PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सेल्फी किङ : किन परेन दर्शकको रोजाइमा?



मन्दिरा खत्री

सेल्फी किङ : किन परेन दर्शकको रोजाइमा?

पछिल्लो समय प्रदर्शनमा आएका एकाधबाहेक अधिकांश कमेडी जनराका फिल्म दर्शकको रोजाइमा पर्दै आएका छन्। यसैबीच गत शुक्रबारदेखि विपिन कार्की स्टारर फिल्म 'सेल्फी किङ' प्रदर्शनमा आएको छ।

त्यसो त फिल्मको पहिलो पोस्टर बाहिरिएदेखि नै सेल्फी किङ चर्चामा थियो। सेल्फी किङको पोस्टर हालै ओस्कर अवार्डमा दुई विधामा उपाधी उचालेको हलिउड फिल्म जोकरसँग मिलेको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भयो। त्यसैले हुनुपर्छ धेरैले फिल्मको कथा जोकरसँग मिल्छ भन्ने अनुमान गरेका थिए भलै सेल्फी किङ कमेडी जनारमा निर्माण भए पनि फिल्मको कथावस्तु भने फरक छ। फिल्म हेरिसकेपछि प्रस्ट हुन्छ- सेल्फी किङ र जोकरको कथाबीच कुनै नाता छैन।

'सेल्फी किङ' एउटा कलाकारको कथा हो। हाँस्य कलाकारको जीवनमा आउने उतारचढाव र भोगाइमाथि सेल्फी किङ बनेको छ। यो फिल्मले कलाकारकै कथा बोल्छ। फिल्म रिलिज हुनुपूर्व ट्रेलर र गीतले जुन चर्चा बटुलेको थियो, रिलिजपछि भने त्यही अवस्था देखिएन।

लामो समयदेखि राम्रो नेपाली फिल्मको प्रतीक्षा गरेर बसेका दर्शकलाई फिल्मले निराश बनाएको छ।

एउटा कलाकारको दैनिकी कस्तो हुन्छ? आफ्नो स्टारडम मेन्टेन गर्न कत्तिको संघर्ष गर्नुपर्छ?  पीडामा हुँदा पनि दर्शकलाई हँसाउन कतिसम्मको कसरत गर्नुपर्छ? फिल्मको कथा यसै सेरोफेरोमा घुमेको छ।

फिल्म सुरु हुन्छ टेलिभिजनको दृश्यबाट। आमा (भुवन चन्द) नियमित टेलिभिजनको पर्दामा आफ्नो छोरालाई हेर्न आतुर हुन्छिन्। उनी पर्दामा छोरालाई देख्दा गर्व महसुस गर्छिन्। बुबा (लोकमणि सापकोटा) पनि छोराको टेलिसिरियल कुरेर बसेका छन्। गोपाल दहाल उर्फ 'सेल्फी किङ' काँचको पर्दाका हाँस्य कलाकार हुन्। छोराको टेलिसिरियल हेरेर हाँस्दाहाँस्दै उनको बुबालाई 'स्ट्रोक ब्रेन ह्यामरेज' हुन्छ र उनी ढल्छन्।

उनलाई तत्कालै अस्पतालमा भर्ना गरिन्छ। बुबा बिरामी भएको खबर सुनेपछि सेल्फी किङ सुटिङ छाडेर अस्पताल पुग्छन्। डाक्टरले उनको बुबालाई ब्रेन ह्यामरेज भएको र शल्यक्रिया गर्नुपर्ने बताउँछन्। तर, जसो गरे पनि धेरै दिन नबाँच्ने डाक्टरको भनाई बुझेपछि शल्यक्रिया नगर्ने मुड बनाउँछन्। तर, दिदी, भिनाजु र श्रीमतीको जिद्धीले गर्दा अन्तत: उनी शल्यक्रियाका लागि राजी हुन्छन्। त्यही समयमा उनी तीन दिनको स्टेज कार्यक्रमको लागि सल्लेरीको लागि निस्किन्छन्।

काठमाडौंदेखि सल्लेरीसम्मको तीन दिनको यात्राका क्रममा आउने उतार चढाव र समस्याको वरिपरि फिल्मको कथा घुमेको छ।

सेल्फी किङमा हाँस्य कलाकारको कथा भनिए पनि फिल्ममा त्यस्तो नौलोपन छैन। फिल्ममा दुई घन्टासम्म दर्शकलाई बाँधेर राख्ने त्यस्तो बलियो तत्व केही छैन। सेल्फी किङले पछिल्लो समय नेपालमा निर्माण भइरहेको अन्य फिल्मको ट्रेन्डलाई नै पछ्याएको छ।

फिल्ममा सेल्फी किङले मदिरापान गरिरहेको दृश्यलाई पट्यारलाग्दो हिसाबले लम्ब्याइएको छ।

फिल्ममा समावेश एकपछि अर्को घटनाको दृश्यलाई दर्शकहरुले सजिलै अनुमान गर्न सक्छन्। पटकथा कमजोर छ। सेल्फी किङसँग उनका फ्यानहरु तस्विर खिच्नलाई झुमिन्छन्। त्यस्तै घरमा श्रीमती हुँदाहुँदै पनि सेल्फी किङ प्रेमिकासँग लुकी लुकी फोनमा बोल्छन्। फोनमा उनलाई 'बेबी' भनी सम्बोधन गर्ने महिलालाई पर्दामा देखाइन्न। त्यो 'सस्पेन्स'मै सीमित रहन्छ जुन कुनै हिसाबले पनि आवश्यक लाग्दैन।

उसो त अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय तारिफयोग्य छ। फिल्ममा उनको छोटो भूमिका भए प्रभाव छाडेकी छिन्। यसअघि उनले फिल्म बुलबुलबाट अभिनयको तारिफ बटुलेकी थिइन्। फिल्ममा लक्ष्मी किचकिचे श्रीमतीको रोलमा देखिएकी छिन्। उनी सधैं सुटिङमा व्यस्त श्रीमान् सेल्फी किङ दुई तिन दिनसम्म घर नआउँदा शंका गर्छिन्।

स्टेज कार्यक्रमका लागि सल्लेरी जानेक्रममा अरु कलाकारलाई हवाई जहाज र सेल्फी किङले चाहिँ गाडीको यात्रा अस्वभाविक लाग्छ। आयोजकसँग अन्य कलाकारका लागि हवाई टिकट र उनको लागि गाडीको मात्र व्यवस्था गर्न पैसा नपुगेको दृश्य नपच्नेखालको छ। आफूले मात्र बसको यात्रा गर्नुपर्दा उनी आफूलाई हेपिएको महसुस गर्छन्।

बुबाको निधन हुँदा पनि उनले भेट्न नपाएको दृश्यले दर्शकलाई भावुक बनाउँछ। बाबु र छोराको सम्बन्ध र भावनात्मक पक्षलाई फिल्ममा राम्ररी प्रस्तुत गरिएको छ। त्यसो त उनको मदिरा पिउने बानीले सबैलाई आजित बनाउँछ। सेल्फी किङ हेरिरहँदा उनको पुराना फिल्म 'प्रसाद' र 'जात्रै जात्रा'को झल्को दिन्छ। उनको क्यारेक्टर र अभिनयमा कुनै नौलोपन छैन।

फिल्ममा समावेश गीतले भने दर्शकलाई अलिकति भए पनि राहत दिन्छ। फिल्ममा विपिन यति धेरै हाबी भएका छन् कि उनको अगाडि अन्य पात्र ओझेल छन्।

त्यस्तै अभिनेत्री केकी अधिकारी पनि फिल्म घोषणादेखि नै चर्चामा थिइन्। तर, फिल्ममा उनी कलाकारकै रुपमा एउटा गीतमा प्रस्तुत भएकी छिन्। फिल्ममा उनको उपस्थितिले कुनै अर्थ राख्दैन। केकीलाई सेल्फी किङमा 'शो पिस'का रुपमा मात्र प्रस्तुत गरिएको छ।

मेकिङमा ख्याल नगर्दा डेब्यु फिल्मबाट नै निर्देशक विशाल सापकोटा चुकेका छन्। तर, निर्देशक सापकोटाले हाँस्य कलाकार रुँदा पनि दर्शकलाई कसरी हँसाउँछन् भन्ने रोचक ढंगले पर्दामा प्रस्तुत गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell