PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

गच्छदार गइसके, अब चाँडै गौर काण्डमा उपेन्द्रलाई सरकारले जेल हाल्छ : डा सिके राउत



राधेश्याम पटेल

गच्छदार गइसके, अब चाँडै गौर काण्डमा उपेन्द्रलाई सरकारले जेल हाल्छ : डा सिके राउत

वीरगंज : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले समाजवादी पार्टीका  राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई सरकारले चाडै जेल हाल्ने अवस्था आइरहेको बताएका छन्।

वीरगंजको आदर्शनगरमा आयोजित बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा डा राउतले भने, ‘नेपाली कांग्रेसबाट मधेसवादीमा, फेरी कांग्रेसमा गएका विजयकुमार गच्छदारलाई नेकपाको सरकारले जेल हाल्ने वातावरण बनाइसक्यो, अब पालो उपेन्द्र यादवको हो, चाँडै गौर काण्डमा उनलाई सरकारले जेल हाल्छ।’

‘स्वराज’को अभियान लिएर हिँडेका डा राउतले केपी ओली सरकारसँग ११ बुँदे शान्ति सम्झौता गरेर शान्तिपूर्ण राजनीतिमा सेफ ल्यान्डिङ गर्दै जनमत पार्टी स्थापना गरेका हुन्।

पार्टीको आगामी रणनीति र चुनावमा सहभागी हुने प्रसंगमा उनले नेपालमा पुराना पार्टीहरु म्याद गुज्रेको औषधि सरह भएकोले जनमत पार्टीमा आउन आग्रह गर्दैै भने, ‘पुराना पार्टीहरु थोत्रा गाडी अथवा म्याद गुज्रेको औषधि सरह नै हुन्, देशमा परिवर्तन र मधेसमा स्वराज स्थापनाको लागि जनमत पार्टी नै अबको मधेसी जनताको विकल्प पार्टी हो।’

कांग्रेसले देशमा ७० वर्ष र नेकपाले ३० वर्ष राज गरिसक्यो, मधेसवादीले सयौँ मधेसी शहीदको रगत नाघेर मन्त्रीको कुर्सीसँग मधेसको मतलाई बेच्नु बाहेक केही नगरेको उनले धारणा राखे।

‘नेपाली कांग्रेस र नेकपाले देशलाई लुट्ने काम मात्र गरेका छन्, मधेसमाथि दमन शोषण गर्नु बाहेक अरु केही गरेनन्। उनीहरुकै दूतको रुपमा खडा गरिएको मधेसवादी कहलाउने दलका नेताहरुले मधेसी जनताको भावना विपरित राजनीति गर्ने र मधेसी जनताको भोटलाई बेचेर मन्त्रालय हत्याउनु बाहेक अरु केही गरेका छैनन्’, उनले भने, ‘पछिल्लो समय उपेन्द्र यादवले पार्टी एकीकरणको नाममा मधेस आन्दोलनको स्पिरिटलाई बाबुराम भट्टराईको चरणमा अर्पण गरेका छन्।’

उनले तराईका २२ जिल्लालाई सरकारले स्वायत्त मधेस प्रदेस बनाउने सम्झौता गरे तापनि आठ जिल्लाको प्रदेश २ मा सीमित गरेको बताए।

उनले भने, ‘पहिले मधेस पूरै धोतीको साइजमा थियो, अब लंगवटा (भित्री वस्त्र जस्तै) बनाइएको छ। फेरी पनि प्रचण्डलगायत केही नेताले बारा, पर्सालाई प्रदेश ३ मा गाभेर मधेसीलाई नाङ्गो पार्ने षड्यन्त्र पनि हुँदैछ, त्यस कारण सावधान।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell