पुतलीसडक हुँदै प्रदर्शनी मार्गतर्फ लाग्ने चोक वा आसपासका सडकहरुमा भेटिन्छिन् गोमती अधिकारी। अधिकारी ट्राफिक प्रहरी हुन्। हरेक दिन सडक सुरक्षाका लागि सवारी चालकलाई निर्देशन दिनु र ट्राफिक व्यवस्थापनमा खटिनु उनको जिम्मेवारी।
निकै व्यस्त देखिन्छिन् उनी। अहिले सडकहरुमा ट्राफिक लाइट फिट भएका छन्। तर पनि खटन उस्तै। किनकि आम मानिसलाई ती लाइटको बानी परेको छैन। पहिले 'यता जानु', 'उता जानु' भन्दै निर्देशन दिए हुन्थ्यो। अहिले चालकलाई बाटोसँगै ट्राफिक लाइटतर्फ पनि इशारा गर्नुपर्छ।
अधिकारी विगत छ वर्षदेखि प्रहरी सेवामा कार्यरत छिन्।
निलो सर्ट, निलै पाइन्ट र सेतो रङको टोपी- सुरुवातमा त प्रहरीको पोशाकले आकर्षित गरेको थियो उनलाई। त्यही आकर्षणले प्रहरीमा जागिर खाने निर्णयसम्म डोहोर्यायो उनलाई।
त्यही पहिरनमा आफू पहिलोपटक सडकमा उभिँदा बुझिन्- जति आकर्षक देखिन्छ, त्यति सहज होइन रहेछ पेशा।
सडकको भीड, अस्तव्यस्तता, धुलो र धुँवा। त्यस बाहेक अप्ठ्यारो निम्त्यायो भावनात्मक व्यवहारले। पहिलोपटक सडकमा ओर्लँदा आँखै अगाडि कुनै चालकले गल्ती गर्दा पनि उनलाई त्यो गाडी रोक्न असजिलो लाग्थ्यो। कसैलाई रोकिहाले केही बेरमै 'विचरा' महसुस गर्थिन्। पठाइदिउँ कि भन्ने सोच्थिन्।
'सुरुमा निकै गाह्रो लाग्थ्यो। अहिले त बानी पर्यो। अब त गल्ती गर्नेलाई कहाँ छाड्नु? झन् कारबाही गरुँ गरुँ लाग्छ', उनले हाँस्दै भनिन्।
गल्ती गर्नेलाई कारबाही गर्नु सजिलो काम भने होइन। कारबाही गर्दा तथानाम गाली गर्नेहरुको फेला परेकी छिन् उनी। अनि कति त पद र पैसाको पावर लगाएर छुट्न समेत खोज्छन्। सुरुसुरुमा यस्ता व्यवहार देखाउनेहरुसँग 'डिल' गर्न डगमगाउँथिन्। अब त आफ्नो जिम्मेवारीलाई शतर्क भएर पूरा गर्न लागिपरेकी छिन्। भन्छिन्,'हामीले मिस बिहेभ नगर्ने हो। कसैले गल्ती गर्छ भने उनीहरुलाई पनि नछाड्ने हो। नियम कडा छ।'
त्यो कडा नियम कसमा लागू गर्नुपर्छ अब त परबाटै थाहा पाउँछिन् गोमती। लाइसेन्स, बिलबुक जस्ता कागजपत्र नहुने चालक ट्राफिकको अगाडि परेपछि डराइहाल्ने उनको अनुभव छ। 'चलाएको तरिका र हाउभाउले पनि धेरै कुरा थाहा दिन्छ', उनले सुनाइन्।
अहिले उपत्यकाका प्राय: मुख्य चोकमा ट्राफिक लाइटको व्यवस्था छ। तर अधिकांश चालकले लाइट नै नहेर्ने र हतारमा कुद्न खोज्ने गरेको अनुभव उनले गरेकी छिन्।
'सुरुसुरु भएर पनि होला। लाइट नै हेर्दैनन् चालकहरु।' चालकसँगै पैदलयात्री पनि ट्राफिक लाइटप्रति अभ्यस्त भइसकेका छैनन्। पछिपछि बानी पर्लान्' अपेक्षित भावमा उनले भनिन्।
अधिकारी दिनको दुइसिफ्ट सडक सुरक्षामा खटिन्छिन्।
डिउटीमा आउँदा सफा युनिफर्ममा आउने उनी फर्किने बेला धुलै लुगामा कोठा पुग्छिन्। त्यसैले दैनिकजसो लुगा धोइरहनु पर्छ। गर्मी महिनामा त जसोतसो लुगा सक्छ। तर जाडोको बेलामा त सुक्दै सुक्दैन। त्यसैले ड्युटीमा जाँदा कहिलेकाही गाह्रो हुने उनी बताउँछिन्।
एसएलसी पास गर्नासाथ सेवा प्रवेश गरेकी अधिकारीले प्रवीणता प्रमाणपत्र तह (आइए) सम्मको अध्ययन गरेकी छिन्। पाल्पाको मिस्ति गाँउपालिका १ की अधिकारीले राधाकृष्ण उच्च माविबाट अध्ययन पूरा गरिन्।
थप अध्ययन गर्न इच्छा थियो उनको तर पढाइलाई निरन्तरता दिन सकिनन्। 'पढ्नका लागि समय निकाल्नै गाह्रो छ' अधिकारीले भनिन्।
अधिकारीले २ वर्ष अघिमात्रै विवाह गरिन्। उनका श्रीमान् सेनामा कार्यरत छन्।
चक्रपथ परिक्रमा लगाउँदै आएका कोही गाडी कलंकीतर्फ जाने त कोही नयाँ बसपार्क। कोही सितापाइलातर्फ मोडिँदै छन्। व्यस्त सडकमा सवारीसँगै पैदलयात्रीको आवतजावत भइरहेको छ। सडक बीचमा उभिएर ट्राफिक कन्ट्रोल गर्ने प्रयास गरिरहेकी छिन् जागेश्वरी चौधरी।
चौधरीका हातका सेता पञ्जाको रंग फेरिदिएको छ धुलोले। बिहान आउँदा लगाएका सफा सेता पञ्जा धुलोले मैलो देखिएको छ। उनले लगाएको निलो रंगको ज्याकेटमा पनि उस्तै धुलो। उनले लगाएको मास्कले धुलोलाई रोक्न सक्दैन। तर ती सबै कुराको कति पनि प्रवाह नगरी जिम्मेवारीमा खटिइरहेकी छिन् उनी।
स्कूल पढ्दादेखि नै प्रहरी सेवामा आवद्ध हुने इच्छा थियो उनको। एसएलसीपछि पनि त्यही रहरले पच्छयाइरह्यो। त्यसैले १२ कक्षा पढ्दापढ्दै चौधरी नेपाल प्रहरीमा होमिइन्। त्यसपछि उनको पढाइ रोकियो।
'घरका कोही पनि यो प्रहरीमा छैनन्, तर मलाई रहर थियो। त्यसैले यता लागेँ, यसैकारण पढाइ बीचैमा अड्कियो,' उनले भनिन्।
इच्छा प्रहरी बन्ने। त्यसैले २२ वर्षको उमेरमा नै प्रहरी सेवामा प्रवेश गरिन् चौधरी। तीन महिने तालिम सकाइन्। तर उनको दरबन्दी काठमाडौंको ट्राफिक कार्यालयमा भयो। जुन उनले सोचेकी थिइनन्। 'प्रहरीको जागिर मन पर्थ्यो तर ट्राफिक हुन्छु भन्ने चाँही लागेको थिएन', हाँस्दै चौधरीले सुनाइन्।
कुराकानीको बीचमै चौधरी फेरि सडकको बीचमा पुगिन्। सिट्ठी फुकिन्। सडकमा जाम हुन नदिन उनले सवारी साधनलाई एकतर्फी रुपमा रोक्दै अर्कोतर्फ रोकिएका गाडीलाई जान निर्देशन दिइन्।
नौ वर्ष भइसकेको छ उनी यस क्षेत्रमा खटिएको। तर केही पुरुष चालकले भने महिला भएकै कारण नटर्ने उनको अनुभव छ।
'सडकमा खटिएको यतिका वर्ष भयो, तर अझै पनि कागजत माग्दा पुरुष चालकले महिला भएकै कारण देखाउँदैनन् जस्तो लाग्छ,' उनले गुनासो गरिन्, 'आज पनि एउटाले लाइसेन्स देखाउन नमानेपछि पुरुष ट्राफिक बोलाएँ। उनले आएर लाइसेन्स मागे पछि बल्ल चालकले कागजात देखाए।'
ट्राफिक प्रहरी दिनभरि धुलो खाएर सडक अनुशासन पालना गराउनमा खटिन्छन्। त्यसैले सवारी चालकलाई दुःख दिनकै लागि भनेर ट्राफिक सडकमा नउभिएको उनले स्पष्ट पारिन्। सवारी चालकले आफ्नो अधिकारसँगै कर्तव्य भुल्न नहुने चौधरीको भनाई छ।
दिनदिनै सडकमा खटिँदा धुलोधुँवाका कारण सबैभन्दा गाह्रो हुने सडकमा रहने ट्राफिकलाई नै हो। त्यसैले ड्युटीमा खटिँदा कहिलेकाँही स्वास्थयमा समस्या देखापर्ने उनको अनुभव छ। केही दिनअघि मात्रै आँखामा समस्या देखिएपछि आँखा जचाउँन अस्पताल पुगेकी थिइन् उनी।
धुलोका कारण आँखामा समस्या आउने भएकाले अहिले सबै ट्राफिक प्रहरीलाई कार्यालयले कालो चस्मा उपलब्ध गराएको छ। यद्यपि, ती चश्माले धुलो छेक्न भने सक्दैनन्।
चौधरी दुई वर्षीया छोराकी आमा हुन्। काखे छोरा छाडेर हरेक दिन सडक सुरक्षामा खटिन्छिन्। उनका श्रीमान् सेनामा कार्यरत् छन्। काठमाडौंमा कोठा भाडामा लिएर बसेका छन् उनीहरु। दुवै जागिरे भएपछि छोरालाई कसले हेर्ने? कामदारको जिम्मा लगाएर ड्युटीमा निस्किन्छिन् उनी। तर, आमाको मन न हो सन्तान घरमा छाडेर ढुक्कले काम गर्न कसरी सक्नु?
'आफू ड्युटीमा हुँदा पनि मन चाहिँ नानी भएतिरै हुन्छ', उनले सुनाइन्। तर आफ्नो जिम्मेवारीबाट पछि भने हट्दिनन्। किनकि उनलाई थाहा छ आफूजस्तै अन्य महिला ट्राफिक प्रहरीहरुको आ-आफ्नै कथा, आ-आफ्नै व्यथा।
तिलगंगा चोकमा खटिएकी राधाकुमारी चन्दको दैनिकी पनि जागेश्वरीको भन्दा धेरै भिन्न छैन। दैनिक सडकमा खटिन्छिन् उनी। पढेर शिक्षिका बन्ने सपना थियो कञ्चनपुर महेन्द्रनगरकी चन्दको। तर आर्थिक अभावका कारण सपना थाती राख्नु पर्यो। कमाउन थाल्नु पर्यो। पढाउने सपना अधुरै रह्यो। कक्षा १० सम्म पढेर नेपाल प्रहरीमा भर्ती भइन् उनी।
'पढ्ने मन त थियो। तर के गर्नु घरको अवस्थाले गर्दा बुबाले धेरै पढाउन सक्नुभएन', उनी घरको अभावबारे सुनाउँछिन्, 'कमाउनु पर्ने भएकाले जागिरको खोजीमा थिएँ। त्यसैले पुलिसमा लागेँ।'
उमेरले २४ वर्षकी चन्द तीन वर्ष भयो नेपाल प्रहरीमा भर्ती भएको। गत वर्षबाट मात्रै हो सडकमा खटिएकी।
पहिलोपटक थापाथली चोकमा उभिएर चार दिशाबाट आउने गाडीहरुलाई निर्देशन दिँदै, सम्हाल्नु परेको सम्झन्छिन् राधाकुमारी। सुरुवाती दिनमा सकस महसुस गरिन्। केही डर पनि थियो। गाडी चालक पनि उस्तै अटेर गर्थे। केही दिन त गाडी रोक्न र कारबाही गर्न धौधौ पर्यो उनलाई।
'तिनीहरुले पनि थाहा पाउँदा हुन् नि यिनीहरु नयाँ हुन् भन्ने। त्यसैले गाडीनै नरोक्ने, स्पिडमा बढाउने गर्थे,' उनले सुरुवाती दिन सम्झिँदै भनिन्।
सडकमा खटिएको एक वर्ष भइसक्दा पनि माहोल सहज भने बनिसकेको छैन। दिउँसो गाडीको चाप बढ्छ। त्यस्तोमा ट्राफिक नियम मिच्नेहरु धेरै हुन्छन्। नियम मिच्नेसँग कागजपत्र माग्दा देखाउँदैनन्।
'सानो तिनो गल्तीमा पनि छाड्नु हुन्न? भन्दै उल्टै प्रश्न पो गर्छन्', उनी समस्या सुनाउँछिन्,'छाड्दा यिनीहरु केही गर्न सक्दैनन् भन्ने खालको खिसिट्युरी गर्छन्। छाडे पनि नछाडे पनि ड्राइभरको गाली ट्राफिकलाई नै।'
विशेषगरी भाडाका सवारी साधनको ढोका खुला राख्ने र ओभर स्पिडमा हाँक्नेलाई चिट काट्छिन् उनी। कसैलाई केहीबेर होल्ड गराउँछिन्। कागजपत्र जाँच गर्छिन्। केही भने रोक्ने संकेत दिँदादिँदै गाडीको रफ्तार बढाउँछन्। त्यस्ता गाडीको नम्बर १०३ मा फोन गरेर टिपाउँछिन्।
पछिल्लो समय सामाजिक सञ्जालमा ट्राफिक प्रहरी खटिएको, उनीहरुले कागजपत्र जाँच गरेको, कहिले काहीँ चालकसँग भनाभन भएको आदि भिडियो तथा फोटोहरु भाइरल हुने गरेका छन्। यस्तो ट्रेन्ड राधाकुमारीलाई चित्त भने बुझेको रहेनछ।
सयौँ मानिस आवत् जावत् गर्ने सडकमा अनेकौँ मनस्थिति, बोली र व्यवहार भएकासँग 'डिल' गर्नुपर्छ। दिनभर भेटिने फरक-फरक प्रवृत्तिका सवारी चालकमध्ये केहीसँग कुरा मिल्दैन। कहिलेकाहीँ गल्ती गर्नेको बोली व्यवहारले प्रभाव पार्छ। नम्र बने, माफी मागे- अबदेखि गल्ती नदोहोर्याउन सम्झाउँदै छाडिदिन्छिन्। कहिले गल्ती गर्ने नै पेल्न खोज्छन्। झगडा गर्न तम्सन्छन्। बोल्दै जाँदा स्वर चर्को हुन्छ।
आखिरमा ट्राफिक प्रहरीतर्फ औँला सोझ्याउँदै भिडियो सार्वजनिक गरिन्छ।
चन्द भन्छिन्, 'त्यसरी झगडा परेको दिन दिनभर नै बेचैनी हुन्छ। कस्तो अपजसी काम भन्ने महसुस हुन्छ। कहिलेकाहीँ त लाग्छ, पढेको भए अरु कुनै काम गर्दै हुन्थेँ। यो सबै सामना गर्नु पर्दैनथ्यो भन्ने लाग्छ।'
न घाम, न पानी – जिम्मेवारीबाट पन्छिन पाउँदिनन्। भन्छिन्, 'कहिलेकाँही त बर्सादीले पनि पानी छेक्दैन।'
पछिल्लो समय तिनकुनेदेखि तिलगंगासम्मको सडकबीच महिला ट्राफिक प्रहरी बाक्लै देखिन्छन्। कोही विमानस्थल परिसरबाट निस्कने सवारीलाई दिशा निर्देशन गर्दै हुन्छन्, अनि केही गौशलातिरबाट वा कोटेश्वरतिरबाट आवत् जावत् गर्ने गाडीहरुलाई इशारा दिइरहेका हुन्छन्।
तीमध्ये एक हुन् गोर्खाकी स्थानीय सुविना श्रेष्ठ। श्रेष्ठ विगत दुई वर्षदेखि प्रहरीमा आवद्ध छिन्। एक वर्ष भयो उनी ट्राफिक बनेर खटिएको चाहिँ।
सडकमा उनको पहिलो ड्युटी कोटेश्वर चोक। त्यसपछि केही समय गौशलामा उनको ड्युटी पर्यो। हाल भने त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेटिन्छिन् उनी। विमानस्थलको गेट अघिल्तिर गाडीको चाप केही बढी नै हुन्छ। तर गाडीको चाप हुनु उनका लागि चुनौती भने होइन।
एकवर्ष अघि कोटेश्वरको व्यस्त चोकमा विचमा उभिएर ट्राफिक प्रहरी हुनुको जिम्मेवारी निभाउनु पर्दा नै चाल पाइन्- जतिसुकै चाप र अस्तव्यस्तता बढे पनि यो आफ्नो काम हो। सोच्थिन्- आज गाडीको चाप धेरै भएको ठाउँमा छु। गाह्रो छ। भोलि केही सहज ठाउँमा परुँला।
उनले भनिन्, 'ड्युटी परेको स्थानले काम सहज वा असहजमा भन्ने कुरा निर्धारण गर्छ।'
हाल जवान रहेकी उनको इच्छा प्रहरी निरीक्षक बन्नु हो। त्यसैले कामसँगै अध्ययनलाई पनि निरन्तरता दिइरहेकी छिन्। भन्छिन्, 'पढ्नका लागि क्याम्पस जाने समय त पाइँदैन तर स्वअध्ययन गरेरै भए पनि पढिरहेको छु। किनकि माथिल्लो तहमा भिड्न पनि पढाइनै चाहिन्छ नि त।'
सुबिना जस्तै इन्स्पेक्टर बन्ने सपना देखेकी छिन् बुटवलकी सिमरन रायले। त्यसैले ड्युटीसँगै पढाई उनको ध्यानको विषय हो। उनी नेपाल प्रहरीमा भर्ती भएको पाँच वर्ष भइसक्यो। प्रहरी जवानको जिम्मेवारी निभाउन पोखरा र गोर्खामा खटिइन्। गत भदौदेखि हो ट्राफिक बनेकी। ट्राफिक बन्नु उनको सपना थियो। बाल्यकालदेखि नै गाडीबाट सडकमा सिट्ठी फुक्दै गरेको अवस्थामा देखिने ट्राफिक प्रहरीको पोशाकले उनलाई निकै आकर्षित गर्थ्यो।
'ट्राफिको ड्रेस नै मलाई मन पर्छ। सेतो टोपी, निलो टाइ, हातमा सेतै पञ्जा, आकाशे रङको सर्ट र निलो पाइन्ट', रायले ट्राफिक प्रहरी बन्न चाहनुको कारण बताइन्।
जब आफूले कल्पिएको पोशाकमा टाठिएर निस्किइन् तब उनलाई निकै गर्विलो महसुस भएको थियो। तर तालिम अवधिमै, सडकमा आत्मविश्वाससहित निस्किएकी उनलाई गाडीहरु ओहोरदोहोर गरिरहेको बीचमा उभिन डर लाग्यो।
'जाम खुलाउनु, सडक व्यवस्थापन गर्नु यस्तै यस्तै नै त हुन् हाम्रो मुख्य काम। त्यसैले डर, रिस, दुर्वचन सबै सहनुको विकल्प छैन,' हाँस्दै उनले भनिन्।
उपत्यकाको सडको अस्तव्यस्तताबाट परीक्षाको समयमा छुट्टी लिन्छिन् उनी। बुटवलबाटै शिक्षा संकायमा स्नातक तेस्रो वर्षको परीक्षा दिने तयारीमा छिन्। पढाई पूरा गरेपछि इन्सपेक्टरको बर्दी लगाउने सपना पूरा गर्नुछ।
यी पात्रहरुले उपत्यकाभरीका १४१ जना महिला ट्राफिक प्रहरीको पृष्ठभूमि, जिम्मेवारी, सपना र समस्याको प्रतिनिधित्व गर्छन्। जो विभिन्न चोक अनि गल्लीहरुमा खटिइरहेका भेटिन्छन्।