मुना गाग्रीमा पानी बोकेर घरतिर आउँदै थिइन्। तीन जनाको समूह लिएर आएका एक जनाले 'देउताको धजा' फालिदिए उनलाई। देउताको धजाले लागेपछि अब मुनाले कि त धजा हान्ने केटासँग बिहे गर्नुपर्ने हुन्छ कि त अर्कैसँग भाग्नुपर्छ।
मुनाको प्रेम त जगदीशसँग चल्दै थियो। तर धजा लाग्यो अर्कैको।
त्यसैले रातो टालो फाल्दै सबैलाई झट्कार्दै घरतिर अघि बढ्छिन् मुना। मुना हिँडिसकेपछि जगदीश र महेन्द्र त्यही बाटो हुँदै आइपुग्छन्। बाटोमा धजा फालिएको छ। अनि, मुनाले लगाएको चाँदीको बाला छुटेको छ। जगदीशले आफ्नो नाकमुख छोप्ने रातो टालोमा पोको पारेर बाला महेन्द्रलाई पठाउँछ।
साँझ मुनाकी आमाले त्यो चिनो र टालो पाउँछिन् महेन्द्रबाट। महेन्द्र जगदीशको सहयोगी। मिल्ने हितैषी साथी पनि। उनकी आमाले बाला फालिदिन्छे मुनानेरै।
मुनाकी बुवा बितिसके।
गौरा पर्वको दिन। बाक्पा नाच भइरहेको छ। त्यही हो मुना र जगदीशबीच रातो टालो तानातान भएको र मुनाले नै राखेको।
र, उनीहरुको प्रेम यात्रा अझ गाढा भयो यही दिनबाट।
उनीहरुको यो यात्रामा जगदीशकै हितैषी साथी महेन्द्र बाधक बनिदिन्छन्।
गाउँमा प्रेम असफल हुने देखेपछि जगदीश र मुना आफ्नो प्रेम सफल बनाउन भोट जाने तयारीमा लाग्छन्। गाउँमा यो कुरा कसैलाई थाह दिनु भएन।
रातो टालो छाडिएकै बाटो भएर आफूलाई पछ्याउन जगदीशले मुनालाई अघिल्लो दिनै निर्देशन दिएका हुन्छन्। रातो टालोसँगै बाटोमा जगदीशले चिन्हहरु छाड्नेछन् मुनालाई बाटो पत्ता लगाउन सजिलो होस् भनेर।
मुनाले पनि आफूले घर छाड्नुअघि घरको भित्तामा आफू भागेको आमा र गाउँलेलाई निश्चित गराउन चिन्ह बनाएकी छिन्।
बुवालाई बिदा मागेर जगदीश भोटको यात्रा शुरु गर्छन् घोडा चढेर। एउटा सानो फूलबारीमा रातो टालो राख्छन् जुन ठाउँ मुनालाई पनि थाह छ। जगदीशको पछिपछि घोडामै छन् महेन्द्र। सोही टालो महेन्द्रले निकालिदिन्छ फूलबारीबाट। अनि बगाइदिन्छ चाङ्ला खोलामा।
महेन्द्र त जगदीशका बुवाबाट प्रयोग भए। कारण जगदीश उच्च जातका हुन्। उनका बुवा धामी भएकाले गाउँमा उनको आदर र सम्मान बेग्लै छ।
तर, मुना विधवाको छोरी। त्यसमाथि कथित तल्लो जाति। त्यही अप्ठेरोले नै बुवाले दुईजनाको प्रेम छुटाइ दिने साजिश गर्छन्।
भोट पुगेर जगदीशसँगै घोडा चढेर शहर घुम्ने मुनाको सपना सफल हुँदैन। जगदीश भोटमा मुना पर्खिरहेको हुन्छ। तर, मुनाले जगदीशसम्म पुग्ने बाटो भेट्दैन।
घर छोड्नु अनि बाटोमा रातो टालो नभेट्नु मुनाका लागि दुखद भइदिन्छ। यही त थियो उनीहरुको भेटको आधार।
***
यही कथा भएको गीति कथा 'रातो टालो' शुक्रवार साँझ कुमारी हलमा प्रिमियर गरियो। फिल्मका कार्यकारी निर्माता जगदीश हमालले स्क्रिनमा हुम्लाको कथा नदेखिएकोले गीति कथा यात्रा गरिएको बताए। पहिलो प्रोजेक्टको प्रिमियरमा हल भरिभराउ भएपछि हौसिए हमाल, 'स्क्रिनमा हाम्रो कथा पहिला हेर्न पाएका थिएनौं। हाम्रो पनि कथा छ। संस्कृति छ। त्यसैलाई नै लिएर हामी आएका छौं। हुम्लालाई माया गर्दिनु होला।'
२४ मिनेटको गीति यात्रा हुम्लाको सिमीकोट गाउँपालिका १ कोरन भ्यालीमा छायांकन गरिएको निर्माण टोलीले जनाएको छ।
गीति यात्रा सकिनसाथ अन्तरक्रिया पनि भयो।
फ्लोर ओपन भएपछि महेन्द्रको भुमिकामा देखिएका छिरिङ सोनाम लामालाई धेरैले त्यो रातो टालो बगाउनुको कारण सोधे।
निर्देशक डायमन्ड उप्रेतीले 'रातो टालो- २' मा महेन्द्र र सुर्यबहादुरको बिहे गराइदिने भन्दै व्यङ्ग्य गरे।
जगदीश र मुनाको माया छुटाउने जिम्मा पाएकोले रुमाल उठाउनु आफ्नो बाध्यता भएको 'महेन्द्र'ले सुनाए।
'मारे मार, काटे काट, जसरी नि छुटा' यही आदेश थियो जगदीशका बुवाको। महेन्द्रले सजिलो बाटो छाने र छुटाइदिए जगदीश र मुनाको प्रेम।
कथा विसं २०२६ को हो, अहिले कतिको 'रिलेभेन्ट' छ त? अर्को प्रश्न तेर्सियो।
जगदीशको भूमिकामा देखिएका सूर्यबहादुर शाहीले कथा अहिले पनि उत्तिकै सान्दार्भिक रहेको दाबी गरे।
'हुम्लामा यो प्रथा अझै पनि छ। भ्यालेन्टाइन डे कै दिन यो देखाउनुको कारण मायालाई रिफ्लेक्ट गराउनु हो। कानुनमा मात्र त हो नि समानता। जातीय विभेद त हुम्लामामात्र हैन। नेपालभर नै छ नि,' निर्माता जगदीशले भने।
हुम्लाका बलीराज शाहीले उतैको लय हाले।
जाँदैन टोपीका मैला, धोउ भने कति धोउ
हाँसु भने मन खुसी नई, रोउ भने कति रोउ
जति धेरै जमर्को, उति धेरै प्रश्न आउने भन्दै उनले आफ्नो भाषामा जोड दिन आग्रह गरे।
केही दर्शक भने फिल्ममा प्रयोग भएको रातो टालो फोहोर देखिएको भन्दै नयाँ किन्न पैसा दिनसमेत तयार देखिए।
रातो धजा फाल्दैमा जगदीशको पछि लाग्नुपर्नेमा भने युवा पुस्तालाई चित्ता बुझेन।
कोही केटाले रातो धजा फालेर केटीलाई छोप्दैमा उससँग नै जानैपर्छ त ? यही विषयलाई लिएर १६ वर्षीय मनिषा हमालले सोधिहालिन्।
'यो पहिलेको चलनमा देउताको भाकल मानेर धजा राखेपछि कि त भाग्नुपर्छ। कि त बिहे गर्नै पर्छ। नत्र देउता लाग्छ। यस्तै थियो चलन,' निर्माता हमालले उत्तर दिए।
यता धेरैलाई तुलबुल भने मुनाले बाटो नभेटेकोमा लागेछ। मुनाको भूमिकामा देखिएकी युविना भट्टराईलाई पनि प्रश्न सोधियो। त्यो बाटो किन थाह नभएको? रातो टालो नभेटेकोले आफू भोट पुग्नै नसकेको युविनाले बताइन्।
***
हुम्लाको खस भाषामा आधारित पचास वर्ष अगाडिको समाज, शासन व्यवस्था, परम्परागत मुल्य र मान्यताहरुलाई रातो टालो गीति यात्रामा उतारिएको छ।
जगदीश हमालको रातो टालोमा शोभा शाहीको पनि अभिनय रहेको छ।
आश्मा पोखरेलको सहनिर्देशन, इतुशा पोखरेलले छायांकन गरेको भिडियोमा अभिनाश लामाको सहछायांकन रहेको छ। 'रातो टालो' स्टुडियो लोइथोको ब्यानरमा बनेको हो।