PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

प्लस टू पढ्ने पाँचसय विद्यार्थीलाई पाकिस्तानले दियो छात्रवृत्ति



रासस

प्लस टू पढ्ने पाँचसय विद्यार्थीलाई पाकिस्तानले दियो छात्रवृत्ति
विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत। Photo: Embassy of Pakistan, Kathmandu/Facebook

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देशका विभिन्न उच्च माध्यमिक विद्यालयमा प्लस टू अध्ययन गरिरहेका ५ सय विद्यार्थीलाई ‘एम्बासडर अफ पाकिस्तान स्कलरसिप्स्’ प्रदान गरेका छन्।

सन् २०१३ देखि पाकिस्तानी राजदूतावासले जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष प्रदान गर्दै आएको पाकिस्तानी राजदूत छात्रवृत्ति आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जेहेन्दार छात्रछात्रलाई जनही १० हजार रुपैयाँ वितरण गरेका हुन्।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले नेपालको शैक्षिक विकासमा पाकिस्तानले निरन्तर सहयोग गर्दै आएकामा त्यसको सराहना गरे। नेपाल र पाकिस्तानबीच सरकारीस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै उनले दुई देशबीचको जनस्तरको सम्बन्धलाई छात्रवृत्तिलगायत यस्ता कार्यक्रमले अझ प्रगाढ तुल्याउने बताए।

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले नेपालको विकासका संवाहक युवा वर्ग भएको बताए। उनीहरुलाई शैक्षिक रुपमा सबल बनाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै छात्रवृत्तिको संख्या बढाउने जानकारी दिए।

नेपाल-पाकिस्तान मैत्री तथा साँस्कृतिक संगठनका अध्यक्ष हिमालय शम्शेर जवराले नेपालका युवा तथा विद्यार्थीलाई थोरै भएपनि छात्रवृत्ति उपलब्ध गराएर पाकिस्तानले नेपालसँगको सम्बन्धलाई अझ नजिक ल्याएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell