PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कामदार - मालिकबीच के हुन्छ जसले निम्त्याइरहेछ वीभत्स हत्याका घटना?



पहिलोपोस्ट

कामदार - मालिकबीच के हुन्छ जसले निम्त्याइरहेछ वीभत्स हत्याका घटना?

काठमाडौः यसै साता सानेपामा भएको विभत्स हत्याको घटनाले फेरि धेरैलाई झस्क्याइदिएको छ। पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या पहिलो होइन, घरबेटी-कामदार जोडिएको। २०७५ भदौ ४ गते पूर्व राजदूत केशव झाको हत्यामा पनि यस्तै देखिएको थियो भने त्यही वर्ष मंसिरमा ८ वर्षीय प्रयास कुँवरको हत्यामा पनि मालिक-कामदार 'लफडा' देखिएको छ। के कारण कामदारबाटै भइरहेको छ यस्ता घटना? 

पट्टु (अश्विन चौधरी)ले सात वर्षअघि अर्जुन कार्कीलाई घरेलु कामदारका लागि विजय चौधरीको नाम सिफारिस गरे। भर्खरै किशोर अवस्थामा प्रवेश गरेका चौधरी शालिन स्वभाव र काम गर्ने देखेपछि उनले कार्कीको घरमा काम गर्ने अवसर पाए।

समय वित्दै गयो। चौधरी त्यही घरको चार पर्खालभित्र विजय रमाउँदै गए। खाना पकाउने, घर सफा गर्नेदेखि घरभित्रका सबै काम गर्दैगए। किशोर अवस्था त्यही घरमा बित्यो। सबै राम्रो नै चल्दै आएको थियो। तर, गएको सोमबार एकाएक घरभित्र नै ती युवक डोरीमा पासो लगाएर मृत अवस्था फेला परे।

उनी मात्र होइन। उनी लडिरहेको केही दुरीमा उनकी घर मालिक मुना कार्की पनि अचेत अवस्थामा थिइन्। पूर्व सचिव कार्की घरभित्र छिरेर हेर्दा दुवै जनाको अवस्था देखेपछि चिच्याए।

युवक मरिसकेका थिए। केही बाँच्ने आशा बोकेर मुनालाई अस्पताल पुर्या इयो। तर आशा निरासामा बदलियो। टाउँको र घाँटीमा चोट लागेकी उनको अस्पतालले मृत घोषणा सुनायो। मृतक चौधरीले आफ्नो मात्र होइन (घरबेटी) मुनाको समेत ज्यान लिएको प्रहरीले दावी गरिरहेको छ।

घरमा भएको सीसीटीभी फुटेजको आधारमा युवकले पहिले मुनाको हत्या गरेको त्यसपछि आत्महत्या गरेको निष्कर्षमा पुगिसकेको छ। तर, अहिलेसम्म हत्याको कारण भने खुल्न सकेको छैन। कारण केही भेटिएला कि भनेर प्रहरीले मुना र विजयले चलाउने मोबाइलको प्राविधिक पक्षक केलाइरहेको छ।

'हत्या गरेकोमा शंका भएन। अब कारण के हो भन्ने मात्र छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी टेकप्रसाद राईले भने।

हत्याको एउटा कारण दुई बीचको विवाद हुनसक्ने प्रहरीको अनुमान छ। विजयका बुबा जानकी चौधरी, मुनाका श्रीमान् अर्जुन र घरमा काम गर्ने अरु कामदारले कुनै पनि विवाद भएको कुरा त्यसदिन नसुनेको प्रहरीकहाँ बयान दिएका छन्।

प्रहरीको अनुसन्धान जारी नै रहेकाले चौधरीले हत्या र आत्महत्याको कारण खुल्न सकेको छैन। तर प्रहरीको दावी अनुसार 'घरमा काम गर्न राखेको युवकले नै हत्या गरेकोमा कुने द्विविधा छैन।'

आर्थिक विवादमा कामदारले नै गरेका थिए झाको हत्या

२०७५ भदौ ४ गते सुतिरहेकै अवस्थामा एक वृद्धको हत्या भयो। हत्या हुने व्यक्ति सर्वसाधारण थिएनन्। थिए, पूर्वराजदुत केशव झा।

झाको शरीरमा आफ्नै भान्छामा प्रयोग गर्ने धारिलो चक्कु प्रहार भएको थियो। त्यसैले घटना चिने जानेकोबाटै हुनसक्ने प्रहरीले अनुमान गरेको थियो। तर, घटना भएको ११ महिनासम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउनै सकेन। घटना भएको दिन घरका ढोका र झ्याल बन्द भएकाले प्रहरीले घटना घरभित्र नै भएको हुनसक्ने अनुमान गरिरहेको थियो।

घटना भएको थाहा पाएपछि नै प्रहरीले घरमा काम गर्ने तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्योभ। तर, कुनै सबुत फेला नपरेपछि उनीहरु छुटे।

झाको घरमा श्रीमती ज्ञानु झा र तीन जना कामदार मात्र बस्थे। उनीहरुको छोराछोरी विदेशमा नै। करिव एक वर्ष प्रहरी नै रनभुल्लमा पर्‍यो। तर, एक वर्ष हुनै लाग्दा घरमा काम गर्ने सुरक्षा गार्ड तथा भान्छे पक्राउ परे। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काभ्रे पनौती नगरपालिका वडा नम्बर १० का सानुकान्छा तामाङलाई नियन्त्रणमा लियो।

सुरुमा २० दिनभन्दा बढी अनुसन्धानपछि प्रहरीले उनीहरूलाई छोडेको थियो। प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जनही ८ हजार रुपैयाँ धरौटी बुझाएर उनीहरू छुटेका थिए। उनीहरुको पोलिग्राफ परीक्षण समेत गरिएको थियो। परीक्षणमा झुट बोलेको देखिए पनि पोलिग्राफलाई अदालतले प्रमाणको रुपमा नमान्ने हुँदा प्रहरीले अदालतमा पेश गर्न सकेको थिएन।

तामाङ करिव १० वर्षदेखि झाको घरमा काम गर्दै आएका थिए। परिसरको अनुसन्धानमा आर्थिक लेनदेनमा विवाद भएपछि घटना भएको देखायो। तामाङले झाको घरमा काम गरे वापत १५ हजार रुपैयाँ तलव खादै आएका थिए। पछिल्लो समय तलवकै विषयमा विवाद देखिएको थियो। प्रहरीले तामाङलाई अभियुक्त बनाएर मुद्दा बुझायो। जिल्ला अदालतले तामाङलाई पूर्पक्षको लागि थुनामा पठाएको छ।

मालिकको रिसमा बच्चाको हत्या

'उसको बुबाले पटकपटक गाली गरेका थिए। मलाई पहिलेदेखि नै रिस उठिरहेको थियो। त्यसैको बदला लिन हत्या गरेको हुँ,' प्रहरीले अपरहण तथा हत्याको आरोपमा नियन्त्रणमा लिएपछि २२ वर्षीय महेन्द्र सार्कीले भनेका थिए।

२०७५ मंसिर ११ गते गोंगबुबाट अपहरणमा परेका बालकको हत्या भएको थियो। आठ वर्षीय बालक प्रयास कुँवरको अपहरणको उद्देश्य हत्या गर्नु नै रहेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

मित्रनगरमा रहेको स्वस्तिक त्रिवेणी गेष्ट हाउसमा रहेका बालकलाई जंगलमा लगेर हत्या गरेका थिए गाडी चालक २२ वर्षीय महेन्द्र सार्कीले। 

बालकका बुबा प्रवीण कुँवर मित्रनगरमा स्वस्तिक त्रिवेणी गेष्ट हाउस संचालक थिए। सार्की २ महिनादेखि होटेलमा चालकको रुपमा काम गर्दै आएका थिए। सार्कीले प्रहरीको बयानमा भनेका छन्, ' बच्चाले मलाई गाडीको लिभरले पिटिरहन्थ्यो। उसको बुबाले पनि पटकपटक गाली गरेका थिए। मलाई पहिलेदेखि नै रिस उठिरहेको थियो। त्यसैको बदला लिन हत्या गरेको हुँ।'

बालकका बाबुआमा होटेलमा नभएको मौका छोपी सार्कीले बालकलाइ गाडीमा हालेर लगेको र जंगलमा हत्या गरेको देखिएको हो।

'जंगलमा लग्ने बित्तिकै हत्या गरेर झोलामा हालेर फालेको देखिन्छ,' एसपी उप्रेतीले भने। अपहरणपछि सार्कीले मित्रनगर नजिकैको पसलबाट दुईवटा जेब्रा झोला किनेका थिए। त्यतिबेला बालक भने गाडीभित्र नै थिए।

बालकको हत्या गरी सार्की होटलको गाडी लिएर फर्किएको अनुसन्धानमा देखिएको छ। बाबुआमा होटेलमा आएपछि छोरो हराएको भन्दै खोजी गर्न थाले। स्याङ्जा भिरकोट नगरपालिका वडा ७ का सार्की करिव २ वर्ष भारतमा काम गरेर कुँवरको होटेलमा चालकको रुपमा काम गर्न आएका थिए।

सुनको लागि घरधनीको हत्या

२०७४ साउन १२ गते बुढानिलकण्ठ नगरपालिकाको तौलुङमा रहेको गीता ढकालको घरमा उनकी आमा पार्वती ढकालको हत्या भयो। छोरीको घरको किचेनमा टाउको फोरिएको विभत्स अवस्थामा उनको लाश भेटिएको थियो। एक महिनासम्म घटनाको कारण खुले पनि हत्यारा पत्ता लाग्न सकेन।

तर केही समयपछि सुदामा लामिछानेसहितका अभियुक्तहरुलाई समात्यो। प्रहरी अनुसन्धानमा उनले नै हत्या गरेको देखियो। सुदामा गीताको घरमा केही समय काम गर्न बसेका थिए। तर करिब १ हप्तामात्र काम गरी हजार रुपैयाँ लिएर काम छाडी हिडेका थिए। काम छाडेको करिब दुई महिनापछि सुदामा पुनः घरमा आई विदेश जानु परेकोले पासपोर्ट बनाउन पैसा मागेका थिए। तर पार्वतीले आफूसँग पैसा नभएको भन्दै इन्कार गर्छिन्।

उनलाई पहिले काम गरिसकेको हुनाले सुनका गर गहनालगायतका सरसामानहरु राख्ने स्थानसमेत देखेका थिए। त्यसैले उनले लुटपाट गर्ने योजना बुन्छन्।

सुदामा साथीसित माइक्रो बस चढी बुढानिलकण्ठ पुग्छन्। किचनमा रहेको ह्याम्मरले टाउकोमा हानेर रकम लुटेर भाग्छन्।

वनस्थली नर्सरी चोकमा रहेको दीपज्योति सुनचाँदी पसलमा लगी सुनका गर गहनाहरु १ लाख १५ हजार रुपैयाँमा बिक्री गरेको खुल्छ।

सुदामाले ल्याएका बिल नभएका सुनका गरगहना कमिसनको प्रलोभनमा परी बिक्री विवरणमा संलग्न झापा बुधबारे-१ घर भई वनस्थली नर्सरी चोकमा दीपज्योति सुनचाँदी पसल संचालन गरी बस्ने वर्ष-३० को चन्द्रकान्त ल्वागुन, नुवाकोट विदुर नपा-८ घर भई हाल वनस्थली बस्ने वर्ष-४८ की कृष्णमाया श्रेष्ठ र नुवाकोट विदुर नपा-८ घर भई हाल वनस्थली बस्ने वर्ष-२० को किशोर श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

१८ वर्ष पुरानो घटना

२०५७ असार ८ गते भक्तपुर कटुञ्जे ८ स्थित घरमा ३३ वर्षीया विजेयश्वरी प्रजापतिको हत्या हुन्छ। विजयश्वरी र देवीरमण मात्र थिए। देवीरमण अधिकारी अर्थात कामदार। विजयश्वरी १२ वर्षीय छोरा र १४ वर्षीया छोरीलाई स्कुल जाने बसमा छोडेर घर फर्किएकी थिइन्। उनका श्रीमान पनि कामको सिलसिलामा बाहिरै थिए।

देवीरमण र विजयश्वरीबीच केही दिनदेखि पैसाको विषयलाई लिएर विवाद चलिरहेको थियो।

मासिक १ हजार ५ सय रुपैयाँ दिने शर्तमा काम गर्न घरमा राखेका थिए। उनका श्रीमान तुलसीभक्तले नै अधिकारीलाई काम गर्न ल्याएका थिए। तर, ७ महिनासम्म पैसा नदिएपछि देवीरमणले एकमुष्ठ १३ हजार रुपैयाँ मागे।

त्यही विषयमा विवाद हुँदा अधिकारीले विजेश्वरीको हत्या गरी फरार भएका थिए। हत्या गरेपछि देवीरमणले घरमा भएको ८ तोला सुन, ४ हजार पर्ने लेडिज ज्याकेट र ४ हजार रुपैयाँ लिएर निस्किएका थिए। घटनाको १८ वर्षसम्म प्रहरीले अधिकारीलाई समात्न सकेन।

तर गत जेठमा अधिकारीलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिन सफल भयो। प्रहरीसँगको बयानमा उनले विवाद र रिसमा हत्या गरेको स्वकार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell