PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

जनयुद्धको रजत वर्ष : सशस्त्र द्वन्द्वका सारथी छिन्नभिन्न, शहीदलाई सम्झिँदै नेकपा, बाबुरामले भुले, अरुको तयारी के?



कुञ्जरमणि भट्टराई

जनयुद्धको रजत वर्ष : सशस्त्र द्वन्द्वका सारथी छिन्नभिन्न, शहीदलाई सम्झिँदै नेकपा, बाबुरामले भुले, अरुको तयारी के?

काठमाडौं  : २०५२ साल फागुन १, तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको सुरुवात गरेको दिन।

१० वर्षसम्म चलेको जनयुद्ध २०६३ सालमा विधिवत रुपमा अन्त्य भयो। त्यसयताका १३ वर्षमा जनयुद्धका नेता कार्यकर्तादेखि सिद्धान्तहरुमा पनि टुटफुट देखियो।

सशस्त्र द्वन्द्वमा होमिएका नेताहरु यस पटक २५ औं जनयुद्ध दिवस मनाउने तयारीमा छन्। सँगै बन्दुक बोकेर भूमिगत जीवन बिताएका तत्कालीन माओवादीको नेतृत्वमा रहेका नेताहरु अहिले छुट्टाछुटै पार्टीको कमाण्ड सम्हालिरहेका छन्।

जनयुद्ध सुरु भएको रजत वर्ष मनाउने तयारी चल्दै गर्दा त्यही युद्धको नेतृत्व गर्ने नेताहरु एकअर्कालाई दोषारोपण गर्दैछन्।

जनयुद्धका सर्वोच्च नेता र तत्कालीन जनसेनाका सुप्रिम कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले 'माओवादी' लाई एमालेमा विलय गराइसके। २०७५ जेठ ३ गते माओवादीलाई एमालेमा एकीकृत भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्षका रुपमा प्रचण्डले कम्युनिष्ट आन्दोलनको नेतृत्व गरिरहेका छन्।

तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै प्रचण्डले सामूहिक नेतृत्व गरिरहेकाको पार्टीले कसरी जनयुद्ध दिवस मनाउलान्, पूर्व माओवादी नेताहरुको चासो छ।

जनयुद्धको कट्टर विरोधीको रुपमा चिनिएको एमालेसँग एकता पछि प्रचण्डले सानै मञ्चमा भए पनि 'जनयुद्ध दिवस' मनाउँदै छन् तर फरक नाममा। अहिले जनयुद्ध दिवसलाई जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभाका रुपमा मनाइँदैछ।

नेकपाले फागुन १ गते बिहीवार पार्टी मुख्यालय धुम्बाराहीमा जनआन्दोलन र जनयुद्धका शहीदहरुको स्मृतीमा कार्यक्रमको आयोजना गरेको छ। अघिल्लो वर्ष पनि यही नाममा नेकपाले जनयुद्ध दिवस मनाएको थियो।

पार्टी एकीकरणसँगै तत्कालीन माओवादीले मनाउँदै आएको जनयुद्ध दिवसको नाम परिवर्तन भएपनि सो दिनको सम्झनामा नेकपाले आयोजना गर्ने कार्यक्रमले जनयुद्ध र जनआन्दोलनलाई राजनीतिक रुपमा झनै स्थापति गरेको बताउँछन् पूर्व माओवादी नेता देवेन्द्र पौडेल

२३ औं जनयुद्ध दिवसमा २३ पाउण्डको केक काटेर मनाइएको यो दिवस पार्टी एकता पछि शुभकामना आदानप्रदानमा नै सकियो।

२४ औं जनयुद्ध दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भनिएता पनि उनी गएनन्। महासचिव विष्णु पौडेलबाहेक पूर्व एमालेका सचिवालयका अरु नेता नै कार्यक्रमस्थलमा सहभागी भएनन्। कार्यक्रममा माधव नेपाल, झलनाथ खनालदेखि वामदेव गौतमसम्म पुगेनन्।

यसवर्ष प्रचण्डले पार्टीको कार्यकारी अधिकार पाएका छन्। त्यसैले पूर्व माओवादी यसपटक जनयुद्ध दिवस पहिलाको जस्तै ‍औपचारिकतामा मात्रै सीमित नहोला भन्नेमा आशावादी छन्। हुन त गत वर्ष झै यसपटक पनि प्रधानमन्त्री ओली जनयुद्ध दिवसमा सहभागी हुने बताइएको छ। तर उनी आउने निश्चित छैन।

बाबुरामले भुले ती दिनहरु

जनयुद्ध सुरु गर्नु अगाडि तत्कालिन संयुक्त जनमोर्चाको नाममा प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका नेता हुन् डा बाबुराम भट्टराई।

उनलै बुझाएको ४० बुँदे माग पूरा नभएपछि सुरु भएको थियो माओवादी जनयुद्ध। अहिले भट्टराई माओवाद र कम्युनिस्ट सिद्धान्तबाट टाढिएका छन्। 'समाजवाद'को वकालत गर्दैछन्।

२०७२ सालमा संविधान जारी भएको केही समयमै भट्टराईले माक्सवादको अध्याय समाप्त गर्दै नयाँ शक्ति निर्माणको उद्घोष गरे। माओवाद र कम्युनिस्ट सिद्धान्त परित्याग गर्दै वैकल्पिक राजनीतिमा होमिएका उनले जनयुद्धका ती दिन भुले।

जनयुद्धबाटै राष्ट्रिष्य राजनीतिमा उदाएका बाबुराम प्रधानमन्त्री समेत बने। तर माओवादी त्यागेसँगै न त उनले जनयुद्ध सम्झे न माओवाद नै। न त उनले वैकल्पिक राजनीतिलाई नै अगाडी बढाउन सके।

केही समय नयाँ शक्ति पार्टीको नेतृत्व गरेका बाबुराम तत्कालिन उपेन्द्र यादवले नेतृत्व गरिरहेको संघीय समाजवादी फोरमसँग एकता गरी हाल समाजवादी पार्टीको संघीय परिषदको अध्यक्ष बनेका छन्।

भट्टराईले जनयुद्ध दिवस लगभग भुलिसकेका छन्। एमालेसँग एकीकरण गरेपछि पूर्व माओवादीले नाम नै परिवर्तन गरेर भएपनि जनयुद्ध सम्झिरहेका छन्। तर सामाजिक सञ्जालमा सन्देश लेख्ने बाहेक बाबुराम जनयुद्ध दिवसका कार्यक्रममा सहभागी हुँदैनन्। उनी जनयुद्ध दिवसको कार्यक्रममा सामेल नभएको यो चौथो वर्ष हुनेछ।

उनका सहयोगी रोशन पोखरेल भट्टराईले कुनै न कुनै रुपमा जनयुद्व दिवस सम्झिने तर औपचारिक कार्यक्रम भने नरहेको जनाकारी दिए। गत वर्ष पनि उनले ट्वीट मार्फत जनयुद् दिवस स्मरण गरेका थिए।

अरुमा विलय भएकाले मनाउनुको अर्थ नै छैन

प्रचण्ड र बाबुरामसँगै जनयुद्धमा होमिएका मोहन वैद्य किरण माओवादीबाट अलग्गिएपछि नेकपा क्रान्तिकारी माओवादीको नेतृत्वमा छन्। नेकपा कान्तिकारीले पनि जनयुद्ध दिवस मनाउने तयारी गरेको छ।

पार्टीका वरिष्ठ नेता सिपी गजुरेल विगतमा झैँ जनयुद् दिवस मनाउने तयारी रहेको बताउँछन्।

उनले भने, ’ माओका योगदानलाई स्थापित गरिराख्न हामी जनयुद्ध दिवस मनाउछौं। जनयुद्ध दिवसका अवसरमा युवाहरुको मार्च पास गर्ने तयारी छ।’

पूर्व माओवादी साथीहरुबाट टाढिएका गजुरेल जनयुद्धको उपलब्धीलाई उल्ट्याउन खोजिएको आरोप लगाउँछन्।  'त्यसलाई सच्चाउन जनयुद्ध दिवस मनाउनु आवश्यक छ। अन्य पार्टीमा विलय भएकाले त मनाउनुको के अर्थ रह्यो र’, उनले भने।

साताव्यापी कार्यक्रम गर्दै विप्लव

उता, प्रचण्डकै बाटो हिँडेका नेत्र विक्रम चन्द्र विप्लव समूहले साताव्यापी जनयुद्ध दिवस मनाउने तयारी गरिरहेको छ। 

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपनि विप्लवले जनयुद्ध दिवसअन्तर्गत फागुन १ गते देशव्यापी जनप्रदर्शन गर्ने तयारी गरेको छ। त्यसक्रममा काठमाडौँमा जनसभा गर्ने बताइएको छ भने देशका अन्य भागमा पनि जनप्रदर्शन र सभाहरू आयोजना गर्ने तयारी विप्लव माओवादीको छ।

त्यसैगरी फागुन २, ३ र ४ गते विभिन्न रचनात्मक कार्यक्रम र फागुन ५ गते भने साहित्यिक कार्यक्रमको तयारी भइरहेको छ। 

मेचीमहाकाली यात्रामा किराती

यस्तै, नेकपा माओवादी केन्द्रले भने झापाको मेची नगरमा कार्यक्रम गर्ने भएको छ। पार्टीको नेतृत्व गरिरहेका गोपाल किरातीले फागुन १ मा  मेची महाकाली पैदल यात्राको सुरुवात गर्ने बताए। पैदल यात्रा केन्द्रले सञ्चालन गर्नेछ।

उनले चैत्र २४ गते राष्ट्रिय सम्मेलन गर्ने र त्यसअघिसम्म पैदल यात्रा अभियान सञ्चालन गर्ने बताएका हुन्। सो क्रममा १० लाख जनतासँग प्रत्यक्ष भेटघाट गर्ने उनको भनाइ छ।

आफू राष्ट्रिय स्वाधिनता र समाजवादको यात्रामा रहेको भन्दै उनले माओवादीबाट अलग भएकाहरुले जनयुद्ध दिवस नमाउँदैमा १० वर्षे क्रान्ति त्यतिकै विलय नहुने तर्क गरे।

भने, 'जनयुद्ध मनाउने माओवादी केन्द्र ,मोहन वैद्य किरण र  विप्लवले मनाउने हो। प्रचण्ड बावुरामले त के मनाउलान र। उनीहरुले नमाउँदैमा जनयुद्धमा खोट लाग्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell