PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

'क्रिमिनल' वाल्टर मिलरदेखि 'बबी लभ' सम्म: एउटा यस्तो प्रेम जसलाई जोगाउन सेरिलले लेखिन् ओबामालाई पत्र



पहिलोपोस्ट

'क्रिमिनल' वाल्टर मिलरदेखि 'बबी लभ' सम्म: एउटा यस्तो प्रेम जसलाई जोगाउन सेरिलले लेखिन् ओबामालाई पत्र

सबेरै कसैले ढोका ढकढकाउनु स्वभाविक थिएन। म भर्खरै बिहानी नास्ताका लागि चिया बनाउँदै थिएँ। बबी अझै पनि ओच्छ्यानमै थियो। दिन सुरु हुनुअघि आखिर को आइपुग्यो?

धेरैबेर अनुमान गरिन। सरासर गएँ र ढोका बिस्तारै खोलेँ। बाहिर ठिङ्ग उभिएका थिए, केही प्रहरी।

सायद, उनीहरु झुक्किए होलान्।

किनकि हाम्रो भन्दा ठिक पल्लो कोठामा प्रहरी आइरहन्छन्। त्यहाँ एक महिला बस्छिन्। उनी धेरैजसो अस्वभाविक व्यवहार देखाउँछिन्। तिनै महिलाको कोठामा हो प्रहरी आउने, अनुसन्धानका लागि। खैर, उनीमाथि प्रहरीले किन कडा निगरानी राख्छ भन्ने विषयमा चाहिँ हामीले खासै चासो राखेनौं, कहिल्यै पनि।

लागेको थियो, यसपटक पनि प्रहरी उनैलाई खोज्दै आएको हो। हामी बस्ने ठाउँसँगै भएकाले प्रहरी झुक्किएको हुनुपर्छ।

तर, उनीहरु त केही नसोधी सरासर हाम्रै घर भित्र पो छिरे त।

एक, दुई, तीन… बाह्र जना।

त्यहीँ उभिएकी थिएँ तर मलाई वास्तै नगरी अगाडि बढे। उनीहरुको ज्याकेटको पछाडि ठूला अक्षरमा लेखिएको 'एफ.बी.आई'ले झस्क्यायो। प्रतिक्रिया भने जनाउन पाइन।

प्रहरीहरु हाम्रो बेडरुममा छिरे। निदाइ रहेको बबीलाई उठाए र सोधे - तेरो नाम के हो?

'बबी… बबी लभ।'

प्रहरीको अप्रत्याशित आगमनले मलाई तर्सायो। सायद, बबीलाई पनि। त्यसैले नाम उच्चारण गर्न गाह्रो भइरहेको थियो उसलाई।

हृदय अस्थिर भयो।

एक प्रहरीले कडा स्वरमा सोधे- 'तेरो असली नाम के हो? त्यो भन्।'

त्यसपछि बबीको स्वर झन् मधुरो भयो। उसले निकै निरीह भएर केही भन्दै थियो। के बोल्यो? मैले सुनिन। उसले बोलिसक्दा नसक्दै अर्का प्रहरी चिच्याए, 'तँ निकै टाढासम्म भागिस्। अब पुग्यो।'

अधैर्य भएपछि म केही नसोची कोठामा छिरेँ। प्रहरीले मलाई कोठा बाहिरै रहन निर्देशन दिँदै भन्यो, 'पछाडि हट पछाडि। तिमीलाई थाहा छैन यो मानिस को हो।'

हेर्दाहेर्दै बबी, मेरो प्यारो श्रीमानको हातमा हत्कडी लगाइयो। म भावशून्य भएँ। मैले गर्न सक्ने केही रहेन। विवाहपछिको ४० वर्ष उसँग बिताइसकेको थिएँ। बबी असल मानिस थियो। यत्रो वर्षमा कुनै अपराधिक गतिविधिमा संलग्न भएको थाहा थिएन मलाई। रुँदै कराउँदै सोधेँ - के भइरहेको छ यहाँ? तिमीले कसैलाई मार्‍यौ बबी? किन उनीहरुले तिमीलाई लैजाँदै छन्?

पाँच वर्षअघि, प्रहरीले घरैबाट गिरफ्तार गरेर लैजानुअघि बबीले मलाई उसको विगत सुनायो, अपत्यारिलो अनि नाटकीय। त्यो विगत मेरा लागि तीतो सत्य थियो।

+++

‘सेरिल यो वर्षौ अघिको घटना हो। म नर्थ क्यारोलिनामै बस्थेँ। त्यस समय म वाल्टर मिलर थिएँ,’ बबीले आफ्नो कथा अघि बढायो।

हाम्रो परिवार गरीब थियो तर उस्तो नाटकीय केही भोग्नु परेको थिएन। तर, जब म चौध वर्षको भएँ, सबै उथलपुथल पारेँ।

सन् १९६४ को एक साँझ साथीहरुसँग कन्सर्ट हेर्न गएको थिएँ- साम कुकीको। मानिसहरुको भिड लागेको थियो। मैले भने पहिले नै अगाडिको लहरमा आफ्नो लागि ठाउँ बनाएँ।

प्रस्तुति सुरु हुँदासम्म ठीकै थियो। सामले दुईवटा गीत गाइसक्दा भिड अनियन्त्रित बन्यो। उनले पटकपटक बस्न आग्रह गरे तर कसले टेर्नु? त्यसैले उनी रिसले मुर्मुरिँदै मञ्चबाट बाहिरिए।

घण्टौदेखि उसैलाई पर्खियौं। उनी दुईवटा गीत गाएर फन्किने? मलाई रिस उठ्यो। चिच्याएर गाली गरेँ। अपशब्द बोलेँ।

त्यहाँ देखाएको गलत आचरणका कारण मलाई गिरफ्तार गरियो। त्यसपछि म झन् खराब हुँदै गएँ। मानिसको कारबाट पर्स चोर्न थालेँ। हुलाकबाट सरकारी चेकहरु पनि।

दिनदिनै आफू बाठो र बलियो भइरहेको ठान्थेँ।

जुनदिन स्कूलको ब्यान्ड रुमबाट सामान चोर्दै गरेको अवस्थामा म समातिएँ त्यसपछि सबैकुरा बद्लियो। मलाई पानी जहाजमा चढाएर सुधार केन्द्र पठाइयो- मोरिसन ट्रेनिङ स्कूल।

आठ जना सन्तान हुर्काइरहेकी एक्ली आमाका लागि त्यो क्षण निकै पीडादयी थियो।

त्यस सुधार केन्द्रका मान्छे मलाई मन परेनन्। खानेकुरा पनि घीनलाग्दो। अनि सुधारका लागि ल्याइएका मानिसहरु पनि हिंस्रक। उनीहरुले मलाई खुब पिटे। ती घाउका टाटा मेरो शरीरमा अझै छन्।

सुधार केन्द्रको गन्ध सहन सक्ने थिएन। हरेक रात निदाउनु अघि रेलको सिट्ठी कर्कशलाग्दो गरी सुनिन्थ्यो।

म त्यहाँ बस्न सकिन।

एकरात सधैंजस्तै रेलको सिट्ठी बज्न थाल्यो। म पालेको आँखा छलेर भागेँ। जता जता रेलको आवाज आउँछ त्यतै दौडिएँ। अनि स्टेसनसम्म पुगेँ। तर, रेल छुटेछ। त्यसपछि रेलको ट्र्याक पच्छ्याउन थालेँ। त्यतिन्जेल हिँडे जबसम्म वासिङटन डिसी पुगिन।

वासिङटन डिसीमा मेरो ठूलो दाइ बस्थे। उनले मलाई आश्रय दिए। नयाँ हाइ स्कूलमा भर्ना गराइदिए। स्कूलमा साथीहरु बनाएँ। बास्केटबल खेल्न थालेँ। दैनिकी सामान्य बन्दै गयो। अन्तत: यस पटक पनि मैले खराब संगतबाट आफैलाई जोगाउन सकिन।

यसपटक म बैंक लुट्ने टोलीसँग थिएँ। डिसीदेखि नर्थ क्यारोलिनासम्म पुग्थ्यौं हामी लुट्न कै लागि। किनकि त्यहाँका बैंकको सुरक्षा खुकुलो हुन्थ्यो। अनि हामीलाई सहज। हरेक पटक लुटिसकेपछि हामी मस्ती गर्थ्यौं। ग्याङ्स्टरजस्तै महसुस हुन्थ्यो।

एकदिन बैंक लुटेर भाग्दै थियौं। पार्किङ लटमा पुलिस हामीलाई पर्खिरहेको रहेछ। त्यस बैंकमा भएको ‘साइलेन्ट अलार्म’ बारे त चाल नै पाएनौं।

म भाग्न खोजेँ, पार्क गरिएका कारहरुमा लुक्दै, छल्दै। तर, एकाएक गोली प्रहार भयो। त्यसपछि म एकैचोटी अस्पतालमा ब्युझिएँ।

न्यायाधीशले २५ वर्षको जेल सजाय सुनाए। म सेन्ट्रल जेल जाने भएँ। जहाँबाट बाहिरी दुनियाँको कल्पना समेत गर्न कठिन पर्थ्यो।

मेरी आमा बितिन्। सायद, मेरै पीरले। जिन्दगीभर उनले मेरो सुधारको कामना गरिन्। त्यही कामना गर्दागर्दै नै बितिन्। एक्ली आमा भएर आठ सन्तानलाई बराबर समय दिन, ख्याल राख्न पाइनन्। मैले उनको त्यही बाध्यताको फाइदा उठाएँ।

उनको मृत्युको खबरले नमज्जाले झस्क्याएको थियो मलाई। त्यसैले मैले सुध्रने प्रतीज्ञा गरेँ। जेलमा काम सघाएँ। असल बनेँ। सबैसँग राम्रो व्यवहार गरेँ। केही समयमै मलाई केही उदार अनि स्वतन्त्र रहन सकिने जेलमा सारियो। नयाँ ठाउँ क्याम्प जस्तै थियो। त्यहाँ म स्वतन्त्र थिएँ। त्यहाँबाट मैले आफन्तलाई फोन गर्न पाउँथेँ। अनि खुशीको कुरा, त्यहाँ मैले रेडियो कार्यक्रम बनाउन थालेँ।

हरेक बुधवार कार्यक्रम रेकर्ड गर्थेँ र त्यो कार्यक्रम लोकल कलेजका स्टेसनहरु मार्फत् बज्थ्यो।

मलाई आनन्द अनुभूति हुन थाल्यो। म त्यही दूनियाँमा रमाउन थालेँ।

फेरि पनि खुशीको श्रृङ्खला धेरै समय भने टिकेन। जेलको क्याप्टेनले उनलाई ‘पंक’ भन्दै अश्लिल गाली गरेको आरोप लगाए। उनले पार्किङमा कसैले आफूमाथि अपशब्द गरेको बताए। तर, त्यस समय म भान्सामा थिएँ। यो कुरा धेरैलाई थाहा थियो। तर, क्याप्टेनले दोष लगाएपछि कसको के लाग्नु?

त्यसपछि म जति निहुँरिएँ त्यति पेल्दै गए। नगरेको गल्तीको सजाय दिन थालियो मलाई। एकपटक त पत्रिका चोरेको आरोप खेप्नु पर्‍यो। बिरामी हुँदा समेत नक्कल गरेको दोष लगाए। मविरुद्ध फाइलहरु बढ्दै गए। अन्तत: मेरो भूमिका पनि बद्लियो। हरेक बिहान घाम लाग्नु अघि उनीहरु लिन आउँथे। बस चढेर राजमार्गसम्म पुर्‍याउँथे। राजमार्ग सरसफाई गर्नुपर्थ्यो। मानिसले खाएर फालेको फोहोरमा हात हाल्नु पर्थ्यो।

त्यो सब सहन गाह्रो भइरहेको थियो।

बिस्तारै मैले पैसा जम्मा गर्न थालेँ। फेरि एकपटक सजायबाट भाग्ने योजना बनाउन थालेँ। बसको रुट याद गरेँ। कुन दिनको सुरक्षा गार्ड अलि सहज छन् भन्ने ध्यानमा राखेँ। यस पटक सतर्क हुन आवश्यक थियो। त्यसैले दिमागमा योजना बनाउँदै गर्दा जेलमा क्याप्टेन लगायतले चाहेजस्तै बनिदिएँ।

एक रात कारागारका सबै टिभीमा मस्त थिए। म भने आफ्नो लकर खाली गर्न थालें। रेडियो कार्यक्रम चलाउने भएकाले मलाई एकजोर सिभिल ड्रेस दिइएको थियो। जेलको गार्मेन्ट भित्र त्यही लगाएँ र पल्टिएँ। रातभर निद्रा परेन। हरेक तीन घण्टामा प्रहरी आएर कैदीको टाउको गन्थ्यो। टर्चको उज्यालोले म झल्यास्स हुन्थेँ तर बिहान भइसकेको हुँदैनथ्यो।

भोलिपल्ट राजमार्ग जाने गाडी आयो। त्यस दिन म सबैभन्दा पछिल्लो सिटमा गएर बसेँ, आपतकालीन द्वारको छेवैमा। म भाग्नु पर्ने ठाउँ पुग्न पाँच मिनेट बाँकी छँदै सम्पूर्ण तयारी सकेँ। जब गाडी रोक्नका लागि चालकले रफ्तार केही कम गरे। म हाम फालेँ। त्यसपछि पछाडि फर्किंन। अर्लाम जोड जोडले बज्दै थियो। अहँ मैले पछाडि हेरिन। शरीरमा अल्झिएको त्यो हरियो लुगा फालेँ र भागेँ।

ग्रेहाउन्ड स्टेसन नभेटिएसम्म भागेँ। भागेर कहाँ जाने थाहा थिएन। स्टेसनमा एक मानिस भेटेँ जसले मेरो हालतप्रति दया देखाए र न्यूयोर्कसम्म पुग्न बसको टिकेट काटिदिए।

बसमा मसँगै परेकी एक महिलाले कुराकानी अघि बढाइन्। केही बेरमा उनले अनायासै प्रश्न गरिन्। ‘तपाईँको नाम के हो?’

खोइ मैले के सोचेँ र भने- ‘बबी। बबी लभ।’

ठीक त्यसमयमा हो वाल्टर मिलरको मृत्यु भएको।

ग्रेहाउन्ड स्टेसनमा बबी लभको जन्म भयो। नयाँ जीवनको सुरुवात पनि।

१९७७ को नोभेम्बरमा न्युयोर्क आएँ, खल्तीमा जेलमै जम्मा गरेको सय डलर बोकेर। त्यही एक जोर लुगा र नयाँ परिचय जोडिएको थियो।

यो भव्य शहरमा म कामविहीन। पाउरोटी र पानीको भरमा रेलको स्टेसनमा समय बिताएँ। मसँग आफू कहाँको नागरिक हुँ भन्ने प्रमाणसमेत थिएन। विगत लुकाउन सकिएला तर बिर्सिन सकिदैन। त्यसैले केही कुरा लुकाउन झुटो बोल्नु पर्छ अरुसँग अनि आफूसँगै पनि।

झुटो बोलेरै सामाजिक सुरक्षा नम्बर लिएँ, आफूसँग भएको सबै कागजपत्र हराएको बहानामा। एक महिला कर्मचारीले दयालु भएर त्यस कार्डमा छाप लगाउँदै गर्दा मैले सोचेको थिएँ- अब नयाँ पहिचान नयाँ जीवन। बबी लभ विगतबाट उम्कियो।

त्यही सामाजिक सुरक्षा कार्डको सहारामा जन्मदर्ता भयो। ड्राइभिङ लाइसेन्स पनि। ती कागजमा कानूनी छाप लगाउने मानिस समेत भेटायो, भाग्यले।

कागजले काम दिलायो। आफ्नै बुतामा बाँच्न सक्ने भएँ।

‘त्यसपछि त तिम्रो र मेरो भेट भइहाल्यो नि सेरिल।’

तिमी निकै शान्त स्वभावकी थियौं, रक्सी नपिउने, चुरोट नतान्ने। मभन्दा ठीक उल्टो। मेरोजस्तो विगत नभएकी। सोचेको थिइन, तिमीसँग प्रेममा पर्छु, विवाह गर्छु भन्नेबारे। त्यसैले तिमीलाई आफ्ना कुराहरु सुनाइन।

म दक्षिणमा हुर्किएको सुनाए - त्यही सत्य थियो। त्यसपछि म केही नयाँ सुरुवात गर्न न्यूयोर्क आएँ, त्यो पनि सत्य हो। अरु यथार्थ बताइन तर झुटो पनि बोलिँन।

तिम्रा लागि बबी लभको पृष्ठभूमिभन्दा बढी महत्वपूर्ण उसँगको वर्तमान बन्यो। म हुनु पर्याप्त थियो भने मेरो विगत सुनाउनु आवश्यक लागेन।

+++

बबीले यति सुनाउँदा मसँग शब्द थिएन। तर, पुराना दिन झल्झल्ती भए। १९८० मा हाम्रो विवाह भयो। त्यसपछि चार सन्तानका आमाबुबा बन्यौं।

बबीलाई मैले भरपुर माया दिएँ, जसरी उसले हामीलाई दियो। तर, जिन्दगीमा केही न केही छुटिरहेको आभाष भने हुन्थ्यो।

उसले कहिले पनि फोटो खिचाएन। हाम्रो पारिवारिक फोटो सधैं अपूरो रहन्थ्यो। तर, जिन्दगी त उसकै प्रेमले हराभरा थियो। ऊ हाम्रै लागि घण्टौ खट्थ्यो। कामबाट फुर्सदको समय छोराछोरीसँग बिताउँथ्यो।

धेरै नबोल्ने, अंगालो नहाल्ने, नजिस्किने। एकोहोरो काम गर्ने, पैसा कमाउने अनि हामीलाई अभाव महसुस हुनै नदिने। सोच्थेँ - उ यसरी नै प्रेम प्रकट गर्छ। फरक हुर्काइले हाम्रो रुची र दृष्टिकोणमा केही फरक पार्‍यो, सायद।

यही कुरा स्वीकार्दा स्वीकार्दै गाह्रो हुन्थ्यो अनि एक्लै रुन्थेँ। सन् २०१४ को ख्रिस्टमसमा हो मैले ईश्वरसँग रुँदै कामना गरेको- मैले मेरो श्रीमानको मुटु केही कोमल बनाइदिन प्राथना गरेकी थिएँ।

त्यसको ठीक केही दिनपछि त प्रहरीले उसलाई बेडरुमबाटै गिरफ्तार गरिहाल्यो।

ऊ पक्राउ परेको खबर हेडलाइन बने। लाग्यो - हाम्रो परिवार दुनियाँका कुरा काट्ने विषय बन्यो। चर्चमा मानिसहरु मेरो कान छेउ आएर फुस्फुसाउँथे- ‘तिमीलाई यो सबै थाहा थियो है? तिमीलाई उसको बारेमा थाहा हुनु पर्थ्यो।‘

म आफू पनि मूर्ख प्रमाणित भएँ। विवाहको ४० औं वर्ष। चार सन्तान सँगै हुर्कायौं तर पनि मैले मेरो पतिलाई चिनिँन?

मेरो घरमा सत्य मरिसकेको थियो। हामी सँगै हाँस्यौ सँगै रोयौं तर पनि उसले मलाई केही भनेन। म उसँग धेरैपटक रिसाएँ तर कहिले पनि घृणा गर्न सकिन। घृणा गर्न सक्दिन, त्यसैले महसुस हुन्थ्यो ऊप्रतिको माया।

मलाई यो यथार्थबाट पर कतै बिलाउनु थियो।

तर कसरी?

म काममा गएँ। मलाई हेर्ने र घेर्नेहरुसँग मलाई माया चाहिएको गुनासो गरेँ। मलाई अंगाल्न आग्रह गरेँ। मलाई लाज लागेको थियो तर त्योभन्दा बढी मलाई झुटले दुखाएको थियो।

सायद, बबीलाई पनि त्यस्तै महसुस भइरहेको होला। त्यो भयानक विगत दबाएर राख्न उसलाई कति गाह्रो भयो होला? अनि एक्कासी प्रहरीले पक्राउ गर्दा के बितेको होला? उसलाई पनि मायाको खाँचो होला नि।

उसलाई भेट्न पहिलो पटक जेलमा जाँदा ऊ नराम्ररी रोयो। उसलाई लागेको थियो, म उसँग सम्बन्ध विच्छेद गर्दैछु।

तर, उसलाई त मैले प्रेम गरेको थिएँ। उसको झुटले दुखाएको साँचो हो तर अझै पनि घृणा गर्न सकेको थिइन। हरेक सुख, दु:खमा साथ दिने वाचा गरेर विवाह गरेको थिएँ। मैले उसलाई छोड्नेबारे सोचेको समेत थिइन।

मैले गभर्नरलाई पत्र लेखेँ। ओबामालाई पनि पत्र लेखेँ। बबीको पक्षमा चर्चदेखि काम गर्ने ठाउँसम्मका मानिससँग कुरा गरेँ।

मलाई वाल्टर मिलरको बारेमा थाहा थिएन। तर, बबी लभको बारेमा भन्नुपर्ने सबैकुरा भनेँ। बबी वास्तवमै असल थियो।

जेलमा ठीक एक वर्ष बिताएपछि ऊ छुट्यो। घरमा आउँदा मैले प्रश्न तेर्स्याएँ- अब हामी लभ्स कि मिलर्स?

ऊ जोडजोडले चिच्यायो- ‘वि लभ’ ‘वि लभ’।

ऊ धन्य छ मैले माफी दिएकोमा। तर, मैले उसलाई माफ मात्र गरिन। माफ गर्दा, ऊसँग रहँदाबस्दा आइपर्ने हरेक समस्या र अप्ठ्याराहरुलाई पनि स्वाकारेँ। अब म त्यो स्वीकारोक्तिको ऋणी बन्न चाहन्न।

अब त दुनियाँले चिन्छ हामीलाई। लुकाउनु पर्ने केही बाँकी छैन।

तर, पनि म बबीलाई भनेको छु - बबी मैले तिमीलाई स्वीकारेँ तर तिम्रो विगत फेरि स्वीकार्ने छैन। किनकि मैले अपराध गरेको छैन, जेल परेको छैन, भागेको छैन। यही सत्य मैले आफ्नो परिवारसँग लुकाएको छैन। तर, मैले सबैलाई माफ गरेको छु। मसँग अब आफ्नै कथा छ, सुनाउनका लागि।

(यो स्टोरी ह्युमन अफ न्युयोर्कले इन्स्टाग्राम स्टोरीमा राखेको छ, प्रेम दिवसका अवसरमा गरिएको त्यसैको भावानुवाद) 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

(1/11) “It was just a normal morning. Almost exactly five years ago. I was making tea in the kitchen. Bobby was still in bed. And we get this knock on the door. I opened it up slowly, and saw the police standing there. At first I wasn’t worried. We had this crazy lady that lived next door, and the police were always checking up on her. So I assumed they had the wrong address. But the moment I opened the door, twelve officers came barging past me. Some of them had ‘FBI’ written on their jackets. They went straight back to the bedroom, and walked up to Bobby. I heard them ask: ‘What’s your name?’ And he said, ‘Bobby Love.’ Then they said, ‘No. What’s your real name?’ And I heard him say something real low. And they responded: 'You've had a long run.' That’s when I tried to get into the room. But the officer kept saying: ‘Get back, get back. You don’t know who this man is.’ Then they started putting him in handcuffs. It didn’t make any sense. I’d been married to Bobby for forty years. He didn’t even have a criminal record. At this point I’m crying, and I screamed: ‘Bobby, what’s going on?’ Did you kill somebody?’ And he tells me: ‘This goes way back, Cheryl. Back before I met you. Way back to North Carolina.’”

A post shared by Humans of New York (@humansofny) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell