PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

महिलालाई कुकुर पाल्ने अधिकार नभएको भन्दै जब शहबाको 'आस्मान' माथि हानियो गोली …



पहिलोपोस्ट

महिलालाई कुकुर पाल्ने अधिकार नभएको भन्दै जब शहबाको 'आस्मान' माथि हानियो गोली …

पूर्वी अफगानिस्तानकी शहबा बराकजाय हरेक शुक्रवार नजिकैको पहाड चढ्न जान्थिन्। उनको परिवारका सदस्यहरु पनि उनलाई हाइकिङमा साथ दिन्थे। पहाड चढ्न सँगैसँगै जान्थ्यो साइबेरियन हस्की कुकुर। शहबाले कुकुरलाई 'आस्मान' नाम दिएकी थिइन्। आस्मान अर्थात् आकाश।

साइबेरियन हस्कीको आँखाको रंग निलो थियो। त्यसैले शहबाले उनको नाम आस्मान राखेकी थिइन्।

गत साताको शुक्रवार पनि शहबा आफ्नो परिवार र आस्मानका साथमा हाइकिङ गइन। तर, फर्कँदा आस्मान उनीहरुका साथमा थिएन। त्यस दिनको हाइकिङ शहबा परिवारका लागि दु:खद् बन्यो।

हाइकिङ गर्दागर्दै एक अपरिचित समूह शहबा परिवार भएको स्थानमा आयो र आस्मानमाथि गोली चलायो। सात महिनाको आस्मानको त्यही नै मृत्यु भयो।

उक्त समुहले आस्मानमाथि गोली चलाउनुको कारणबारे बताउँदा शहबा परिवार भयभित हुन पुगे।

'महिलाले कुकुर पाल्न हुँदैन' भन्ने तर्क गरेर ती समूहका व्यक्तिले आस्मानको गोली हानी हत्या गरेका थिए।

शहबा अफगानिस्तानको हेरात प्रान्तमा बालबालिकालाई कराते सिकाउँछिन्। उक्त आक्रमण उनको पेशाका कारण भएको हुनसक्ने उनको परिवारको अनुमान छ।

'हामीलाई थाहा छैन कि उनीहरुले त्यो आक्रमण गर्नुको कारण के हो। तर यो शहबाको कामका कारण पनि हुनसक्छ,' शहबाकी दिदी शेतायेशले भनिन्, 'उनी अफगानिस्तानकी पहिलो महिला हुन् जसको आफ्नै खेलकुद क्लब खोलेकी छिन्। यी कुरा यहाँ महिलालाई गर्न बर्जित छ।'

शहबाले १० वर्षदेखि बालबालिकालाई कराते सिकाउँदैछिन्। उनी बढी बालिकाहरुलाई यस खेलतर्फ आकर्षित गरिरहेकी थिइन्। यस्तै उनले युवतीहरुका लागि साइक्लिङ क्लब समेत स्थापना गरेकी थिइन्। करिब २० वर्ष अघिसम्म महिलालाई अफगानिस्तानमा विद्यालय जान, पुरुषको स्वीकृतीबिना बाहिर निस्कन, स्वतन्त्र निर्णय लिन बन्देज थियो। त्यही सोचको उपजका कारण हालपनि शहबाले संचालन गर्दै आएका क्लबका कारण उनलाई धम्की आइरहन्थ्यो।

शेतायेशका अनुसार हेरातमा बालिका र महिलाहरुले साइकल चढ्नुलाई अझै स्वीकार गरिँदैन। केही साम्प्रदायिक समुदायहरु त साइकल चढ्ने युवतीहरुप्रति हिंसात्मक रुपमा नै उत्रन्छन्। तर पनि शहबा सबै किसिमको भयबाट मुक्त हुँदै आफ्नो लिएको पथमा अडिग थिइन्।

'हेरातमा महिलाहरुको अवस्था देखेर नै उनले यो बाटो रोजेकी हुन्',शेतायेश भन्छिन्,' शहबाको जीवन खतरामा रहेको भनेर हामीलाई डर छ। आस्मान शहबाको छोरा जस्तै थियो। हामीले गत हप्ता आफ्नै आँखाले आस्मानको मृत्यु देख्यौं।'

गत हप्ताको उक्त घटनाले उनीहरु सबैलाई त्रसित बनाएको छ। आस्मान केही महिना अगाडी मात्रै शहबाको परिवारसँग जोडिएका थिए। आस्मान सबैको प्यारो भइसकेको थियो।

'हामी हिँडिरहेका थियौं। सबै कुरा सामान्य नै थियो', शहबा सम्झँदै भन्छिन्,' हामी हरेक हप्ता त्यहाँ जान्थ्यौं। तर यसपटक परिस्थिति अर्कै भयो।'

दुई घण्टा हिँडिसकेपछि गोठालोको भेषमा आएका मानिसले आस्मानमाथि सिधै गोली प्रहार गर्‍यो। त्यसपछि शहबा आस्मान भएको ठाउँमा दौडिएर गइन र ती मानिसलाई गोली नचलाउन भनिन्। तर शहबाको कुरा सुनेपनि नसुने झै गरी ती व्यक्तिले आस्मानको छातीमा गोली बर्सायो।

आस्मानको शरीरबाट रगत बगिरह्यो। शहबा आस्मानलाई बोकेर कारतर्फ दौडिन खोजिन्। तर, बन्दुकले सुसज्जित सूमहबाट एक जनाले गोली चलाएर शहबालाई रोक्न आदेश दिए। र, आस्मानको शरीरलाई जमिनमा राख्न र त्यही छोड्न भने।

शहबालाई भनियो, 'महिला भएका कारण उनलाई कुकुर राख्ने कुनै अधिकार छैन।'

शहबाको परिवारले आस्मानलाई त्यही छोडी फर्किए। उनीहरुसँग अरु कुनै उपाय पनि त थिएन।

शहबालाई थाहा छ कि प्रहरीमा रिपोर्ट गरेर केही हुनेवाला छैन।

'मलाई थाहा छ प्रहरीलाई भनेर केही हुँदैन। हरेक दिन यहाँ दर्जनौं मानिसको हत्या हुन्छ। उनीहरु प्रति कसैले पनि जिम्मेवारी महसुस गर्दैनन्।'

शहबाले महिला र बालबालिकाहरुलाई सशक्त बनाउने उद्देश्य सहित खेलकुद क्ल्ब खोलेकी थिइन्। तर, आस्मानको हत्यासँगै उनले क्लब बन्द गर्ने निर्णय लिएकी छिन्। उनको त्यो निर्णय उनको समुदायका लागि ठूलो घाटा हो।

किनभने उनले क्लब मात्रै बन्द गरेकी छैनन्। छिमेकी देश इरानमा बसाई सर्ने योजना समेत बनाएकी छिन्। त्यहाँ उनी सुरक्षित भविष्यको खोजीमा हुनेछिन्।

'मैले जब आस्मानलाई मेरो घरमा ल्याए। मैले गुगल गरेर कुकुर कति वर्ष बाँच्न सक्छ भनेर सर्च गरें। सबै कुकुरहरु करिब १४ वा त्यो भन्दा धेरै वर्ष बाँच्न सक्ने रहेछन्,' शहबाले सुनाइन,' मेरो प्रिय आस्मान ७ महिना छँदा नै संसार छोडेर जानेछ भनेर मैले कल्पना पनि गरेको थिइन्। तर उसको हत्या भयो। म आस्मानसँग अझै १४ वर्ष बस्न सक्थें। यो कुरा सम्झेर म निकै निराश छु।'

(बीबीसीमा प्रकाशित सामग्रीको भावानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell