
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबार गृहमन्त्रालयमा भएको ७० औँ प्रजातन्त्र दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तिमी भन्ने भाषा प्रयोग गरेकोमा असन्तुष्टि जनाएका हुन्।
सञ्चार माध्यमहरुले अंग्रेजीको सिको गरेर कसैलाई हजुरभन्दा आफु अपमानित भएको ठान्ने गरेको आरोप लगाए।
‘सञ्चारमाध्यमहरुबाट हामी छापिएको हेर्छौ। त्यो के देख्छौँ छापिएकोमा। हाम्रो आफ्नो भाषा छ। भाषाको मर्म छ। हाम्रो भाषामा बोलाउँदा हजुर भन्ने छ। हाम्रा सञ्चारमाध्यमहरुलाई हजुरभन्दा साह्रो सानो ठान्छन्,' उनले भने, 'हाम्रो सञ्चार माध्यमलाई अंग्रेजीको कपी गरेर बोलाउँदा मिस्टर-मिस भनेर बोलाउन पाउँदा राम्रो लाग्छ। कसैलाई तपाई भन्नुपर्दा अचम्मको अपमान भएको जस्तो लाग्छ।'
प्रधानमन्त्री ओलीले आदरार्थी शब्द र सम्मानयुक्त व्यवहार समाजबाटै हटाउने सुनियोजित प्रयास भएको आरोपसमेत सञ्चारमाध्यमलाई लगाए।
आफूभन्दा ठूला तथा दौतरीहरुलाई तपाई भन्ने उल्लेख गर्दै ओलीले भने, ‘तपाई भन्ने शब्द आदरार्थी शब्द व्यवहार त्यो समाजबाटै हटाउने सुनियोजित प्रयास भएको छ। अंग्रेजीमा यु भनेपछि पुग्छ। बीबीसीले पहिले सुरु गर्यो। यसो भने, यसो भनिन्। हाम्रा हजुर बाले यसो भने, हजुर आमाले यसो भनिन्। भन्नुभयो भन्न आउँदैन। अनी त्यही कपी गरेर नक्कल गरेर सबैले यस्तै भन्न थाले।' उनले नेपाली सभ्यता र संस्कृति माथि सञ्चारमाध्यमहरुबाट निरन्तर हमला भएको आरोप पनि लगाए।