![कसरी भयो जिराफको घाँटी लामो? [सन्दर्भ : चार्ल्स डार्विनको २११औं जन्म दिवस]](https://pahilopost.com/assets/upload/contentthumb/darwin.jpg)
- अनुज घिमिरे -
स्कूल पढ्दा कहिले जिराफ बाख्राजत्रो थिए भन्थे। कहिले भन्थे, मनिसको विकास बाँदरबाट भएको हो। गुरुले क्रमिक विकासको अध्याय पढाउँदैगर्दा साथीहरु 'तेरो बाजे त बाँदर थिए' भन्दै जिस्काउँथे एक अर्कालाई। अचम्म लाग्थ्यो, कसरी आयो होला बाँदरबाट मान्छे? त्यतिबेला खासै चासो नि लागेन। आफूलाई विज्ञान पढ्छुजस्तो नि लागेको थिएन।
तर, पछि जब विज्ञान नै पढियो र फेरि तिनै कुरा दोहरियो। बालापनको जिज्ञासाले अनि नयाँ मोड लियो। त्यसपछि क्रमिक विकासबारे जान्न बिस्तारै कितावका पान्नाहरु पल्टाउन थालियो।
कुरा पहिले जिराफ बाटै सुरु हुन्छ। जन ब्याप्टिस लामार्क नामका वैज्ञानिकको नाम डार्विनजति प्रख्यात छैन। तर, उनले दिएको क्रमिक विकासको सिद्धान्तको आडमा डार्विनले आफ्नो सिद्धान्त मजवुद गरेको पाइन्छ।
लामार्कको सिद्धान्त के थियो जुन प्रख्यात भएन?
लामार्कको अक्वाइर्ड इन्हेरिटेन्स सिद्धान्तका अनुसार कुनै जिवले आफ्नो जीवनकालमा प्राप्त गरेको कुनै विकासात्मक परिवर्तन उसले आफ्नो सन्तानमा सार्न सक्छ र त्यसरी जिवको विकास हुन्छ। मानौ, कुनै एउटा मुसाले पुच्छर गुमायो भने उसको सन्तानमा पुच्छर नहुनसक्छ र त्यसपछिका मुसा पुछररहित हुन सक्छन्। यही धारणा अनुसार जिराफको कुरा निस्केको थियो। कुनै बेला जिराफ खसी बाख्रा जस्ता हुने गर्थे। तर, जब चर्ने ठाउँमा रुखका पातहरु खाने क्रममा तल रहेको पात सक्किँदै जाँदा जतिजति घाँटी तन्काउँदै खाँदै गए उनीहरु को घाँटी लम्बिँदै अहिलेको जस्तो जिराफ बन्न गयो भन्ने धारणा थियो। यो धारणा सहि अनि गलत पनि छ।
गलत यसअर्थमा कि घाँटी तन्काएर तन्किएको र सोही हिसाबमा तन्किएको घाँटी भएकाले लामो घाँटी भएको जिराफ जन्माएर, लामो समयमा घाँटी अहिलेको जस्तो लामो हुन गएको होइन।
सहि यो कुरामा कि, जिराफ कुनै जमानामा सानै हुने गर्थे, खसी बाख्रा जस्तै। तर, अहिले घाँटी नै कम्तिमा ६ फिट लामो हुन गयो। त्यो कसरी भयो बुझ्न डार्विनको सिद्धान्ततिर जानुपर्छ। लामार्कको सिद्धान्त मान्छेले खासै स्वीकारेनन्। किन भने कुनै एउटा जेनेरेसनमा पुच्छर काटेको मुसाको बच्चा पुच्छर नभएको हुन्न।
डार्विनले पनि केही हद सम्म 'अक्वाइर्ड इन्हेरिटेन्स' मै विश्वास गर्थे। तर, उनको विचारको मार्ग भने भिन्न थियो। डार्विनको अन्तर्हिन अध्ययनको एउटा निचोड थियो - कुनै पनि जिवको कोशमा एउटा केही महत्वपूर्ण तत्व हुन्छ जसलाई उनले 'प्यान्जिन' भनेका थिए। र, एउटा जिवले आफ्नो जीवनकालमा प्राप्त गरेको वा सिकेको कुरा त्यस प्यान्जिनमा रहने र त्यो उसको सन्तानमा सर्दै जाने उनको विश्वास थियो। त्यो पनि केही हद सम्म ठीकै थियो। डार्विनसँग त्यस बेला यी सबै कुरा बुझ्न सक्ने श्रोत साधन थिएन। त्यतिबेलासम्म न आनुवांशिकबारे थाहा थियो न त डिएनएबारे नै। तै पनि उनले लगाएको अनुमान अन्तत: मिल्न गयो।
कसरी जिराफको घाँटी लामो भयो?
प्रकृतिमा धेरै प्रकारका भिन्नता छन्। ती भिन्नताका जरा हुन उत्परिवर्तन। कुनै एउटा सानो ठाउँकै जिराफहरुको समुदायमा कुनै ठूला हुन्छन् त कुनै साना। हामीले आफ्नै घर पालेका जनावरका हकमा त्यही लागू हुन्छ। देख्छौं - सबै केही न केही हिसाबले फरक छन्। जुम्ल्याहा नै पनि सबै उस्तै हुँदैनन्। त्यसको मुख्य कारण भनेको उत्परिवर्तन हो। उत्परिवर्तनले जनसंख्यामा भिन्नता ल्याउँछ। र, डार्विनको 'प्राकृतिक छनोटबाट क्रमिक विकास'को सिद्धान्त अनुसार त्यही भिन्नताबीच सबैभन्दा योग्य उत्परिवर्तन भएको जनावर प्रकृतिद्वारा छानिन्छ र उसले प्रजनन गर्न पाउँछ र आफ्नो जिन आफ्नो सन्तानमा पठाउँछ।
कुनै पनि जनावरमा देखिने विशेषता वा लक्षणहरु (ट्रेट्स) हाम्रो जिनले निर्धारण गर्छ। त्यस जिनमा रहेको जानकारीले हाम्रो वर्ण बनाउँछ। जिराफको त्यस समुदायमा पहिलेदेखि नै लामो घाँटी भएकाहरु थिए, जुन तिनले खाने कुराको अभावमा माथि रहेका पातहरु टिप्न सके। जसले टिप्न सके ती बचे र आफूमा भएको 'लामो घाँटी हुने' जिन आफ्नो सन्तानमा पठाउन सके। जुन जिराफ पातसम्म पुग्न सकेनन् तिनीहरुको जिन बिस्तारै हराउँदै गयो। यस प्रक्रियालाई नै डार्विनको प्राकृतिक छनोट भनिन्छ। र, लामो समयसम्म लामो घाँटी हुने जिराफ प्रकृतिको छनोटमा पर्दैजाने क्रममा एउटा समयमा पुग्दा सबै जिराफको घाँटी लामो हुन पुग्यो।
अर्को उदाहरण कुनै किराको लिन सकिन्छ। गोब्रे किरा धेरै प्रकारका हुन्छन्, हरिया गोब्रे किराहरु घाँस, पातमा लुकेर बस्न सक्छन्। कुनै उत्परिवर्तनका कारण सेतो वा अरु कुनै रङका गोब्रे किरा जन्मियो भने हरियो घाँस भएको ठाउँमा सजिलै देखिन्छ र सिकार बन्छ। यसरी कुनै वासस्थान योग्य हुने वा नहुने चक्करमा जनावरको क्रमिक विकास हुन्छ। डार्विनले भने यसबारे ग्यालापेगसको भ्रमणमा गरिएको संकलन र अध्ययनबाट पत्ता लगाएका थिए। उनी गएका विभिन्न टापुमा उनले उस्तैउस्तै देखिने चरा देखे तर हरेक चराको चुच्चो भने फरक थियो। हरेक टापुमा पाउने आहरा अनुसार ती चराको चुच्चो फरक थिए। किरा फट्याङ्ग्रा धेरै पाइने टापुमा बीउ खान उपयुक्त चुच्चो लाभदायक हुन्न र बीउ पाउने ठाउँमा किरा फट्याङ्ग्रा खाने। सोही रुपमा त्यहाँका हरेक टापुमा अद्वितीय रुपका चरा पाइन्छ जुन एउटै मुख्य भूमि वा एउटै प्रजातिबाट विकिरण भएको पाइन्छ। सामान्य रुपमा भन्न पर्दा यसरी नै प्राकृतिक छनोटमा परेर जनावरको क्रमिक विकास हुने सिद्धान्त चार्ल्स डार्विनको देन हो।
र, जुन कुरा डार्विनले आफ्नो जमानामा श्रोत र साधनको अभावले निश्चित रुपमा पेश गर्न सकेनन, अहिलेको प्रविधिले बिस्तारै उनीहरुको सिद्धान्तलाई बलियो बनाउँदै छ।