
काठमाडौं: शहीद स्मारक 'ए' डिभिजन लिगको अन्तिम चरणको पहिलो खेलमा नेपाल पुलिस क्लबले फ्रेन्डस क्लबमाथि ३-० को सहज जित हात पारेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसलाई जिताउन जुमानु राईले ह्याट्रिक गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसका लागि राईले तीनै गोल दोस्रो हाफमा गरेका थिए। दोस्रो हाफमा हेमन्त श्रेष्ठको स्थानमा सबटिट्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेका राईले ४९ औं मिनेटमा पुलिसका लागि खाता खोलेका थिए। फेरि ५६ औं मिनेटमा अर्को गोल थप्दै राईले पुलिसको अग्रता दोब्बर बनाए। खेलको ८५ औं मिनेटमा फेरि अर्को गोल थप्दै राई ह्याट्रिक गर्न सफल भए।
जितसँगै नेपाल पुलिस क्लबले शीर्ष ६ मा स्थान शुरक्षित गरेको छ। नेपाल पुलिसले ६ जित र २ बराबरी खेल्दै २० अंक जोड्दै पाँचौं स्थानमा छ। पुलिसको निकटतम प्रतिद्वन्दी जावलाखेल युथ क्लबको १९ अंक छ। जावलाखेलले एक खेल कम खेलेको छ। जावलाखेलले अर्को खेलमा जित निकालेको खण्डमा पनि पुलिस शीर्ष ६ टिममा भने कायम रहने छ।