PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘प्रहरी हौँ’ भन्दै ठगी गर्ने मुख्यमन्त्रीका ड्राइभरसहितको गिरोह प्रहरीको फन्दामा



एम बम

‘प्रहरी हौँ’ भन्दै ठगी गर्ने मुख्यमन्त्रीका ड्राइभरसहितको गिरोह प्रहरीको फन्दामा

कैलाली : शंकास्पद रूपमा मोटरसाइकल किनबेचको बार्गेनिङ गरिरहँदा तीन जनालाई सोधपुछका लागि कैलाली प्रहरीले नियन्त्रणमा लियो। नियन्त्रणको कारण त्यति मात्रै थिएन, उनीहरूका गतिविधि निगरानी गरिरहेको प्रहरीले केही ‘क्लू’हरु भने त्यस अगाडी पनि फेला पारिसकेको थियो।

१ महिना अघिबाटै शंकास्पद कामहरू गरिरहेका तीन जनाको निगरानी बढाएको प्रहरीले गत आइतवार धनगढी उपमहानगरपालिका ३ मिलनचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरू मिलनचोकमा मोटरसाइकल बेच्नका लागि बार्गेनिङ गरिरहेका थिए।

पक्राउ परेहकाहरुविरुद्ध माघ २ गते उजुरीसमेत परेको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार माघ २ गते धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बडहरा घर भई मिलन चोकमा रिक्सा, साइकल मर्मत पसल सञ्चालन गरिरहेको चन्द्रभान शर्माको पसलबाट उनीहरूले २ हजार ५ सय रकम असुली गरेका थिए।

‘शुरुमा उनीहरूले ५ हजार माग गरेको रहेछन्’, बस्नेतले भने, ‘तर शर्माले सापटी मागेर २ हजार ५ सय मात्रै उनीहरूलाई बुझाउन सके छन्।’

शर्मासँग उनीहरू रकम असुल्नुको कारण भने भारतीय नम्बर प्लेटको मोटरसाइकल थियो। उनले साथीको मोटरसाइकल ल्याएर आएका र बिरामी परेर पुर्‍याउन नसकेपछि उक्त ठगी गिरोहले फाइदा उठाएको प्रहरीको अनुसन्धानले देखाएको छ।

‘शर्मालाई आफूहरू जिल्ला प्रहरी कार्यालयबाट आएको भनेर उक्त गिरोहले ५ हजार रुपैयाँ माग गरेको पाइएको छ,’ बस्नेतले भने।

त्यसपछि शर्माले उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन्। प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेहकाहरुले अन्य थुप्रै ठगीका काम चलाएको समेत पाइएको छ। उनीहरू नक्कली प्रहरी, आर्मीलगायतका व्यक्ति हौँ भन्दै ठग्दै हिड्ने गरेको पाइएको हो।

पक्राउ पर्नेमा बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ घर भई धनगढी उप–महानगरपालिका वडा नम्बर ७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर बस्ने ३५ वर्षीय गौरव हमाल र कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर ५ घर भई धनगढी उप महानगरपालिका वडा नम्बर १ बस्ने ३३ वर्षीय कृष्ण कुमार सिजापति रहेका छन्।

पक्राउ पर्ने मध्यका सिजापति सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सवारी चालक समेत हुन्। उनले घाँटीमा उक्त कार्डसमेत झुन्ड्याएर प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँ भन्दै ठगी गर्दै आएका थिए।

उक्त गिरोहमा अन्य व्यक्तिहरूको समेत संलग्नता र ठूलै ठगी कारोबार गरेको हुनसक्ने प्रहरीको आशंका छ। अन्य व्यक्तिको खोजी प्रहरीले शुरु गरेको छ। सवारी चालक अनुमति पत्र बनाइदिने, मोटरसाइकलको कारोबार चलाउने र प्रहरी तथा अन्य कर्मचारीको सरुवा बढुवा गरिदिने भनेर समेत ठगी गरेको पाइएको बस्नेतले बताए। 
सिजापतिले आफ्ना परिवारका सदस्यलाई पनि आफू प्रहरी निरीक्षकनै भएको बताउँदै आएका खुलेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने उनी बहालवाला चालक नभएको दाबी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell