PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आस्थाको मेटल लभ, तर क्राउडदेखि टाढै..



मन्दिरा खत्री

आस्थाको मेटल लभ, तर क्राउडदेखि टाढै..

मेटल ब्यान्डको भोकलिस्ट। रफ पहिरन, आक्रमक शैली। आस्थाको यही लुक्स उनको पहिचान हो। साथीभाइ माझ सफ्ट टोनमा कुरा गर्ने आस्था स्टेजमा भने आक्रामक सुनिन्छिन्।  संगीत पनि उस्तै  उनको स्वरले गुञ्जयमान हुन्छ स्टेज।

सानैदेखि कन्सर्टमा जान रुचाउने आस्था मेटल सर्कलमै हुर्किन्। बिस्तारै उनलाई मेटल जनराका गीत संगीतमा रुची बढ्न थाल्यो। हाईस्कूल पढ्दादेखि नै मेटलका गीतहरु बढी नै सुन्थिन् उनी। साथी सर्कल पनि उस्तै। मेटल ब्याण्डकै 'कभर सङ'बाट उनले ‍औपचारिक रुपमा सांगीतिक करियर सुरु गरेकी थिइन्।

'सफोकेसन','डाइङ फिटरस'लगायतका ब्याण्डका गीतहरु बढी सुन्ने २० वर्षीया आस्था अहिले 'क्रुर ब्याण्ड'को भोकलिस्ट छिन्। युवा वर्गमाझ पपुलर मेटल गीतमार्फत उनी आफ्नो सपना पूरा गर्न तल्लिन छिन्। तर आस्थालाई मेटल कन्सर्टमा आउने 'क्राउड' भने मनपर्दैन।

मेटल गीत सुन्ने जमात निकै कम छ। लाउड म्युजिक र हेभी भ्वाइसको सहारामा रम्नेहरु यस्ता कन्सर्टमा पुग्छन्। त्यही क्राउडले नै गायकलाई अझै उग्र गाउन प्रेरित गर्छ।

तर आस्था यहाँ फरक छिन्। उनी आफ्ना 'क्राउड' लाई त्यति रुचाउँदिनन्। कारण – लागुपदार्थ।  

मेटल कन्सर्टमा आउनेहरु धेरैजसो लागू पदार्थ सवन गर्ने गरेको उनको अनुभव छ। त्यसपछि केही त उच्छृङ्खल व्यवहार गर्छन्।

मेटल ब्यान्डलाई जीवनको एउटा हिस्सा मान्ने आस्था भन्छिन्, 'मलाई मेटल क्राउड नै मनपर्दैन। कन्सर्ट हेर्न आउने दर्शकहरु थोरै। लागुपदार्थ सेवन गर्ने बढी हुन्छन्।'

गायकले सांगीतिक प्रस्तुति दिइरहँदा क्राउड त्यसबाट विमुख भयो भने गायकले पनि राम्रो प्रस्तुति दिन सक्दैनन्। त्यसैले दर्शकको व्यवहारले गर्दा कन्सर्टमा उनले धेरैपटक खिन्न महसुस गरेकी छन्।

'मानिसहरु कन्सर्ट सुन्न र म्युजिक फिल गर्न आँउछन् कि लागुपदार्थ सेवन गर्न? उनी प्रश्न गर्छिन्।

आस्था स्टेजमा आफूसँगै लडिरहेकी हुन्छिन्। राम्रो गाउने प्रयासमा। तर, कन्सर्ट हेर्न आउने मानिसले लागुपदार्थ सेवन गर्दा प्रहरी आएर कन्सर्ट नै रोकि दिएको तितो अनुभव सुनाउँदै भनिन्, 'मे र मेरो ब्याण्डका सदस्यहरुले लागुपदार्थ सेवन नगरे पनि कन्सर्टमा देखिने यस्ता क्रियाकलापले गर्दा आफू कस्तो ठाँउमा छु भनेर आफैलाई धेरै पटक प्रश्न सोधेको छु।'

तर उत्तर अहिलेसम्म पाउन सकेकी छैनन् उनले। बरु प्रश्नहरु थपिँदै छ।

समाजप्रतिको गुनासो

पुरुषको तुलनामा निकै कम संख्यामा मात्रै महिलाहरु मेटल ब्याण्डमा सक्रिय छन्। मेटलका गीतसंगीतमा रुचि भएकै कारण समाजले उनलाई हेर्ने दृष्टिकोण फरक रहेको अनुभूति उनले गरेकी छिन्। त्यसैले समाजप्रतिका गुनासा आफ्नो लाउड भ्वाइसमार्फत व्यक्त गर्छिन्।

'महिला भएर मेटल ब्याण्डमा लाग्दा समाजले हामीलाई हेर्ने नजर नै फरक हुँदो रहेछ। कतिपयले त मलाई 'तेरो त बिहे नै हुँदैन' समेत भने। ब्याण्डमा लाग्नेहरु लागुपदार्थ खाएर बिग्रेर हिड्छन् भन्ने बुझाइ हाम्रो समाजमा छ,' उनले सुनाइन्।

समाजले मेटल ब्यान्डमा लाग्नेहरुलाई 'ट्यापे' र 'ट्यापिनी'को दर्जा दिने गरेको आस्थाको बुझाइ छ। मानिसहरुले त्यसो भन्दा नराम्रो लाग्छ उनलाई। तर समाजमा चेत आउने छाँट देखेकी छैनन्। 

समाजका यस्तै टिकाटिप्पणीसँग लड्न नसकेर आस्थाले बरु ब्याण्ड नै छाड्ने निर्णय समेत गरेकी थिइन्। तर फर्केर फेरि त्यही स्टेजमा माइक समाउन उनले आफैलाई रोक्न सकिनन्। चुनौतीको सामना गर्दै अगाडी बढी रहिन्।

महिला भएर मेटलमा लाग्नु कतिको चुनौतिपूर्ण छ त? 'पुरुषको तुलनामा महिलाका लागि मेटल ब्याण्डमा लाग्न र यसलाई निरन्तरता दिन निकै नै चुनौतीपूर्ण छ,' उनको जवाफ यस्तो।

चुनौतीको सामना गर्दा परिवारको साथ पनि पाइनन् उनले।

आस्था दुखेसो पोख्छिन्,'घर परिवारको साथ नहुँदा त झन निकै गार्ह्रो हुँदो रहेछ। अझ मेरो परिवारको कोही संगीतमा नलागेर पनि होला मलाई गाह्रो नै भयो।'

ब्याण्डमा लाग्न नदिने हो कि भन्ने डरले सुरुका दिनमा उनले परिवारलाई आफ्नो चाहनाबारे सुनाएकी थिइनन्। परिवारको अनुमति बिना नै ब्याण्डमा लागिन्। गीत गाइन्।

'मेरो इच्छा थियो मेटलमा लाग्नु। रुचि लागेको कुरा मैले गरें।' आस्था सुनाउँछिन्। तर पछि घरपरिवारले उनी मेटलमा लागेको थाहा पाए। उनको त्यो कदमलाई परिवारले रुचाएन।

आमा, बुवा, दाई र उनी गरि चार सदस्यको परिवारमा आस्था कान्छी छोरी हुन्। भ्याली पब्लिकबाट स्कूल लेभल सकेकी उनी हाल रिलायान्स एकेडमीमा स्नातक तहमा अध्यनरत छिन्।

'कहिले काहि कन्सर्ट र टुरको लागि पनि धेरै दिन घरबाट टाढा रहनुपर्ने हुन्छ। त्यसैले गर्दा पनि घरमा कन्भिन्सड गर्न निकै गाह्रो हुन्ने रहेछ।' उनले भनिन।

मेटलमा लागेर जीवन गुजारा भन्दा पनि मनलाई सन्तुष्टि मात्र मिल्ने आस्थाको मत छ। अहिले गीत संगीतमा लागेर जीवन गुजारा गर्न निकै मुस्किल रहेको उनले बुझेकी छिन्।

**

मेटल ब्याण्डमा लाग्नु अघि र लागेपछि आफ्नो जीवनमा धेरै नै परिवर्तन आएको आस्थाले महसुस गरेकी छिन्।

क्रुर ब्याण्डमा आस्थासँगै तीन जना पुरुष भोकलिस्टहरु आबद्ध छन्। पछिल्लो समय आस्था सहित उनको टिम कन्सर्टको लागि बैंग्लोर पुगेका थिए। मेटल ब्याटल जितेपछि ब्याङ्लोर जाने मौका जुरेको थियो। उनको लागि त्यो नयाँ अनुभव थियो।

'मेटल ब्याण्डमा लागेपछि आफूले पनि ब्याण्डको लागि केही गर्नुपर्छ भन्ने जिम्मेवारी थपियो। ब्याण्डको उद्देश्य बमोजिम काम गर्दै अघि बढ्नु पर्यो। अहिले कन्सर्टको लागि टुर हिड्नु परिरहेको हुन्छ जुन पहिला पर्दैन्थ्यो।' आस्थामा आत्मविश्वास बढेको छ।

आफ्नो सपना पूरा गर्न हिँडेकी उनी आफ्नो गीत सन्न आउने युवा युवतीहरुलाई लागुपदार्थको कुलतमा नफस्न सुझाँउछिन्।

भन्छिन्,'सबैले आफ्नो सपना पूरा गर्न पाउनुपर्छ। म गीतमार्फत आफूले चाहेको गर्दैछु। यसलाई नै निरन्तरता दिँदै अब पढाईलाई पनि सँगसँगै लैजाने उनको उद्देश्य छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell