PahiloPost

Jun 2, 2024 | २० जेठ २०८१

तोकिएको समयमा स्ववियु निर्वाचन नहुने, अनेरास्ववियु र नेविसंघको एउटै स्वर : त्रिवि गम्भिर बनेन



कुञ्जरमणि भट्टराई

तोकिएको समयमा स्ववियु निर्वाचन नहुने, अनेरास्ववियु र नेविसंघको एउटै स्वर : त्रिवि गम्भिर बनेन

काठमाडौं : आगामी फागुन १४ गते हुने तय भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन निर्धारित समयमा नहुने पक्का भएको छ। त्रिभुवन विश्वविद्यालको पुस २३ गते बसेको कार्यकारी परिषद्को बैठकले आगामी फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो।

तर, निर्वाचनका लागि तोकिएको मिति नजिकिँदै गर्दा अझैसम्म पनि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छैन। त्रिविको स्ववियु निर्वाचन नियमावलीमा एक महिना अघि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था भएकाले निर्वाचन नहुने पक्का भएको हो।

माघ १४ गते स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनसँग निर्वाचनको विषयमा छलफल गरेको थियो। जसमा अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राविसंघ लगायतका संगठनको सहभागिता थियो।

उक्त बैठकमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ) सहभागी थिएन। नेविसंघको केन्द्रीय पदाधिकारी रिक्त थियो। राजिव ढुंगानाको नेतृत्वमा माघ १६ गते कांग्रेसले नेविसंघको केन्द्रीय तदर्थ समितिको घोषणा गरेको हो। निर्वाचन नहुने पक्का भएसँगै विद्यार्थी संगठन र त्रिवि दोषारोपणमा उत्रिएको छ।

नेविसंघ र अनेरास्ववियुको एउटै स्वर : त्रिवि गम्भिर बनेन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संठगन अखिल नेपाल विद्यार्थी यूनियन (अनेरास्ववियू) र नेविसंघले विश्वविद्यालय स्ववियु निर्वाचनको विषयमा गम्भिर नभएको आरोप लगाए। अनेरास्ववियुका उपाध्यक्ष रञ्जित तामाङ विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक नगरेकाले निर्धारित मितिमा स्वत: निर्वाचन नहुने देखिएको बताउँछन्।

उनले भने, ‘निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न नसक्नु विश्वविद्यालयको कमजोरी हो। पहिले नेविसंघको केन्द्रीय समिति नआउँदा चुनाव नहुने जस्तो देखिन्थ्यो। तर, अहिले नेविसंघको समिति पनि आइसकेको छ।’

निर्वाचनको विषयमा तत्काल विद्यार्थी संगठनहरुसँग छलफलको पहल गर्न त्रिविलाई आफूहरले आग्रह गरेको उनले बताए। विश्वविद्यालले तत्काल निर्वाचनको अर्को मिति सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।

उनले भने, ‘विश्वविद्यालयलाई विद्यार्थीहरुसँग छलफल गर्न भनेका छौँ। निर्वाचनको विषयमा विश्वविद्यालय गम्भिर बन्नुपर्छ। शैक्षिक कार्यक्रम प्रभाव नपर्नेगरी तत्काल अर्को मिति सार्वजनिक गर्नुपर्छ।’

यता नेविसंघ अध्यक्ष राजिव ढुंगाना स्ववियु निर्वाचनको विषयमा कुरा नै नभएको बताउँछन्।

उनले भने, ‘विश्वविद्यालयले निर्वाचनको कुरा नै गरेको छैन। सबै विद्यार्थीलाई एकै थलोमा बोलाएर छलफल गरेको छैन। फागुन १४ गते गर्ने भन्ने त त्रिविको प्रस्ताव हो। त्यसमाथि निर्वाचन कार्यतालिका घोषणा नै गरेको छैन।’

उनले नेविसंघको पदाधिकारी नआउँदै फागुन १४ गतेलाई तोकिएको बताए। नेविसंघको केन्द्रीय समिति आइसकेपछि पहल नभएको उनको भनाइ छ।

त्रिविको निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको प्रमुख रेक्टर हुने व्यवस्था छ। हाल त्रिविमा रेक्टर पद रिक्त छ। मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राडा शिवलाल भुसाललाई निमित्त रेक्टर तोकिएको छ। नेविसंघले रेक्टर नियुक्त नहुँदासम्म निर्वाचन हुन नसक्ने बताउँदै आएको थियो। तर नेविसंघ अध्यक्ष ढुंगानाले रेक्टर आइसकेपछि मात्रै निर्वाचन गर्दा राम्रो हुने बताएको भएपनि रेक्टर नआइ निर्वाचन नै हुन नसक्ने भन्ने कुरा गलत भएको तर्क गरे।

त्रिविले नेविसंघको पदाधिकारी नभएको भन्दै निर्वाचनको कार्यक्रम तय नगर्नु गलत भएको उनको भनाइ छ। भने, ‘नेविसंघका अन्य कमिटी त थिए। अहिले त केन्द्रीय समिति पनि आइसकेको छ। तर निर्वाचन गर्न त्रिवि लागेकै छैन।’

उनले नेविसंघ निर्वाचन रुचाउने संगठन भएकाले आफूहरु पूर्ण रुपमा तयार रहेको भन्दै छिटो भन्दा छिटो निर्वाचन हुनुपर्ने बताए।

चैतको दोस्रो हप्तासम्म निर्वाचन गर्ने तयारी

उता त्रिवि परिषद्ले स्ववियु निर्वाचनको जिम्मेवारी दिएको विद्यार्थी कल्याण महाशाखाका प्रमुख गंगाबहादुर थापा पनि निर्वाचनको कुनै प्रक्रिया अघि नबढेको बताउँछन्। यस अर्थमा निर्धारित समयमा निर्वाचन हुन नसक्ने उनले स्वीकार गरे।

उनले भने, ‘निर्वाचनका लागि विद्याथीहरुसँग कुराकानी गरेका थियौँ। नेविसंघले आफ्नो केन्द्रीय समिति नभएको भन्दै उक्त समयमा निर्वाचन हुन नसक्ने बतायो।’

उनले अब निर्वाचनका लागि विद्यार्थीहरुसँग छलफल गर्ने बताए। चैतको पहिलो या दोस्रो साता निर्वाचन गर्ने गरी विद्यार्थीहरुसँग कुरा गर्ने उनले बताए।

उनले भने, ‘विद्यार्थीहरुसँग छलफल गर्छौँ। अब चैतको पहिलो या दोस्रो साता निर्वाचनका लागि प्रस्ताव गर्छौँ।’

विद्यार्थी संगठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीमा सहमति हुन नसक्दा प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन।

२०७३ सालमा करिब २५० क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो। उपत्यकाभित्रका आरआर, शिक्षा, सानोठिमी, भक्तपुर बहुमुखी, पिपुल्स, जनप्रशासन, पुल्चोक इञ्जिनियरिङ, थापाथली इञ्जिनियरिङ, महाराजगञ्ज शिक्षण अस्पताललगायतका क्याम्पसमा भने निर्वाचन भएको थियो।

उक्त स्ववियुको कार्यकाल २०७५ फागुन १४ गते नै सकिएको हो। तर तत्काल निर्वाचन गर्न नसकेपछि त्रिविले एकवर्ष समयावधि थप गरेको थियो। थपिएको एक वर्षे कार्यकाल आगामी फागुन १४ गतेबाट सकिँदै छ।

त्रिविको नियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरिएको थियो। शुरुमा नेविसंघले उमेर हदबन्दीको विरोध गरेको थियो। पछि एक कार्यकाल उमेर हदबन्दी नलगाउने र मिश्रित निर्वाचन प्रणालीमा जानेमा सबै संगठन सहमत भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell