PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वीरगंज नाकामा ५ सय मुस्लिम परिवारलाई १९ घण्टा रोक,‘मोदीजस्तै ओली पनि धर्म विरोधी’



राधेश्याम पटेल

वीरगंज नाकामा ५ सय मुस्लिम परिवारलाई १९ घण्टा रोक,‘मोदीजस्तै ओली पनि धर्म विरोधी’

वीरगंज : प्रदेश २ को पूर्वी जिल्ला सप्तरीमा शनिवारदेखि हुन लागेको तीन दिने धार्मिक सभा(ईस्तमा)मा नेपाल भारतका हजारौं मुस्लिम समुदाय सप्तरीको यात्रामा निस्केका छन्। धार्मिक प्रचारप्रसार र कुरानबारे चर्चा गर्दै इस्लामिक धर्मावलीहरुलाई संगठित पार्ने सभाको उदेश्य छ।

जसमा ट्रयाक्टर, मोटरसाइकल, जीप, भ्यान, ट्रक बसबाट इस्लाम धर्मावलम्बीहरु पुग्ने क्रम जारी छ। तर सरकारको निर्देशनको कारण करिब १९ घण्टा भारतीय इस्लाम धर्मावलम्बीहरु प्रदेश २ को आठ जिल्लाको सीमा नाकामा प्रवेश गर्न पाएनन्। उनीहरुले सास्ती खेप्नुको साथै, खानापिनाको समस्या पनि भोगे र समयमा शौच र नित्यकर्म पनि गर्न नपाएको आरोप लगाइएको छ।

भारत,बिहार मोतिहारीका सहाबुद्दिन मियाँले भने,‘कस्तो सरकार छ, मुस्लिमकै निहुँमा भन्सार नाकामै १९ घण्टा रोकेको, न खान दिएको छ, न जान दिएको, गाडीको भन्सार कटाउन जाँदा पनि आलटाल गरी हिजो साँझदेखि आज दिउँसोसम्म घेरेर राखेको छ।’

उनले नेपाल भारतको राजनीतिक प्रसंगलाई समेट्दै भने,‘मोदी जस्तै नेपालका प्रधानमन्त्री ओली पनि धर्म विरोधी नै छन्।’
सरकारको गृह मन्त्रालयले सप्तरीको धार्मिक सभामा नेपाल, भारत, दुबई, कतार, पाकिस्तानबाट इस्लाम धर्मावलम्बीहरुलाई बोलाइएको भन्दै बिहीवार सभा नगर्न आफु मातहतको निकायलाई निर्देशन दिएपछि सुरक्षाकर्मीले सीमानाकामा कडाई गर्दै मुस्लिम समुदायलाई रोकेका थिए भने सवारी साधनको भन्सार तथा प्रवेशमा पनि भन्सार कार्यालयहरुले रोक लगायो।

बिहीवार साँझ ५ बजेदेखि शुक्रवार विहान ५ बजेसम्म करिब ५ सय मुस्लिम समुदाय शंकरचार्य गेटमा रोकिएका थिए। पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले माथिल्लो निर्देशन त्यसै गरी आएकोले जाँच गरी रोकिएको शुक्रवार विहान गृह मन्त्रालयबाट धार्मिक सभा सञ्चालन हुने निर्देशन आएपछि मध्यान्ह १२ बजे पछि प्रवेश गराएको बताए।

वीरगंज भन्सारस्थित सशस्त्र प्रहरी भन्सार गुल्मका डिएसपी अमर खत्रीका अनुसार अहिले अवस्था सहज भइसकेको बताए।‘अहिले बोर्डर समान्य भइसकेको छ, हामी पनि चेक गरी रक्सौल भन्सार कार्यालय र भारतीय सुरक्षा एजेन्सीलाई कडाई गरी पठाइसकेका छौ,’उनले भने,‘अहिले आउने सहजै गइरहेका छन्।’

प्रदेश २ को पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीलगायत सबै जिल्लाको ग्रामिण छोटी नाकाबाट पनि मुस्लिम समुदायको प्रवेश भइरहेको बताइएको छ। शुक्रवार साँझसम्म ३० हजारभन्दा बढीको सहभागिता भइसकेका बताइएको छ। सभामा २ लाख मुस्लिम समुदायको सहभागिता हुने अनुमान गरिएको छ।

नेपाल–भारतका मुस्लिममात्र सहभागी हुन पाउने

नेपाल र भारतबाहेक तेस्रो मुलुकबाट आएका मुस्लिम समुदायलाई फर्काउने शर्तमा सरकारले सप्तरीको बोदेबर्साइन नगरपालिकामा धार्मिक सभा सञ्चालन गर्न अनुमति दिएको छ। धार्मिक सभा सञ्चालनको अनुमति पाएसँगै मुस्लिम समुदायले सभाको तयारी तीव्र पारेका छन्।
 
गृह मन्त्रालयले नेपाल र भारतका धर्माम्बलीलाई मात्रै सहभागी गराउने भनिए पनि तेस्रो मुलुकहरुबाट पनि बोलाइएको भन्दै बिहीवार सभा सञ्चालनमा रोक लगाएको थियो। प्रदेश २ प्रहरी जनकपुरका एसएसपी राजेन्द्र चौधरीले नेपाल, भारतबाहेक देशबाट आएका मुस्लिम समुदायलाई स्वदेश फर्काउने निर्देशन बमोजिम जाँच गर्दै फर्काउने काम भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell