काठमाडौं : नोवेल कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' हुवेइ र वुहानमा राजनीतिक नेतृत्व परिवर्तनसँगै चीनमा कोरोना भाइरस विरुद्धको लडाइ 'प्रतिरक्षात्मक' बाट 'आक्रमक' अवस्थामा पुगेको छ।
अहिलेसम्म कोरोना भाइरस विरुद्धको लडाइ प्रतिरक्षात्मक ढंगले गररहेको चीनले बुधवारदेखि यस अभियानलाई आक्रमक ढंगले अगाडि बढाएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीबाट सोझै मनोनित भएका आएका अधिकारीहरुले कोरोना भाइरस विरुद्धको लडाइलाई आक्रमक ढंगले अगाडि बढाउन थालेको चाइना डेलीले जनाएको छ।
हुवेइ र वुहानका पार्टी प्रमुखहरु क्रमश: सांघाईका मेयर र सानदोङ प्रान्तको राजधानी जिनानका प्रमुखले प्रतिस्थापन गरिएका छन्।
पार्टीको केन्द्रीय कमिटीको पूर्ण सहयोगमा नयाँ चुनिएका कमाण्डरहरुले महामारी रोक्न अग्रसरता देखाएका छन्।
स्थानीय नेतृत्व परिवर्तनको घोषणा हुनु एक दिन अगाडिमात्र हुवेइ प्रान्तले एकै पटक १३ हजार ३३२ जनामा संक्रमण थपिएको घोषणा गरेको थियो। जुन चीनभर एकै दिन १५ हजार १ सय ५२ थियो। यो संख्या अघिल्लो दिनको तुलनामा सात गुणा बढी हो र हालसम्म भएको संक्रमणको एक तिहाइ थियो।
पूर्ण जेनेटिक समीक्षा र परीक्षणलाई रोक्दै तीब्र रुपमा सिटी स्क्यानबाट परीक्षण थालिएको छ। जसले परीक्षणलाई छिटो बनाएको छ। यही परीक्षण पद्धतिमा गरिएको परिवर्तनले एकै पटक संख्या बढेको बताइएको छ। यसले संक्रमितलाई छिटो उपचार गर्न सहयोग पुर्याउने र छिटो निको हुने अपेक्षा गरिएको छ।
बिहीवार नै चीन सरकारले दुई हजार ६ सय जनसेनाका स्वास्थ्यकर्मीलाई वुहानमा उतारेको छ। त्यस्तै चीनका अन्य स्थानबाट तीन हजार १ सय ७० गैर सैनिक स्वास्थ्यकर्मी सहितको २१ टोली पठाएको छ।
हालसम्म वुहानमा देशका विभिन्न भागबाट २१ हजार ५ सय स्वास्थ्यकर्मी खटाइएको छ।
संक्रमितको संख्यामा वृद्धि भएसँगै वुहान तथा हुवेइमा अस्पतालमा शैया पनि थपिएको छ।
पछिल्लो तथ्यांक अनुसार हालसम्म ६४ हजार ४ सय २८ मा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एक हजार ४ सय ९१ जनाको मृत्यु भइसकेको छ। त्यस्तै निको भएर घर फर्किनेको संख्या पनि बढ्दै गएको छ। हालसम्म ७ हजार ४८ जा विरामी निको भएर घर फर्किएका छन्। हुवेइमा मात्र हालसम्म ५१ हजार ९८६ जनामा संक्रमण देखिएको छ। जसमा मृत्यु हुने हुवेइका मात्र एक हजार ४ सय ६२ जना रहेका छन्।
चीन बाहिर जापानमा एक जनाको मृत्यु भएको छ।
निको भएका विरामीको प्लाज्मा संकलन गरिँदै
निको भइसकेका विरामीको शरीरमा रहेको प्रतिरक्षा शक्तिलाई संक्रमितमा हस्तान्तरण गर्दै उपचार थालिएको छ।
त्यस्तै १० जना गम्भीर अवस्थाका विरामीलाई निको भएका विरामीबाट संकलित ब्लड प्लाज्मा दिएर अध्ययन गरिएकोमा उनीहरु पनि छिटो निको भएका छन्। हालसम्म सीओभिआइडी-१९ नाम दिइएको यस संक्रमणको प्रभावकारी उपचार तथा भ्याक्सिन पत्ता नलागेको अवस्थामा 'प्लाज्मा डोनेसन'लाई प्रभावकारी भएको ठहर गरिएको छ।
हुवानको जिनइनथान अस्पतालका निर्देशक झाङ तिङयुका अनुसार निको भइसकेका विरामीमा पर्याप्त मात्रामा एण्टी बडी भएको र त्यसले भाइरससँग लड्नसक्ने भन्दै निको भइसकेका विरामीलाई प्लाज्मा दान गर्न अनुरोध गरेका छन्।
यसैबीच हुवेइको स्याओकान शहरले संक्रमण विरुद्ध लड्न 'वार टाइम कन्टोल' योजना अगाडि बढाएको छ।
शहरलाई 'लक डाउन' गर्दै सबै नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ।
फेब्रुअरी १३ सम्ममा ५ हजार बढी मानिसहरु उपचारपछि घर फर्किएका छन्। फेब्रुअरी ७ यता हरेक दिन ५ सय जना संक्रमित निको भएर घर फर्किरहेका छन्।
यता हुवेइले नयाँ वर्षको विदा थप गरेको छ। फेब्रुअरी २ सम्म दिइएको विदालाई बढाएको स्थानीय सरकारले पुन फेब्रुअरी २० सम्म पुराएको हो।
यता शहरहरुमा सामान्य रुघा खोकीका औषधी बिक्रीमा रोक लगाइएको छ। फार्मेसीहरुलाई यस्ता औषधी बिक्री गर्न रोक लगाइएको हो। सामान्य रुघा खोकी आउँदा एण्टिवायोटिक खानुको सट्टा अस्पतालमा उपचारका लागि जान अनुरोध गरिएको छ।
बिहीवारम वुहानमा १४ सय थप सैनिक स्वास्थ्यकर्मीहरु पुगेका छन्। त्यस्तै थप १२ सय स्वास्थ्यकर्मी पठाउने तयारी भइरहेको छ।