्वोच्चले विपक्षीलाई बोलाइ यस मुद्दामा थप सुनुवाई गर्ने भएको छ। 

माइतीघरमा सयौंको संख्यामा उपस्थित भएकाहरुले फास्ट ट्रयाक, बाग्मती करिडोर, प्रसारण लाइनलगायतका परियोजना खारेज गर्दै खोकना र बुंगमतीको जोगाउन माग गरेका हुन्। 

सरकारले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका यी दुई शहरलाई स्मार्ट सिटीका रुपमा रुपान्तरण गर्ने कार्य थालनी गरेकोमा पनि स्थानीयले विरोध गरेका छन्। 
विरोध प्रदर्शनमा उत्रेकाहरुले सरकारले सबै परियोजना बुंगमती र खोकनामा ल्याएर संचालन गर्दा रातो मछिन्द्रनाथको जात्रा संकटमा पर्ने चेतावनी पनि दिएका छन्।
 
खोकनाका चन्द्र डंगोलले भने,' हामी विकास विरोधी होइनौं। तर सबै आयोजना एकै ठाउँ सञ्चालन गर्दा हाम्रो शहर नै समाप्त हुन्छ। केही वर्ष अघि पनि हामी सडकमा ओर्लिएका थियौं। सडकले प्रहरी लगाएर दमन गर्योट। तर विस्थापनविरुद्ध छौं। हाम्रो आन्दोलन जारी छ।'



ट्रेन्डिङ पोस्ट

Ncell