काठमाडौँको वटुमा सबैभन्दा अग्लो घर कसको?
साथीभाइका बीचमा कुरा हुँदा सबैको औँला तेर्सिन्थ्यो रोनिका श्रेष्ठतर्फ। अनि उनी मनमनै दोहोर्याउँथिन् 'वटुको सबैभन्दा अग्लो घर मेरो'। नाक गर्वले ठाडो हुन्थ्यो।
रोनिका सानै थिइन्। सबैलाई जस्तै उनलाई पनि आफ्नो घर निकै प्यारो थियो। त्यो घर जहाँ उनी हरेक चाडपर्वमा रातो माटोले पोतेर लक्ष्मी भित्र्याउँथिन्। साथी संगीसँग लुकामारी खेल्न पर्याप्त ठाउँ पनि त्यही घरभित्र थियो। ठूलाबडालाई घुर्की लगाउँदै टाउको ठोक्काउन पनि त्यही घरको भित्तो चाहिन्थ्यो उनलाई।
रोनिका हुर्कँदै गइन्। इन्द्रचोकबाट केही मिटरभित्र रहेको उनको टोल वटुमा बस्ती बढ्दै गयो। चारै दिशाबाट रोनिकाको घरलाई छेक्दै गयो। फराकिलो आँगन बाँकी रहेन। घाम परेर न्यानो हुने उनको कोठा दिउँसै अन्धकार हुन थाल्यो। बाटो साँघुरियो। उनको अग्लो कहलिएको घर होचो भयो।
कालान्तरमा रोनिकाको परिवारले त्यो घरमात्र होइन बस्ती पनि छाडे। ललितपुर बसाईँ सरे।
घर छाड्दा रोनिका सानै थिइन्। तर, घर बेच्ने कुराले उनलाई खिन्न बनाएको थियो। साथीहरुले तारिफ गर्ने त्यो घर छाड्नु नपरे हुन्थ्यो भन्ने लागेको थियो उनलाई। तर, त्यो सानी नानीको आग्रह कसले सुन्नु?
अब त २५ वर्षकी भइसकिन् रोनिका। तर पनि त्यो पूरानो घरको याद भने मेटिएको छैन। स्कुले जीवनमै आफ्नो मनको कुरा व्यक्त गर्न कथा कविता लेख्न थालेकी थिइन्। उनले वटुमा बिताएको बाल्यकाल र घरको यादमा केही वर्षअघि कविता लेखिन्- 'जिगु छेँ' अर्थात् 'मेरो घर।'
'त्वालय् धरहरा थें तख्खागु
येँया देगः थें पुलांगु
जिगु नुगःया कुचा थेंज्याःगु छेँ छ।
बाज्याया दक्व बाखं न्यंम्ह
झीगु पुस्तौं पुस्ता खंम्ह
९० व ४५ सालया भुखाय् फःम्ह
७२या भुखाय् न्ह्यः
छन्त जिं साँचे याये मफुत'
बाल्यकालको याद नेपाल भाषामा उतारिन्। १९९० र २०४५ सालमा गएका भूकम्पहरुले नभत्काएको त्यो घरमा आफूले बिताएको समयको बयान गरेकी छिन्। अनि, उत्तिकै दु:ख पनि व्यक्त गरेकी छिन्- त्यो घर अरुलाई सुम्पनु पर्दाको क्षण लेखेर।
सग्लै छाडेको घरसँग जोडिएको यादमात्र बाँकी छन् उनीसँग। सम्झदा अझै पीडा महसुस गर्छिन्। त्यही अनुभूतिलाई जीवन्त बनाउन उनले शब्दको सहारा लिइन्।
सिद्धार्थ वनस्थली इनस्टिच्युटमा पढ्दादेखि हो उनले कविता लेख्न थालेको। मनमा लागेका कुराहरु पानामा भर्न थालेको। तर स्कुले जीवनमा ती कविता कसलाई देखाउनु? कसलाई सुनाउनु? उनी अन्योलमै थिइन्।
स्नातक पढ्दै गर्दा भने उनले आफ्नो काव्यिक क्षमता र रुचि उजागर गर्ने प्ल्याटफर्म भेटिन्। फेसबुकमार्फत् 'पोयट्री वर्कशप'का बारेमा थाहा पाइन् उनले। 'वर्ड वरियर्स' नामक समूहले आयोजना गरेको उक्त वर्कशपमा सहभागी भइन्। त्यसपछि उनीभित्रको कवित्व सक्रिय बन्यो।
लेख्न थालिन्, सुनाउन धक मान्न छाडिन्।
रोनिका हाल वर्ड वारियर्समा इन्स्ट्रक्टरका रुपमा आवद्ध छिन्। 'पोयट्री सट्स' नाम दिएको फेसबुक पेज र इन्स्टग्राममा रोनिका आफूले कोरेका शब्द राख्छिन्।
नेवार समुदायको भएर पनि नेपाली र अंग्रेजी भाषामा आफूलाई अभिव्यक्त गर्न अभ्यस्त भइसकेकी थिइन् रोनिका। हुर्कँदै जाँदा नेपाल भाषा बोल्नेहरुको संख्या कम हुँदै गएको सत्यले घोच्यो उनलाई। अझ नेपाल लिपि पढ्न जान्ने मान्छे त धेरै थोरै छन् भन्ने थाहा पाउँदा चुप बस्नै सकिनन्। रोनिकाले नेपाल भाषामा कविता लेख्ने आँट गरिन्। दख्खल त थिइनन् तर आँट्नुपर्छ भन्ने जोशले घच्घच्याइ रह्यो।
एक पोयट्री वर्कशपमा आफ्नो घरको बारेमा लेख्नु पर्ने बताइयो। त्यसमाथि आफ्नै मातृ भाषामा। त्यस वर्कशपबाटै हो उनले फाट्टफुट्ट बोल्ने नेपाल भाषामा नै कविता लेख्न थालेकी।
र वटुका दिन यसरी उतारिन्....
छंगु छाति (मेरुदण्ड चिरे यानाः) फायाः छखा छेँ
निखा जूबलय्
जिं छुं हे यायेमफुत ।।
अर्थात्,
तिम्रो मेरुदण्ड चिरी
एउटा घर दुइटा बन्दा
मैले केही गर्न सकिनँ।।
'वर्ड वारियर'का रुपमा 'इकोज इन द भ्याली'मा कविता वाचन गर्न नेपाल भाषामा घरको बारेमा कविता लेखेकी थिइन् उनले। दुई वर्षअघि भएको नेपाल भाषा साहित्य नख: 'जीगु छेँ' कविता सुनाउँदै गर्दा ताली पाइन्। हौसला पाइन्।
ती दिन सम्झँदै रोनिका भन्छिन्,'मैले अंग्रेजी र नेपालीमा यतिका धेरै कविता लेखिसकेँ तर नेपाल भाषामा लेखिएको एउटै कवितालाई धेरैले रुचाए। मेरो कलेक्सनमा रहेका कवितामध्ये उत्कृष्ट कविता बन्यो। नेपाल भाषामा लेखेर त्यही भाषा बोल्दै हुर्केकाहरुको अघि उभिएर कविता वाचन गर्दा बेग्लै खुसी पाएँ।'
पहिलोपटक नेपाल भाषामा लेख्न बस्दा डराएकी थिइन्। भाषा, शब्द चयन, अर्थ आदि बिग्रिन्छ कि भन्ने चिन्ता थियो उनलाई। तर, प्रयास गरिन्। त्यो प्रयासले छुट्टै सन्तुष्टि दियो। लेखिरहने उर्जा दियो।
केही महिनाअघि प्रज्ञा प्रतिष्ठानको डबलीमा उभिएकी थिइन् उनी। त्यहाँ उभिएर पहिलो प्रेमलाई सम्झँदै थिइन्। रोनिकाको पहिलो प्रेम अर्थात् 'काठमाडौँ'।
काठमाडौं,
म जन्मेको शहर, मेरो पहिलो प्रेम
उसको मुटुको ढुकढुकी म मेरो मुटुमा सुन्छु,
त्यो उस्तै छैन आजकाल,
अनि म गुनासो गर्छु,
के भयो मेरो काठमाडौँलाई?
नेपालीमा लेखिएको यस कवितालाई उनले नेपाल भाषामा अनुवाद गरेर सुनाएकी थिइन्।
'एलेभन एलेभन पोइट्री च्यालेन्ज अन्तर्गत करिब दुई वर्षअघि लेखेकी थिइन् उनले यो कविता। भन्छिन्,'काठमाडौँ त हरेक दिन हरेक महिना परिवर्तन हुँदैछ। वसन्तपुरमा पुनर्निर्माण सकिएको छैन। धुलो जताततै छ। सडक विस्तारका कारण यहाँका मानिस अझै विस्थापित भइरहेका छन्। त्यो केही सकिएको छैन। त्यसैले पनि त्यो कविता सान्दर्भिक छ।'
त्यसपछि कविताको अंश सुनाइन्-
'आजकल जब म यहाँ फर्किन्छु,
म भत्किएको मक्किएको
टेकैटेका मा अडिएको काठमाडौँ मात्र देख्छु,
जसको जरा उसले नबोलाएको भुइँचालोले हल्लाइदिएको छ,
र बल्लतल्ल उभिने कोसिसमा छ'
रोनिकाले आफ्ना भोगाइहरु समेटेर लेख्ने कविता मन पराउँथे उनका एक साथी। जो संगीतमा रुचि राख्थे। एकदिन उनैले रोनिकाको शब्दमा आफ्नो संगीत भर्ने प्रस्ताव लिएर आए। रोनिकाले नाईं भन्नु पर्ने कारण नै थिएन। दुबैले सहकार्य गरे। गत भदौमा 'काठमाडौँ' कविताको नेपाली रुपान्तरण गरिन्। दुबै मिलेर भिडियो बनाए र युट्युबमा अपलोड गरे।
'कविता काठमाडौँको' नाम दिइएको उक्त रचनामा रोनिकाले काठमाडौँ शहरको परिवर्तन हुँदै गइरहेको मुहार प्रतिविम्बित गरेकी छिन्। विकास गर्छु भनेर आश्वासन बाँड्नेप्रति आक्रोस व्यक्त गरेकी छिन्।
'नेपाल भाषामा लेख्न अब आँट गर्नुपर्छ'
वटुमा हुँदा परिवार, आफन्त, छर छिमेक एकअर्काबीच नेपाल भाषामै कुराकानी गर्थे। किनकि त्यहाँ नेवार बस्ती बाक्लै थियो। तर सातदोबाटो सरेपछि उनको परिवार नेपाल भाषा कमै बोल्छन्। कविता लेख्न सुरु गरेपछि भने मातृभाषाको महत्व बुझेकी छिन्। त्यही भाषामा आफ्नो भावना अभिव्यक्ति सहज र प्रष्ट हुन्छ भन्ने महसुस भएको छ उनलाई। त्यसैले घरमा कुराकानी नेपाल भाषामै गर्न जोड दिन्छिन्। कविता लेख्दा धेरै कुरा अभिव्यक्त गर्न सकिन्छ भनेर बुझेकी छिन्।
'मलाई पनि नेपाल भाषा राम्ररी आउँदैन। नजाने पनि मनमा आउने भावहरु त हामीलाई थाहा हुन्छ। शब्दहरु लेख्ने प्रयास गर्नुपर्छ', रोनिकाले हौसिँदै भनिन्,' घरमा नै सुनेर नेपाल भाषा जानेको। त्यसैले भाषाप्रति आत्मीयता थियो। मैले लेख्दिनँ आउँदैन भनेर बसेको भए त्यो कविता बन्दै-बन्दैन थियो। त्यसैले पहिला लेख्नु पर्यो। मातृ भाषामा लेख्नेहरुले आँट त गर्नैपर्छ।'
त्यही आँटले नै उनलाई नेपाल भाषा साहित्य नख: को मञ्चमा लगातार दुई वर्ष उभ्याइसक्यो।
तर नेवार समुदायमा नै नेपाल भाषाको प्रयोग कम हुँदै गएकोमा उनी सचेत छिन्। आफूले नेपाल भाषामा पोख्त नहुनुको जिम्मेवार आफैंलाई मान्छिन्।
भन्छिन्,'घरमा ठूलाबडाले बोलेको सुनेर नेपाल भाषा बोल्न जानेँ। तर हाम्रै पुस्ताबाट नेपाल भाषा सिकाउने प्रक्रिया कम हुँदै गयो। आफ्नै मातृ भाषा बोल्दा 'त', 'ट' जस्ता उच्चारण बिग्रिन्छ भनेर आत्तिने धेरै भए। मैले पनि त्यसो गरेँ।'
यी कमजोरीहरुलाई पन्छ्याउँदै आफ्नो समुदायका बालबालिकालाई नेपाल भाषा बोल्न र लेख्न सिकाउनु पर्ने तर्कमा जोड दिन्छिन् उनी।
'अंग्रेजी सिक्न सिकाउन समस्या हुँदैन। हिन्दी पनि सहजै बोल्छौँ भने नेपाल भाषामा के समस्या?', उनी प्रश्न गर्छिन्।
त्यसैले उनी अहिले घरघरबाट नेपाल भाषा बोल्न र लेख्न सिकाउन पर्नेमा जोड दिन्छिन्।
उनी महिलाहरुलाई शब्दमार्फत् आफूभित्र गुम्सिएको कथा, व्यथा अभिव्यक्त गर्न प्रोत्साहित गर्छिन्। घर परिवार, आफन्त, समाजलाई सधै माथि राखेर संघर्ष गर्ने महिलाले आफूभित्र रहेका भावनाहरु व्यक्त गर्न कविता कुशल माध्यम हुने उनको विश्वास छ।
भन्छिन्,' मेरो संघर्षको कथा म आफैंले नलेखे कसले लेख्न सक्छ? कसले अनुभूत गर्न सक्छ?'