PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विश्वकप यात्रामा नेपालको पहिलो खुड्किलो : घरेलु मैदानमा पहिलो ओडिआइ जितदेखि थपिएका चुनौतीसम्म



मुकुन्द घिमिरे

विश्वकप यात्रामा नेपालको पहिलो खुड्किलो : घरेलु मैदानमा पहिलो ओडिआइ जितदेखि थपिएका चुनौतीसम्म

काठमाडौं : बुधबार आइसिसी विश्वकप लिग २ अन्तर्गतको नेपाल ओमन र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सकियो। नेपालले सिरिजमा २ खेल जित्दै औसत प्रदर्शन गर्‍यो भने ओमनले क्लीन स्वीप गर्दै लिग तालिकामै शीर्ष स्थानमा उक्लियो। अर्कोतर्फ सिरिज अगाडी शीर्षस्थानमा रहेको अमेरिका जितविहीन रहँदै दोस्रो स्थानमा झर्‍यो। नेपाल भने २ खेल जितेर तालिकामा पुछारबाट दोस्रो स्थानमा पुग्यो।

यो सिरिजमा सम्झन लायक केही पक्षहरु छन्। जसले पक्कै पनि नेपाली क्रिकेटमा महत्व राख्ने छ।

घरेलु मैदानमा पहिलो ओडिआई

नेपालले एक दिवसीय  खेल 'ओडिआइ' स्टाटस पाएको दुई वर्ष पुग्यो। सन् २०१८ को मार्चमा ओडिआइ राष्ट्र बनेको नेपालले त्यसपछि नेदरल्यान्डससँग पहिलो सिरिज खेलेको थियो। पहिलो एक दिवसीय सिरिजमा नेपालले बराबरी खेल्यो।

त्यसपछि युएइसँग पनि नेपालले ओडिआइ खेल्यो। तर, घरेलु मैदानमा  नै एक दिवसीय खेल खेल्न भने नेपाली क्रिकेट टोलीले २ वर्ष पर्खनु परेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) निलम्वनमा रहँदै नेपाल ओडिआइ नेशन बनेको थियो। निलम्वन फुकुवासँगै पहिलो पटक घरेलु मैदानमा पहिलो ओडिआइ खेल्ने अवसर नेपालले मौका पायो।

माघ २२ गते कीर्तिपुरमा भएको पहिलो खेल नेपाल ओमनसँग पराजित भयो। दोस्रो खेलमा अमेरिका माथि जित निकाल्न नेपाल सफल रह्‍यो। यससँगै घरेलु मैदानमा नेपालले पहिलो ओडिआइ जित हासिल गर्‍यो।

'सशर्त' निलम्वनबाट फुकुवा भएको क्यानले पनि आफूलाई सिरिज आयोजना गरेर प्रमाणीत गर्ने अवसर पायो।

कुशल मल्लको अर्धशतक

त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको पहिलो खेलले नेपाली मात्र नभएर विदेशी सञ्चारमाध्यममा पनि राम्रै चर्चा पायो। कारण थियो कुशल मल्लले बनाएको कीर्तिमानी अर्धशतक।

मल्लले ५१ बलमा ५० रन बनाउँदै नेपालको खस्कँदो पारीलाई त सम्हालेका थिए। यससँगै उनी ओडिआइ इतिहासमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने। त्यो पनि डेभ्यु खेलमै।

अझ रोचक त यो छ भने रोहित पौडेलको स्थानमा आएका मल्लले पौडेलकै रेकर्ड तोडेका थिए।

फोटो : CAN

मल्‍लले ५० रन बनाउँदा आफ्नो ब्याट दर्शक सामु उठाएनन्। कारण थियो – खेलमा अझै ठूलो स्कोर बनाउने महत्वकांक्षा। उनको त्यही अर्धशतकले नेपाललाई जित दिलाउन सफल भयो।

रोहित पौडेलले १६ वर्ष १ सय ४६ दिनको हुँदा बनाएको ओडिआइ रेकर्ड कुशल मल्लले १५ वर्ष ३ सय ४० दिनको उमेरमा तोडे। रोहितले युएई विरुद्धको खेलमा यो रेकर्ड बनाएका थिए।

विनोद भण्डारी र सुशन भारीको प्रदर्शन

सिरिजमा नेपालको ब्याटिङ र बलिङमा सँधैजसो निर्णायक बन्ने खेलाडीहरु भन्दा फरक यसपटक नयाँ खेलाडीहरुले खेलमाथि नियन्त्रण कायम गरे। नेपालको ब्याटिङमा विनोद भण्डारीको प्रदर्शन प्रभावकारी देखियो भने बलिङमा सुशन भारी चम्किए।

ओमनसँगको खेलमा २६ रन बनाएका विनोदले अमेरिकासँगको खेलमा सर्वाधिक ५९ रन जोडे। त्यस्तै ओमनसँगको दोस्रो खेलमा ३५ रन बनाएका थिए। अन्तिम खेलमा अमेरिकालाई सस्तो पारी मा नै रोके पछि विनोद मैदानमा उत्रनै परेन। उनले पूरै सिरिजमा कुल १ सय २० रन जोड्दै नेपालको तर्फबाट सबै भन्दा धेरै रन जोडे।

यो सिरिजमा डेब्यु गरेका सुशन भारी सबै खेलमा भारी देखिए। ओमन र अमेरिकासँगको पहिलो खेलमा उनले समान ३/३ विकेट लिए। ओमनसँगकै दोस्रो खेलमा १ विकेट लिएका भारीले अमेरिकासँगको अन्तिम खेलमा भने ४ विकेट लिए। 'डेब्यु ब्वाई' भारीले सिरिजमा नेपालको तर्फबाट सर्वाधिक ११ विकेट लिए।

नजमेको ओपनिङ

क्रिकेट मैदानमा नेपाली क्रिकेटरहरुको ओपनिङमा खासै राम्रो गर्न सकेको देखिँदैन।  यस पटक पनि पहिलो खेलमा पारस खड्का र ज्ञानेन्द्र मल्लले ओपनिङ गरेका थिए। उक्त खेलमा पारस ३ रन बनाउँदा कप्तान मल्ल भने मात्र १ रनमा बनाएर पभेलियन फर्किएका थिए।

त्यस्तै अमेरिकासँगको पहिलो खेलमा सुवास खकुरेल र ज्ञानेन्द्र मल्लको साझेदारी ठूलो बन्न सकेन। ३ दशमलव १ ओभरमा खकुरेल ३ रन बनाउँदै बाहिरिँदा नेपालको स्कोरबोर्डमा मात्र ६ रन बनेको थियो।

फोटो : CAN

ओमनसँगको दोस्रो खेलमा भने नेपालको ओपनिङ केही जमेको थियो। ओपनर मल्ल र खकुरेलले ४८ रनको साझेदारी गरेका थिए।

अमेरिकासँगको दोस्रो खेलमा नेपालले ओडिआइ खेलमा १६ वर्षपछि हालसम्म नै कम ३५ रनको लक्ष्य पछ्याएको थियो। खेल सहजै जित्न सकिन्थ्यो। तर रन रेटको चक्करमा ओपनिङ ब्याट्सम्यानहरु टिकेनन्। सुवास खकुरेल रन नजोड्दै पभेलियन फर्किएका भने कप्तान मल्ल दोस्रोपटक १ रन जोडेर आउट भएका थिए।

कीर्तिमानी जित

सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पार्‍यो। ३५ रनको सानो स्कोरमा अमेरिकालाई समेट्न सन्दीप लामिछानेले ६ विकेट र सुशन भारीले ४ विकेट लिए। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा पनि यसले राम्रै चर्चा पायो।

नेपालले १२ ओभरमा नै अमेरिकालाई ३५ रनमा रोकेपछि अमेरिकाले १६ वर्ष अगाडी बनेको रेकर्डको बराबरी गर्‍यो। सन्  २००४ अप्रिल २५ मा हरारेमा भएको एकदिवसीय खेलमा श्रीलंकाले जिम्बाबवेलाई ३५ रनमा नै रोक्न सफल भएको थियो। १८ ओभरको चलेको खेलमा बनेको उक्त रन हालसम्मकै सानो योगफल थियो।

फोटो : CAN

यस्तै, अमेरिकालाई १२ ओभरमा मात्रै ३५ रनमा रोक्दा नेपालले एक दिवसीय क्रिकेटमा विपक्षी टोलीमाथि सबै भन्दा कम ओभर बलिङ गरेको छ। सन् २०१७, २६ फेब्रुअरीमा अफगानिस्तानले जिम्बाबवे विरुद्ध सबै भन्दा कम ओभर बलिङ गरेको थियो। अफगानिस्तानले १३.५ ओभर बलिङ गर्दै जिम्बाबवेलाई ५४ रनमा नै रोक्न सफल भएको थियो।

प्रशिक्षक पटवालको अन्तिम सिरिज

माघ २२ बाट सिरिज शुरु हुने थियो। २० गते बेलुका नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएको विषयले चर्चा पायो।

आइसिसीबाट क्यान निलम्वन फुकुवा नहुँदै नियुक्त भएका मुख्य प्रशिक्षक पटवालले यो त्रिकोणात्मक सिरिज सकिएसँगै प्रशिक्षकबाट बाहिरिने निर्णय गरे। त्यसकारण पनि नेपाली टिमको प्रशिक्षकका रुपमा पटवालको यो अन्तिम सिरिज बन्यो।

उनको राजीनामाको चर्चा चलेपनि सिरिजमा नेपाली खेलाडीहरुको मनोबलमा असर नपर्ने कोसिस क्यानले गरेको दाबी अध्यक्ष चतुरबहादुर चन्दले गरेका थिए।

पटवालको राजीनामाको कारणबारे धेरै चर्चा पनि चलेको थियो। उनी क्यान व्यवस्थापनसँग असन्तुष्ट भएको अड्कलबाजी सँगै ट्याक्सको कुरामा पनि उनी असन्तुष्ट रहेको हल्ला चलेको थियो। पटवाल आँफै भने यस विषयमा खुल्न चाहेनन्। उनले आफू करार अवधि नसकिँदै जानुमा आफ्नो व्यक्तिगत कारण भएको बताएका छन्।

इल्यासको डबल सेन्चुरी

ओमनी ब्याट्सम्यान अक्विब इल्यासले सिरिजमा दुई शतक प्रहार गर्दै ओमनको शतप्रतिशत जित सुनिश्चित गरे। नेपालले ओमनको अगाडी २ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर,  इल्यासले नेपालसँगको खेलमा कप्तान जेसन मक्सुदसँगको साझेदारीमा १ सय ८ बलमा १ सय ९ रन बनाए। उनको यही पारी ओमनको जितका लागि महत्वपूर्ण बन्यो।

फोटो : CAN

लगत्तै अर्को खेलमा पनि उनले शतक प्रहार गरे। उनले अमेरिका विरुद्ध कप्तान मक्सुदसँगकै साझेदारीमा शतक बनाएका थिए। अमेरिकाविरुद्ध कप्तान मक्सुदले पनि शतक बनाएका थिए। इल्यासले अमेरिकाविरुद्ध १ सय २३ बलमा १ सय ५ रन जोडेका थिए।

वर्ल्डकप लिग २ मा अब के ..

यी त भए विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा देखिएको केही परिघटनाहरु। अढाइ वर्षे लिगमा अझै धेरै खेलहरु बाँकी नै छन्।

‘वर्ल्डकप लिग २’ विश्वकप पुग्ने रोडम्याप हो। यसअन्तर्गत नेपालले पहिलो त्रिकोणात्मक सिरिज आफ्नै भूमिमा खेल्यो।

लिग-२ मा नेपालसहित स्कटल्यान्ड, युएई, नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिका सहभागी छन्। यी सातवटा टिमहरु विश्वकप भन्दा दुई स्टेप टाढा छन्। प्रत्येक टिमले ३६ वटा खेल खेल्नेछन्। सन् २०१९ को अगस्टबाट शुरु भएको खेल श्रृंखला २०२२ को जनवरीसम्म चल्नेछ। यो बीचमा १२६ वटा खेलहरु हुनेछन्।

अमेरिकाले यही अप्रिल महिनामा फेरि युएई र स्कटल्यान्डसँग सिरिज खेल्दैछ। नेपालको विश्वकप पुग्ने आशा अझै जिवित नै छँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell