PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

शहीद स्मारक लिगमा ५० गोल गरेपछि हराएको भरतको त्यो भाइरल फोटो



मुकुन्द घिमिरे

शहीद स्मारक लिगमा ५० गोल गरेपछि हराएको भरतको त्यो भाइरल फोटो

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार भएको १२ औं चरणको खेलमा पहिलो गोल त्रिभुवन आर्मीबाट भयो। आर्मीका लागि कप्तान भरत खवासले गरे त्यो गोल। उक्त गोलको लिगमा खास रह्यो किनभने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा भरतको त्यो पचासौं गोल हो।

पचास गोल गरेसँगै उनी चर्चामा छन्। जसरी जारी लिगमै नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै शहीद स्मारक ए डिभिजन लिगमा सन्तोष साहुखलले १०० गोल पुर्‍याउँदा भएको थियो। त्यो गोलसँगै भरत शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पुर्‍याउने सातौं खेलाडी बने।

भरतले ५० गोल गरेसँग सामाजिक सन्जालमा केही दिन यता चर्चामा आइरहेको तस्विरको चर्चा भने अलि सेलायो। फेसबुकका ग्रुपहरुमा सेनाको पोसाक देखिएका भरत केही खान लागि रहेको जस्तो देखिन्छन्। आइतवार र सोमवार सामाजिक सन्जालमा यो फोटोले निकै चर्चा बटुल्यो।

फोटो कहिलेको?

उक्त फोटो भरतले भर्खरै सामाजिक सन्जालमा सेयर गरेका भने हैनन्। तालिमका क्रममा खिचिएको फोटो पुरानो भएको उनले बताए।

‘त्यो फोटो ७० सालको माघ फागुनतिरको हो। मैले त्यो आर्मीको क्याड्रेट कोर्स गर्दा अमलेखगन्ज तिर खिचेको फोटो हो। आउट डोरमा खिचेको फोटो हो त्यो। त्यहाँ एकजना साथीले फोटो खिचेर राखिदिनु भएको रहेछ। अनि पछि मैले त्यो तस्बिर राखेको पनि थिएँ,’ खवासले भने, ‘फोटो खिच्ने दाइको नाम मनोज विक थियो सायद। धेरै अघिको फोटो हो अहिले फेरि कसरी आइपुग्यो थाहा भएन।’

मोरङ घर भएका खवास एन्फा एकेडेमीकै 'प्रोडक्ट' हुन्। उनले सबै उमेर समूहमा खेलिसकेका छन्।

२०६३ सालमा सङ्कटा क्लवबाट ए डिभिजन लिग डेब्यु गरेका उनी २०६९ सालमा नेपाली सेनामा प्रवेश गरे। त्यहाँ दुई वर्ष अफिसर क्याडेड कोर्षसमेत भ्याए। लिगमा आफू अहिले त्रिभुवन आर्मी क्लबलाई उपाधि जिताउन केन्द्रीत भएको बताउँछन्।

‘एकदमै खुसी लागिराछ। अब गोल गर्न पक्कै पनि गाह्रो छ। ५० गोल सम्मको यात्रामा साथ दिने सबै क्लबहरुलाई धन्यबाद दिन चाहन्छु। संकटा, फ्रेन्डस्, पुलिसबाट खेलेर अहिले आर्मीबाट खेलिरहेको छु। यसबीचमा सहयोग गर्ने सबैलाई धन्यबाद दिन चाहन्छु,’ कप्तान खवासले आफ्नो आगामी लिग योजनाबारे कुरा गर्दै भने, ‘अहिले सम्म देखिएका केही कमजोरीहरुलाई सुधार्नु छ। विशेषगरी एट्याकिङ लाइनमा सुधार गर्नुछ।  हामीलाई अगाडि बरावरी पनि पर्याप्त हुनेछ। तर, हामी स्पस्ट ३ अंक जोड्ने हिसाबले खेल्ने छौं।’

अंकतालिकामा शीर्षस्थानको त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबको अंक १ ले मात्र फरक भएकाले लिगको अन्तिम खेलमा नै उपाधि विजेताको टुङ्गो लाग्नेछ। शीर्षस्थानको आर्मीको २९ अंक छ भने दोस्रो स्थानको मछिन्द्रको २८ अंक छ। यस्तोमा लिग उपाधि जित्न आर्मीलाई बराबरीमात्र पनि पर्याप्त हुनेछ भने मछिन्द्रलाई जित अनिवार्य आवश्यक पर्नेछ।

आर्मी र मछिन्द्र फागुन ३ गते दशरथ रंगशालामा भिड्ने छन्। 

सम्बन्धित समाचार

सबै 'ए डिभिजन'को तयारीमा, आर्मीका कप्तान खवास भन्छन् : गल्ती सुधार्दै शहीद स्मारक जित्ने छौं



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell