PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

उखु र माछा खेतीलाई प्राथमिकता दिँदा आलु उत्पादनमा कमी



राधेश्याम पटेल

उखु र माछा खेतीलाई प्राथमिकता दिँदा आलु उत्पादनमा कमी
Photo: Reuters (File)

वीरगंज : प्रदेश २ को बारा जिल्लामा गतवर्षको तुलनामा यसवर्ष आलु उत्पादनमा कमी आएको छ। चालु आर्थिक वर्ष २०७६/७७ को सिजनमा २ अर्ब ७ करोड ५९ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख १५ हजार ३ सय मेट्रिक टन आलु उत्पादन भएको हो।

गतवर्ष २०७५/७६ मा बारा जिल्लाको कुल ७ हजार ६ सय ६० हेक्टर क्षेत्रफलमा कुल १ लाख १६ हजार ७ सय ३२ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले बताए। गत आवमा १५ दशमलव २३ मेट्रिक टन प्रतिहेक्टरको दरले आलु उत्पादन भएको उनले बताए।

गत वर्षको तुलनामा यो वर्ष करिब १ हजार ७ सय मेट्रिक टन कम आलु उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ। कृषकहरुले नगदे बालीको रुपमा उखु र माछा खेतीलाई प्राथमिकतामा राखेपछि यसबर्ष आलुको उत्पादनमा कमी आएको प्रमुख यादवले बताए।

चालु आवमा कृषकहरुले कुल ७ हजार ४ सय ७० हेक्कटर क्षेत्रफलमा सी ४०, खुमलटार रातो लगायत विभिन्न जातका आलु १५ दशमलव ४ मेट्रिकटन प्रति हेक्टरको दरले उत्पादन गरेका छन्।

जिल्लाको उचिडिह हरिहरपुर, गोलागंज, अमृतगंज, देवापुर, भगवानपुर, पिपरपाती, बरियारपुर, मटियर्वालगायत दक्षिणी भागमा आलु खेती उलेख्य मात्रामा गरिएको कृषि ज्ञान केन्द्रका प्राविधिक गेनालाल मण्डलले बताए। बाराबाट उत्पादित आलु देश भरीको मुख्य शहर काठमाडौं, भरतपुर, पोखरा, हेटौँडा, जनकपुर, विराटनगरलगायतका शहरमा जाने गरेको कृषकहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell