PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

अयोग्य लडाकुको प्रश्न, ‘हामी अयोग्य भए गणतन्त्र कसरी योग्य?’



प्रकाश भण्डारी

अयोग्य लडाकुको प्रश्न, ‘हामी अयोग्य भए गणतन्त्र कसरी योग्य?’

इलामकी वन्दना राई हुम्लाका खड्गबहादुर रम्तेललाई राम्ररी चिन्छिन्। धादिङका रमेश बस्याल र ताप्लेजुङका पूर्ण लिम्बुले एक अर्कालाई चिन्न थालेको धेरै वर्ष भइसक्यो। वन्दना, खड्ग, रमेश र पूर्णले एक अर्कालाई चिन्नुपर्ने कुनै कारण थिएन।

एउटै ठाउँका पनि होइनन्। एउटै कलेजका सहपाठी पनि होइनन्। तर, यी चार जनाले पछ्याएको बाटो, देखेको सपना र भोगेको विगत एकै र उस्तै छ।

चारै जनाबीच समानता छ। 

स्कुल छोडेको उमेर-१३ वर्ष। हातमा बन्दुक। आँखै अगाडि साथीभाइ गुमाएको पीडा। लडाकु शिविरको बास। अयोग्यको परिचयपत्र। अर्थात, उनीहरु बहिर्गमित जनसेना।

फरक छ त उनीहरुको वर्तमानमात्र।

२०५२ मा जनयुद्ध शुरु नभएको भए सायद उनीहरु एक अर्कालाइ चिन्ने थिएनन्। पहिचान अयोग्यको भए पनि अयोग्य शब्द उनीहरु रुचाउँदैनन्।

एउटै स्वरमा भन्छन, ‘हामी अयोग्य होइनौँ। हामी अयोग्य भए हामीले लडेर ल्याएको गणतन्त्र कसरी योग्य?’

सँगै छन् वन्दना, पूर्ण र खड्गबहादुर। वन्दना बौद्धको एक ब्युटी पार्लरमा काम गर्छिन्। पूर्ण कोरसको काम गर्छन्। खड्ग ट्याक्सी ड्राइभर। रमेश ट्राभल व्यवसायमा आवद्ध छन्।

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा चारैजना बौद्धको एक रेस्टुरामा भेट भएका छन्। दिउँसोको ३ बजेको छ।

रेस्टुराको दोस्रो तलामा एक टेबुल र वरिपरि कुर्सीमा बसेका छन् उनीहरु। उत्तरतिरको झ्यालबाट बौद्ध-जोरपाटी जाने सडक देखिन्छ। सडकमा सधैझैँ गाडीको चाप छ। 

पालै पालो आफ्नो विगतलाई सुनाइरहँदा घरि बाहिर हेर्छन् घरि मोबाइल। जसले कुरा गरिरहेको छ त्यो बाहेक दुई जना मोबाइल निकालेर केही चलाइरहन्छन्।

उनीहरु भन्छन्, ‘कति दुःख सुनाउनु। सुनाएर केही हुने होइन।’

सायद उनीहरु आफूले उठाएका मुद्दा समाधान हुनेमा आशावादी छैनन्। कुरा सुनाउन उत्सुक छैनन्।

कमरेडबाट कोरससम्म

हातमा घडी, रातो र कालो मिक्स कलरको ज्याकेट। खैरो कलरको जुत्ता र कालो पाइन्ट। पातलो शरीर। उचाइ धेरै छैन। हेर्दा ३०/३५ वर्षको जस्तो देखिने पूर्ण ठ्याक्कै ३० वर्षका भए।

धेरै बोल्ने स्वभाव छैन रे।

अहिले उनी कमरेड होइनन् कलाकार भइसकेका छन्। लिम्बुलाई कलाकार भएर काम गर्छु भन्ने कहिल्यै लागेकै थिएन। उनको हकमा यो कुनै संयोग पनि होइन। उनले छिट्टै रिलिज हुन लागेको फिल्म ‘आमा’मा बाबुको भूमिका निभाउन पाए। त्यस पहिले उनले थुप्रै म्युजिक भिडियोमा कोरसको काम गरे। पूर्णका लागि यो रहरको काम होइन, बेरोजगारीको बाध्यता हो।

२०५९ सालमा माओवादी सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुगिसेकेको थियो। जनमुक्ति सेना र तत्कालीन शाही सेनाबीच हरेक दिन जसो भीडन्त भएका खबर आउँथ्यो। माओवादीका गतिविधि देशैभर हुन्थे। ताप्लेजुङमा पनि माओवादी गतिविधि नहुने कुरै भएन।

एक दिन स्कुलमा जनमुक्ति सेना परेड खेल्दै थियो। पूर्णले परेड नियाले। एकाएक जनमुक्ति सेना हुने इच्छा पलायो। काका सन्तोष त्यतिबेला भूमिगत थिए। उनीसहित स्कुलका २० जना साथी काकाको सम्पर्कमा पुगे। त्योबेला पूर्ण ६ कक्षामा पढ्थे। उमेर १३ वर्ष।

साथी सबै गएकाले शुरु-शुरुमा केही चिन्ता भएन। एक वर्षसम्म सैन्य तालिम गरे। तालिमपछि उनले जासुसी गर्ने काम पाए। तीन महिना उनले त्यही काम गरे। काम कठिन थियो राति गर्नुपर्थ्यो धेरैजसो समय।

‘आफू जोगिएर अरुलाई जोगाउनुपर्ने ठ्याक्कै समयमा सूचना पठाउन सकिएन भने कठिन हुन्थ्यो क्षति हुनबाट जोगाउन, ’ उनी सम्झन्छन्।

साथीहरु धेरैजसो सेना नै भए। उनले सुराकीकै काम गरिरहेका थिए। पार्टीले उनलाई मोरङ पठायो। मोरङमा राम्ररी काम गर्न सकेनन्। कारण, तराईमा दिशा पत्ता लगाउनुको कठिनाई। पहाडमा हुर्के बढेको भएर उनलाई तराइको भूगोलबारे त्यति थाहा भएन।

उनी भन्छन, ‘पार्टीले पठाएपछि त जानु नै पर्ने भो तर म त्यहाँ एकदमै नयाँ भएँ। कता पूर्व कता पश्चिम भन्नै नै थाहा भएन। त्यसैले मैले पार्टीलाई खबर गरेर म फर्किएँ।’

त्यसको केही समयपछि लिम्बु जनमुक्ति सेना भए। एक दिन तेह्रथुमको पौठाकमा आर्मीको गस्तीसँग जम्काभेट भयो। १० मिनेट गोली हानाहान भयो। क्षति दुबैतिर भएन।

यही नै हो लिम्बुको पहिलो लडाईँको अनुभव। त्यसपछि साना ठूला धेरै लडाईँमा समावेश भए। उनलाई तिथि मिति याद छैनन्।

‘एउटा दुइटा भए पो याद हुनु। कि लेखेर राखेको भए याद हुने थियो, ’ उनी सुनाउँछन्।

लडेकोमध्ये सबैभन्दा ठूलो लडाईँ भोजपुरको। जनमुक्ति सेना हिँडेर थाकेपछि एउटा स्कुलमा बसिरेका बेला आकाशबाट सेनाको नाइटभिजन टोलीले आक्रमण गर्‍यो। भुईँमा पनि सेना रहेछ। त्यो राति चार पाँच घण्टा भीडन्त भयो। त्यही दिन हो उनले आफूसँगै भएको साथीको टाउकोमा गोली लागेर ढलेको दखेको।

‘अर्को साथीले फायर खोल्यो त्यही फायरका आधारमा सरकारी सेनाले गोली हानेछ। म र साथी सँगै थियौँ उसको नाम उत्सव मगर। सेक्सन कमाण्डर थियो। टाउकोमा गोली लागेपछि कुनै बोल्ने चान्सै भएन,’ पूर्ण विगत सम्झन्छन्।

साथी ढलिसकेपछि उसको हतियार ल्याउनुपर्ने भयो, अनि हतियार समाते पूर्णले। त्यही बेला तिघ्रामा गोली लाग्यो। उनी अचेत भए। त्यसपछि संखुवासभाको एक स्वास्थ्य चौकीमा पुर्‍याएपछि मात्रै उनको होस् आयो। घाइते भएपछि उनी घर फर्किए। त्यसपछि उनको पार्टीले नै नाम परिवर्तन गर्‍यो उनी कमरेड पूर्ण भए।

त्यसपछि लडाकु शिविरमा बसे पूर्ण। साथीसँगै सेनामा समायोजित हुने ठूलो आशा थियो। तर भएनन्।

किन भएन?

‘मलाई कारण त थाहा छैन तर नलडेका साथीहरु पनि सेना भए,’ उनले जवाफ फर्काए।

शान्ति प्रक्रियापछि विराटनगरको नोबेल अस्पतालमा पार्टीले उनको उपचार गर्‍यो। गोली निकाले पनि तिघ्रामा छर्रा भने अझै छ।

उनी भन्छन, ‘तिघ्रामा लागेको गोली निकाले पनि मेरो खुट्टामा अझै छर्रा छ। यो निकाल्न मिल्दैन। निकाल्यो भने प्यारालाइसिस हुन्छ भनेको छ डाक्टरले।’

घाइते भएर ठिक भएपछि यही बीचमा ३ महिना माओवादीको कलाकारको ट्रेनिङ लिए। नृत्य सिके। यो रहरको विषय थिएन। रहर त सेना नै हुने थियो।

बन्दुक चलाएको हातमा स्टेयरिङ

हुम्लाका खड्गहादुर रम्तेलले केही दिनअघिमात्रै ट्याक्सी बेचे। ट्याक्सी चलाउनुअघि दुई वर्ष कलंकी रत्नपार्कको माइक्रोका चालक थिए उनी। अहिले कक्षा ११ मा पढछन् कालीमाटीको कलेज अफ सेन्ट्रल स्टेटमा।

उमेर अनुसार पढाई सकिसक्नुपर्ने हो। तर दशक जति त पढनै पाएनन्। त्यसैले त अहिले उनले पढिरहेका छन्। ‘जनरल ल’ (कानुन) उनको पढ्ने विषय हो।

कुनै बेलाका ‘कमरेड सम्राट’ अहिले विद्यार्थी र चालक दुबै हुन्। बन्दुक चलाएका हातले गाडीको स्टेयरिङ घुमाइरहेका हुन्छन् उनी। उनको परिचय बदलिएको छ।

दुई छोराका बाबु पनि हुन्, रम्तेल। २०६९ मा उनले अन्तरजातीय विवाह गरे। उनकी श्रीमती पनि अयोग्य लडाकु नै हुन्।

२०६० मा रम्तेल १३ वर्षका थिए। 

उनलाई थाहा भएसम्म त्यो बेला माओवादीले ‘एक घर, एक माओवादी’ अभियान नै चलाइरहेको थियो। गाउँमा त्यो बेला सरकार नै चलाएका थिए माओवादीले। गाउँमा त्यसको पूर्ण प्रभाव थियो।

काठमाडौंमा बस्ने काकाले जासुसीको काम गर्छ भनेर  माओवादीले दुःख दिन थालेपछि उनका बाबु पनि भूमिगत भए।

२०६० मा रम्तेल ७ कक्षा पढ्थे। धर्मोदय निमावि छब्रेलामा। माओवादीले त्यही बेला विद्यार्थी भेलामा सहभागी गरायो। भेलामा टीका लगाइदिए। यतिन्जेल रम्तेललाई आफू भूमिगतमा परेको थाहा थिएन।

पछि माओवादीले भन्न थाले तँ भुमिगत भएको होस् जसरी पनि अब हामीसँगै हिड्नुपर्छ।

‘उनीहरुले केही गरे पनि छोडेनन्,’ उनी विगत सम्झन्छन्।

दुई पटक भागेर भारत गए पनि अन्ततः उनी जनमुक्ति सेना नै भए। युद्ध नै लडे।

‘उतिबेला त्यस्तो करकाप गरेर पार्टीले लडाईँमा लग्यो तर अहिले अयोग्य भन्यो। म कसरी अयोग्य भए?’ उनी प्रश्न गर्छन्।

ज्याकेटभित्र लुक्थिन ‘कमरेड प्रश्ना’

इलाम चुलाचुलीकी वन्दना राई २०६१ मा १३ वर्षकी थिइन्। पढाइ ६ कक्षा। उनकी फूपुकी छोरी दिदी भूमिगत थिइन् माओवादीमा। 

स्वभाव चन्चले। नाँच्न मन लाग्ने। माओवादीका कलाकारहरु नाचेको देखेर उनलाई त्यहाँ नाँच्न पाइन्छ भन्ने लाग्यो।

रोमाञ्चक हुँदै मुख छोपेर विगत सुनाइन्, ‘अहिले त म यति चन्चले छु।’

दिदीले एकदिन बिहानै आफ्नो घर लाने भनेर घरबाट हिँडाइन्। बुवा आमालाई दिदीले घर लगेको भनेपछि ढुक्क भयो। तर त्यहाँ गएपछि उनलाई नाँच्न सिकाउन थालियो।

त्यसैगरी भूमिगत बनाइसकिएको रहेछ। पछि घर जान खोजेपछि मात्रै आफू भूमिगत भएको उनले थाहा पाइन। 

अब उनी वन्दना रहिनन् भइन् ‘कमरेड प्रश्ना’।

तीन महिनासम्म उनलाई कलाकारको तालिम दिइयो। उनी कञ्चनजंघा साँस्कृतिक समूहकी सदस्य भइन्। तीन महिनापछि उनी जनमुक्ति सेनामा प्रवेश गरिन्। शुरुमा उनलाई जासुसीको काम दिइयो। हतियार चलाउन सिकाइयो। तर उनी युद्धमा भने लड्नु परेन।

भन्छिन्, ‘म त सानी थिएँ। मैले युद्ध लड्नु परेन। एउटा दुइटामा सहयोग गरेँ त्यति हो। त्यो त त्यसबेला सबैले गरे नि।’

युद्धमा सहभागी भएको अनुभव भने ६२ सालको मोरङको उर्लाबारीमा हो। त्यसमा सहयोगीको भूमिकामा रहिन्। त्यसपछि राई पनि शिविरमा बसिन्।

शिविर बसेका बेला पनि उनी सेनाको काम छाडेर केही गर्छु भनेर घर गइन्। तर उनलाई पार्टीले जबर्जस्ती गरेर फर्कायो।

उनी भन्छिन्, ‘त्यतिबेला मैले अब सेनामा होइन केही अरु काम बाहिर गएर गर्छु भनेर आएँ। पार्टीले मलाई जबर्जस्ती गरेरै ल्यायो।’

घर आएको बेला उनी ८ कक्षामा भर्ना भएकी थिइन्। तर भर्ना भएकै तेस्रो दिन फेरी उनलाई शिविर पुर्‍याइयो।

शिविरमा बस्दा रमाइलो अनुभव भएको उनी बताउँछिन्। सेना समायोजनको प्रमाणीकरणका बेला उनी सेनाको ज्याकेटभित्र लुक्थिन रे।

‘अब तपाईँ आफैं बुझ्नुस् न मलाई त दाइहरुले ज्याकेटभित्र लुकाइदिन्थे। म बसेको ठाउँमा माथिबाट ज्याकेट हालिदिन्थेँ,’ उनी भन्छिन्।

त्यसरी लुक्नुको कारण यति सानो बालिकालाई किन लडाकु बनाएको भनेर पार्टीलाई आप्ठ्यारो हुन्थ्यो रे।

अरु अयोग्य सेनाजस्तै बहिर्गमनमा परेपछि काठमाडौं आइन्। कोरिया जाने सपना पनि बोकिन्। कोरियन भाषा पढिन्। पछि युरोप जाने सपना अनुसार अंग्रेजी पनि पढिन्। त्यो पनि सफल भएन। भाषा पढेपछि उनले ब्युटी पार्लरको काम सिकिन्। अहिले बौद्धको एक ब्युटी पार्लरमा काम गर्छिन्।

डाक्टरको सपना त्यागेर जनमुक्ति सेना

धादिङ चैनपुर धारापानीका कृष्ण बसेल २०५९ मा भारतमा मजदुरी गर्थे। उनको मजदुरीले घरमा ७ जनाको परिवार पालिएको थियो। दलित परिवार भएकाले अरु परिवारको जस्तै यो परिवारले भेदभाव सहिरहेकै थियो।

त्यो बेला भेदभाव, शोषित पीडितका लागि भन्दै माओवादीले चर्को नारा लगाउँथे। बसेलका दुई जना छोरीपछिका सन्तान हुन् रमेश।

रमेश सानैदेखि पढाइमा राम्रो। ६ कक्षामा प्रथम भएर ७ कक्षा पढ्थे बसेल। सरले स्कुलमा के बन्ने भनेर सोध्दा उनी भन्थे, ‘डाक्टर बन्ने।’

स्कुलमा माओवादीले कार्यक्रम गरिरहन्थे। उनलाई खुब रमाइलो लाग्थ्यो। १३ वर्षका बसेलले सोच्न थाले माओवादी भए त नाँच्न गाउँन पाइदो रहेछ भनेर।

उनको घरमा बेला मौका जीवन थपलिया आइरहन्थे। उनी धादिङका माओवादीका स्थानीय नेता। उनैले सुनाउँथे क्रान्तिका कुरा। माओवादी आन्दोलनका कुरा। थपलियाले उनलाई माओवादीबारे धेरै कुरा सुनाए।

उनले भन्थे रे, ‘डाक्टर पढ्न धेरै पैसा लाग्छ। यो बुर्जुवा शिक्षा पढेर केही हुँदैन। माओवादी आन्दोलनमा लाग्यो भने भोलि जनवादी शिक्षा पढने हो।’

त्यसपछि उनलाई पनि मन लाग्यो माओवादी भएर हिँड्न। उनकी दिदी बिहे गरेर काठमाडौंमा बस्थिन्। घरबाट भागेर दिदी भिनाजुकोमा आए। दिदी भिनाजुले उनलाई पत्रिका बेच्ने हकरको काममा लगाइदिए। त्यो काम चार दिनभन्दा बढी गरेनन्। उनलाई माओवादी हुने रहर जागिसकेको थियो ।

माओवादीमा भूमिगत हुँदाको क्षण सम्झछन्, ‘पछि भागेर पोखरा गएँ। पोखरा गएपछि जीवन थपलियाले लवली डाँडामा बोलाउनुभो। त्यही दिनदेखि म भूमिगत भएँ। केही महिनापछि थपलिया शहीद भए।’

बुवालाई उनी माओवादी भएको मन परेको थिएन।

‘बेलाबेला घरमा जाँदा भविष्य बिगारिस् भन्नुहुन्थ्यो,’ यति सुनाउँदा बसेल मलिन देखिए।

२०६२ साल माघमा माओवादीले पाल्पाको सदरमुकाम तानसेन आक्रमण गर्दा उनले पहिलो पटक हतियार चलाउन पाए।

शान्ति सम्झौतापछि जनमुक्ति सेना शिविरमा बस्यो। उनी नवलपरासीको झालुङ डाँडामा ६ महिना बसे। त्यसपछि पार्टीले सबैलाई गाउँमा पठायो। जनमुक्ति सेनामा गाउँका युवाहरुलाई भर्ती गराउने भनेर।

उनलाई पोखरा पठाइयो। उनीहरुलाई भनिएको थियो, गाउँ गाउँबाट भर्ती गराउँनुस्।

अनमिनको संयोजनमा सेना समायोजनको काम भयो त्यसपछि। दुई पटक भएको प्रमाणीकरणमा पहिलोपटक सबै जनमुक्ति सेना भनेको भए पनि दोस्रोमा उनीसहित चार हजार ८ लाई अयोग्य लडाकु भनियो।

उनी भन्छन, ‘सुरुमा त पास फेल भन्ने मात्रै थियो। हामीलाई सोधेको त हतियार चिन्नुहुन्छ?  कति वर्षको हुनुभयो? यति हो। पछि हामीलाई तपाईँहरु फेल हुनुभयो भनियो।’
कमाण्डरहरुले अयोग्य लडाकुलाई फकाउन थाले। अहिले गाउँ जाने र पछि फेरी पार्टीले बोलाउँछ भनेर।

‘एक ढोकाबाट निस्कने हो कमरेड अर्को ढोकाबाट तपाईँहरुलाई भित्र छिराउने हो भन्थे कमाण्डरले। अनमिन र सरकारको आँखामा छारो हाल्न हो भन्थे त्यो बेला। यसो भनेपछि हामी पनि गाउँ गयौँ,’ उनले भने।

उनी नेताहरुबाट धोका पाएको बताउँछन्। 

अन्तत: २०६६ माघ १० गते चार हजार ८ जनालाई अयोग्य लडाकु भन्दै बिदाइ गर्‍यो सरकारले। १० हजार रुपैयाँ बाटो खर्च दिएर।

उनी भन्छन्, ‘हामी बहिर्गमनमा परिसकेपछि पनि प्रचण्डले क्रान्ति सकिएको होइन। अब त युद्ध लड्ने हो। गाउँ गाउँमा गएर युद्धको तयारी गर्नुस् भन्थे।’

बसेलसहित बहिर्गमनमा परेका सेनाले दुई वर्ष कुरे। पार्टीले केही गरी नबोलाएपछि २०६८ माघ १० गते बहिर्गमित जनमुक्ति सेना नेपाल अठौँ डिभिजन संघर्ष समिति गठन गरे।

बसेल त्यतिखेर आफूले धेरै कुरा नबुझेको र अहिले खोजेर पढेपछि सेना समायोजनको धेरै कुरा थाहा पाएको बताउँछन्।

उनी भन्छन्, ‘त्यतिखेर त हामीलाई पनि खासै केही थाहा भएन तर अहिले खोजेर पढदै जाँदा दुई क्याटेगोरीमा सेना समायोजन गरेको रहेछन्। पहिलो उमेर १८ वर्ष भन्दा कम र दोश्रो २०६३ भन्दा पछि सेनामा भर्ती भएकालाई अयोग्य भनेको रहेछ।’

बहिर्गमनमा परेका जनमुक्ति सेनाले थुप्रै पटक आन्दोलन गरेको भए पनि सुनुवाइ नभएको उनी बताउँछन्। बहिर्गमनमा परेकामध्ये १० जनाले आत्महत्या गरिसकेका छन्।

बसेल माघ ९ गतेको चौथो अधिवेशनबाट अध्यक्ष चुनिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell