PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मुनाको मृत्यु : सिसिटिभीमा कैद भएको त्यो प्रतिविम्बित दृष्य...



सविन ढकाल

मुनाको मृत्यु : सिसिटिभीमा कैद भएको त्यो प्रतिविम्बित दृष्य...

काठमाडौँ: 'खै के भन्ने? एउटा अँध्यारो कोठा जस्तो देखियो। उसले गरेको हो कि होइन केही भन्न सकिनँ।'

आफ्नो छोराले पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या गरेको सिसिटिभी फुटेज हेरेर निस्किएपछि भन्दै थिए जानकी चौधरी। बुधबार मध्याह्न महानगरीय प्रहरी परिसर ललितपुर पुगेका थिए उनी।

सोमबार बिहान ११ बजेर २० मिनेटमा पूर्वसचिव कार्की सानेपास्थित खरिबोट नजिकै रहेको घर पुग्दा भयावह दृष्य देखे। घरमा काम गर्ने कामदार विजय चौधरी र मुना भुईँमा लडिरहेका थिए। चौधरीको घाँटीमा डोरीको पासो थियो भने मुना रगतमा लतपत।

आत्तिँदै छिमेकी र प्रहरीलाई बोलाएपछि मुनालाई नजिकै रहेको स्टार हस्पिटल लगियो तर त्यहाँ पुग्दा नपुग्दै उनको सास गइसकेको थियो। चौधरी पहिले नै मरिसकेका थिए।

घटना कसरी भयो? कसले गरायो? अनि किन?

दुबै जनाको ज्यान जानुले शंकामाथि शंका उठाइरहेको थियो। घटना भएको ६ घण्टा पनि बित्न नपाउँदै प्रहरीले मुनाको हत्या र चौधरीको आत्महत्या ठहर्‍यायो। कामदार चौधरीले मुनाको हत्या गरे अनि आत्महत्या।

'हत्या नै भएको देखिन्छ। युवकले नै हत्या अनि आत्महत्या गरेका खुल्छ', महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राई भने।

बन्द घरभित्रको कहालीलाग्दो घटना। केही घण्टामै हत्या र आत्महत्याको निर्क्योलमा कसरी पुग्यो प्रहरी? के थियो त्यस्तो 'क्लू'?

प्रहरीको एउटै उत्तर - सिसिटिभी फुटेज।

बुधबार त्यही फुटेज देखेपछि विजयका बाबु जानकी अलमलमा परेका थिए।

प्रहरीको 'क्लु' सिसी क्यामरा

एक रोपनीभन्दा ठूलो क्षेत्रफलमा बनेको नयाँ छ कार्कीको, साढे दुई तले घर।  घरभित्र छिर्ने एउटामात्र मूलगेट। घरमा कार्की दम्पती, एक दश वर्षीय छोरा र कामदार चौधरीमात्र। एक छोरी अमेरिका अर्की बेलायत। कार्कीको घरमा पार्ट टाइमर चालक छन्। जो काम पर्दामात्र आउने। कार्कीका छोरालाई स्कुल पुर्‍याउन र फिर्ता ल्याउने चाहिँ उनको नियमित काम। त्यसदिन ती ड्राइभर आए छोरालाई स्कुल पुर्‍याएर गाडी घरमै ल्याए अनि आफ्नो बाटो लागे।

पूर्वसचिव कार्कीको घरको गेटदेखि नै सिसी क्यामरा राखिएको छ। त्यही क्यामरा जसले भान्छामा सोमबार भएको दृष्यलाई कैद गर्‍यो। प्रहरीले त्यही क्यामराको फुटेज हेर्‍यो र निचोड निकालिहाल्यो।

भान्छामा क्यामरा जोडियो? धेरैले यस्तै प्रश्नमा लख काटिरहे।

खासमा सिसी क्यामरा भान्छामा होइन, भान्सा बाहिर रहेछ। जसले सिसामा देखिएको प्रतिविम्वलाई कैद गर्‍यो। भान्छा बाहिरको सिसी क्यामराले कैद गरेका दृष्यबाट नै घटनामा संलग्न देखिएको एसएसपी राईले बताए। बाहिर जोडेको सिसी क्यामराले भित्रको दृष्य चाहिँ कसरी कैद गर्‍यो?

'भित्रको दृष्य कैद भएको होइन। अरु सिसिटिभीको फुटेज जस्तो छैन,'एसएसपी राईले फुटेजबारे भने, 'सिसिटिभीमा सिसामा देखिएको प्रतिविम्वबाट घटना खुल्छ। तर, के के भयो पूरै चाहिँ देखिन्न।'

बन्द घरभित्र घटना हुनु, घटना हुनुको समय आसपासमा मूल गेटबाट अन्य व्यक्ति प्रवेश नगर्नु र सिसिटिभीमा युवकले डोरीले आक्रमण गरेको देखिनुलाई नै घटनामा तेस्रो व्यक्तिको प्रत्यक्ष संलग्नता नभएको प्रहरीले ठम्यायो।

त्यसो त सिसिटिभी क्यामरालाई छलेर कोही भित्र छिर्न सक्दैन भन्ने तर्क चाहिँ गर्न मिल्दैन। कोही त्यसैगरी त भित्र छिरेको थिएन?

'सिसिटिभि फुटेजलाई मात्र होइन अन्य आधार पनि खोजेका हौं। घटनास्थल, भेटिएका प्रमाण, हत्यामा प्रयोग भएका सामग्री समेत केलाएका छौँ,' एसएसपी राईले भने।

प्रहरीले प्रमाण मानेको फुटेज विजयका बुबा जानकी चौधरीले पनि हेरेका छन्। उनलाई लागेको थियो - फिल्ममा जस्तै प्रस्ट देखिन्छ। तर, भएन त्यसो।

के छ क्यामरामा कैद दृष्य?

मुनाको हत्या अनुसन्धान अहिले महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय अपराध महाशाखाको टोलीले हेरिरहेको छ। परिसरको टोलीलाई प्राविधिक पक्षमा महाशाखाले सहयोग गरिरहेको हो। कार्कीले दुई वर्षअघि घरमा चोरी भएपछि सुरक्षाका लागि क्यामरा जडान गरेको प्रहरीमा बयान दिएका छन्।

बिहान १० बजेर ८ मिनेटमा युवक चौधरीले कार्कीलाई पछाडिबाट डोरीले लडाएको सिसिटिभी फुटेजमा अस्पष्ट रुपमा देखिएको छ। त्यसपछि उनी हराएका छन्। क्यामराको निगरानीभन्दा बाहिर पुगेका छन्। त्यतिखेर भुईँमा लडेका कारण फुटेज नदेखिएको प्रहरीको तर्क छ।

प्रहरीले घटनामा प्लास्टिकको पिर्काको टुक्रा, धारा नजिकै लत्पतिएको रगतलाई अनुसन्धानको निस्साको रुपमा लिएको छ। युवकले डोरीले घाँटीमा कसेर लडाएपछि पिर्काले टाँउकोमा हानेको प्रारम्भिक अनुमान प्रहरीको छ। 'भाच्चिएको पिर्का सँगै भेटिएको छ। रगत लागेको छ त्यसमा। त्यसैले हानेको हुनुपर्छ,'महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले भने।

त्यसपछि सिसिटिभीमा झल्याकझुलुक भित्तामा टाउको ठोकेको देखिन्छ।

करिब एक घण्टा मुना र विजयबीच संघर्ष भइरहँदा घरमा कोही थिएनन्। त्यस समयमा कोही पनि घरमा आएको सिसिटिभीमा देखिन्न। आएको भए घटनाले अर्को रुप लिने सम्भावना पनि रहन्थ्यो।

'हामीले अरु कामदारसँग सोधपुछ गरेका छौँ। उनीहरुबाट केही खुल्न सकेको छैन,' परिसरकी प्रवक्ता एसपी दुर्गा सिंहले सुनाइन्।

पूर्वसचिव कार्की भने घटनाका दिन बिहानै पूजा गर्न भन्दै पशुपति निस्किएको थिए। घरमा बिहान अर्का एक जना ब्यक्ति समेत प्रवेश गरेको देखिएको छ। प्रहरीले ती व्यक्तिसँग पनि सोधपुछ गरेको छ। उनी घरमा पानीको धारा बनाउन आएको देखिएको छ।

'एक जना व्यक्ति आएको देखिन्छ। त्यतिखेर के हो भनेर हामीले अनुसन्धान गर्‍यौँ। उनी प्लम्बर रहेछन्। घरबाहिर नै काम गरेर फर्किएको देखियो,'एसपी दुर्गा सिंहले भनिन्।

चौधरीले घटना हुनुभन्दा अगाडि घरमा पालिएको कुकुर समेत छाडेको सिसिटिभीमा देखिएको छ।

प्रहरीले भने झै युवकले कार्कीको हत्या नै गरेको भए पनि आफूले भने केही समयपछि आत्महत्या गरेको देखिएको छ।

मुनाको हत्यापछि विजयले आफ्नो हात पखाल्नुको साथै पुछेको प्रमाण फेला परेको छ। प्रहरीले रगत पुछिएको कपडा समेत जफत गरेको छ त्यसले पनि हत्याको प्रमाण बलियो बनाएको छ।

घटना किन त?

अहिलेसम्म कार्कीको हत्या कारण खुलिसकेको छैन। 'हामी पनि घटनाको मोटिभ के हो भन्नेमात्र खोजिरहेका छौँ। अहिलेसम्म केही भेटिएको छैन,' एसएसपी राईले भने।

चौधरी सात वर्षदेखि कार्कीको घरमा काम गर्दै आएका थिए।

कतै घरमा काम गर्दा गाली खाएकाले त्यसकै रिसले हत्या त गरेका होइनन्? प्रश्न चाहिँ गर्न सकिन्छ। तर, मृतकका बुबा जानकी चौधरी छोरोको व्यवहार त्यस्तो नभएको र घरबेटीबारे कहिल्यै गुनासो नगरेको सुनाए।

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी यस्ता घटनाहरु तत्काल आवेग र रिसमा हुने गरेको बताउँछन्।

'कुनै रिस र इगो मनमा भए मानिसले हत्या गर्छ। जब उसलाई आफूले गल्ती गरेँ र अब भाग्न सक्दिनँ भन्ने रियलाइज हुन्छ, आत्महत्या गर्ने गर्छ,' ठकुरीले भने।

तर, कार्की प्रकरणमा भने मोटिभ अनुत्तरित नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell