PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

सरकारका दुई वर्ष : प्रधानमन्त्रीले सुनाए ललिता निवास प्रकरणमा चिनियाँ ड्रागनको कथा



कुञ्जरमणि भट्टराई

सरकारका दुई वर्ष : प्रधानमन्त्रीले सुनाए ललिता निवास प्रकरणमा चिनियाँ ड्रागनको कथा
प्रतिनिधि सभालाई शनिवार सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। फोटो : रासस।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सरकारले दुई वर्षमा गरेको कामको फेहरिस्त सुनाए। सरकारका दुई वर्षे प्रगति सुनाउन डेढ घण्टा खर्चिएका ओलीले भाषणमा केही उखान टुक्का पनि जोड्न भ्याए। केही समय अघिसम्म बोलीमा टुक्का जोड्ने प्रधानमन्त्री ओली पछिल्ला भाषणहरुमा टुक्का सुनिन छाडेको थियो। उनले बालुवाटार प्रकरणमा त चिनियाँ कथा समेत सुनाए।

प्रधानमन्त्री ओलीले सरकार दुई वर्ष सञ्चालन हुनुलाई नै सरकारको महत्वपूर्ण उपलब्धि भएको दाबी गर्न भ्याए। 

‘लामो समयसम्म ७-८ महिनाको अवधिमा सरकार फेरिइरहने विगतको अस्थिरतालाई ध्यानमा राख्दा, हाम्रो देशमा एउटै पार्टीको सरकारको दुई वर्षमा सञ्चालन हुनुलाई पनि एउटा महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने।

प्रम ओलीले नेकपाको सरकारले पहिलो बर्षलाई आधार बर्ष र दोस्रो बर्षलाई विकासको आरम्भ बर्षका रुपमा लिएको उल्लेख गरे।

‘बेलाबेलामा विस्मित हुन्छु’

उनले दुई वर्षमा जनतामा ‘इम्प्रेसन’ बढेको बताए। उनले अघिल्ला वर्षहरुमा सरकारका प्रतिबद्धता र उद्देश्यबारे चर्चा गर्दा गफ गरेको ठान्ने गरेको र अहिले परिवेश बदलिएको बताए।

उनले भने, ‘पहिले सरकारका प्रतिबद्धता र उद्देश्यबारे चर्चा गर्दा ‘गफ गरेर हुन्छ, गर्छु होइन, गरें भन्नु पर्‍यो, काम गरेको देखिनु पर्‍यो नि– तथ्य खोई?’ भन्ने सुन्थें। अहिले परिवेश अलि भिन्न देखिएको छ। यो एक वर्षदेखि एउटा थेगोजस्तै– ‘अंक र आँकडाबाट हुन्छ? ग्लोबल इण्डेक्समा होइन, जनतामा इम्प्रेसन’ के छ बुझ भन्ने जस्ता कुरा सुनिन थालेको छ।’

ओलीले यस्ता कुरा सुन्दा आफू बेलाबेलामा विस्मित हुने गरेको बताए।

‘भनौँ कि जस्तो पनि लाग्छ– ठीकै छ। ‘अंकमा होइन, अनुभूति नै सही – इण्डेक्स होइन, इम्प्रेसन’ कै कुरा गरौँ न त! यो सरकार बन्नुअघि तराईमा शीतलहर र हिमाली क्षेत्रमा जाडोमा कठ्याँङ्ग्रिएर हरेक हिउँदमा कोही न कोहीले जान गुमाउनै पर्थ्यो। विगत दुई वर्षयता जाडो वा शीतलहरबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन। यो अंक मात्रै होइन अनुभूति पनि हो।’

प्रधानमन्त्री ओलीले आफूले भष्ट्राचर गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने कुरालाई पनि दोहोर्‍याए। सुशासनका संयन्त्रहरु क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिएको पनि बताए।

‘मैले पटक/पटक भन्ने गरेको छु – म आफू भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ। गतबर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ – कसैले मेरो भनाइलाई भन्नको लागि भनेको ठानेको छ भने त्यसले गल्ति गर्दैछ। दूराचारी र दूराचार, भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर बोल्ने मेरो बानी छैन,’ उनले भने।

सुशासनका संयन्त्रहरु क्रियाशील हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुर्मुरिँदा रहेछन् भन्दै उनले ‘नील वर्ण श्रृगाल कथा’ सम्झनामा आउने बताए।

ओलीले सुन तस्करी तहसनहस बनाएको बताए। तस्कहरु समातिएपछि खोइ सुन भन्दै उफ्रिएको भन्दै कटाक्ष गरे।

‘सार्वजनिक जग्गा हडप्नेकाविरुद्ध कारबाही शुरु गर्दा होस् वा राजश्व अपचलनका कसुरमा लाग्नेका विरुद्धको कार्यमा होस्, मैले पटक पटक खप्की खाएको छु’, उनले भने, ‘तस्करहरु समातिएपछि खोई सुन भन्दै बुरुकबुरुक उफ्रिएको देखेको छु। आज सुन काण्डमा अदालतले छाडिएिका दोषीहरु बाहेक अरु जेलमा नै छन। सुन तस्करीको लाइन तहसनहस र बन्द पारिएको छ।’

उनले जंगलमा थुपारिएका र मझेरीमा पुरिएको सुन समेत पक्राउ गरिएको बताए। प्रधानमन्त्री ओलीले सुन तस्करी तहसनसह भएको दाबी गर्दै आए पनि सुन तस्करीका घटना हुँदै आएका छन्।

वालुवाटार प्रकरणमा ड्रयागनको कथा : देखाउनेले दाग देखायो किन रुवाबासी?

प्रधानमन्त्री ओलीले यसरी सुनाए कथा-‘एक चिनियाँले ड्रयागन असाध्यै मन पराउथे। उसले घरभरी कोठाको भित्तामा ड्रयागनकै चित्र लेख्थ्यो। ड्रयागनकै प्रार्थना गर्थ्यो।उसको प्रंशसा देखेर ड्रयागन प्रशन्न भयो र एकदिन प्रकट भयो। तर ड्रयागन देख्ने बित्तिकै उ भाग्यो। जब ड्रागन आउन थाल्यो समस्या बेग्लै देखिन थाल्यो।

सरकारले यो प्ररकणमा समितिले प्रतिवेदनले दियो । अनुसन्धानमा पठायो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्यो र मुद्दा चलायो ।

आरोपितहरुविरुद्ध जब मुद्दा दायर भयो – देखिएका र सुनिएका प्रतिक्रिया लगभग ड्रयागन प्रेमी युवाको जस्तै रह्यो ।यस सन्दर्भमा म एउटा गीत  सम्झन्छु –'देखाउनेले दाग देखायो किन रुवाबासी।'

प्रधानमन्त्री ओलीले बालुवाटार जग्गा प्रकरणमा सरकार कसैप्रति पनि आग्रही वा पूर्वाग्रही नभएको र नबन्ने दाबी गरे। उनले सुन तस्करी, वाइडबडी, न्यारोबडी प्रकरणको निष्पक्ष छानविन गरिने आश्वासन पनि दिए।

प्रधानमन्त्री ओलीले बालुवाटार जग्गा आफैँले बेचेर खाएको जसरी प्रचार गरिएको पनि बताए।

उनले भने, ‘ललिता निवास र प्रधानमन्त्री निवास बालुवाटारमै भएकाले प्रधानमन्त्रीले नै बेचेर खाए जस्तो गरी बालुवाटार काण्डलाई प्रचारप्रसार र आक्रमणको कारण बनाइयो। लुटिएको सरकारी जग्गा फिर्ता गर्न पहल गर्ने मलाइ नै त्यहाँ कैफियत छ कि जसरी प्रचार गरियो। यस प्रसंगमा कतिपय साथीहरुको भूमिका चिनियाँ लोककथासँग मिल्दोजुल्दो छ।’

उनले नेपाल ट्रष्ट प्रकरणमा पनि छानबिन गरिने प्रतिबद्धता व्यक्त गरे।

राष्ट्रिय सभा निर्वाचनले जनता देखाउछ, जनता सरकारकै पक्षमा  

माघ ९  गते सम्मपन्न राष्ट्रिय सभा निर्वाचनले जनता सरकारकै पक्षमा रहेको स्पष्ट हुने दाबी समेत गर्न भ्याए प्रम ओलीले। उनले उपनिर्वातचनमा विपक्षी दलले केही सिट जितेपनि समग्र सिट बढोत्तरी भइएको पनि बताए। 

उनले भने, ‘कोहीले भन्नु होला, राष्ट्रिय सभाको निर्वाचनले नयाँ होइन विद्यमान पुरानै जनमतको प्रतिनिधित्व गर्छ। यसलाई सही मापन नमान्ने हो भने उप–निर्वाचनमा अभिव्यक्त जनमतले त तथ्य बोल्छ होला नि!’

उनले थपे, ‘सरकारतिरको नकारात्मक बुँदाबाट थालौँ– यस उपनिर्वाचनमा केही स्थानमा सरकार पक्षधरहरुले हारे, केही स्थानमा सरकारको विपक्षमा रहेकाहरु पनि विजयी भए। समग्रमा सीट र मतसंख्यामा बढोत्तरी सरकारकै पक्षमा आयो। यो इम्प्रेसन हो र तथ्य पनि। तथ्यले भन्छ– सतर्कतापूर्वक जनताले सरकारकै पक्षमा भोट हाले।’

उच्च आर्थिक वृद्दिदरमा नेपाल विश्वका १० मूलुकमा 

प्रधानमन्त्रीले नेपाल उच्च आर्थिक वृद्दिदर हाँसिल गरेका विश्वका १० मूलुकहरुको सूचीमा समावेश भएको बताए। उनले भोकमरी अन्त्य भएको र कोही भोकले नमर्ने समेत बताए।

‘गणतन्त्र स्थापना पछिको एक दशकसम्म आर्थिक बृद्धि दर ४ प्रतिशत मात्र थियो। कुनै बर्ष त हाम्रो आर्थिक बृद्धिदर ०.७४ प्रतिशत मात्रै पनि थियो। अहिले ३ वर्षयता लगातार ६.५ प्रतिशतभन्दा माथिको आर्थिक बृद्धि रहेको छ‘, उनले भने, ‘गत वर्ष ७.१ प्रतिशतको आर्थिक वृद्धि थियो। विगत ३ बर्षदेखि कुनैपनि प्रदेशमा आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा न्यून छैन। यो २ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आम्दानी १८ प्रतिशत भन्दा माथि बढेको छ।’ 

एमसिसी संसदबाट अनुमोदन हुन्छ, मिचिएको भूमि फिर्ता हुन्छ

प्रधानमन्त्री ओली पछिल्लो समय चर्चामा रहेका दुई विषय एमसिसी र सिमा विवादका विषयमा आफ्ना धारणा राखे।

एमसिसीका विषयमा ओलीले भने, ‘एमसिसीबारे विवाद होला, अलि-अलि बुझ्न बाँकी होला। राजनीतिक दलहरुको विषय होला। राजनीतिक दलहरुले अध्ययन गर्लान्, यो आफ्नो ठाउँमा छ। तर सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको छ। सभामुखले निर्णयार्थ पेश गर्नासाथ पास हुन्छ।’

त्यस्तै भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि समेटिएको छ। नेपाली भूमि समेटेर नेपाली नयाँ नक्सा जारी गर्नुपर्ने माग पनि हुँदै आएको छ। नेपालको भूभाग नेपालले नछोड्ने प्रधानमन्त्री ओलीले बताए।

उनले नेपालले मात्रै चाहेर वार्ता नहुँने उल्लेख गर्दै भने, ‘फलानो दिन वार्ता गर्छु भनेर एकतर्फी भनिने कुरा होइन। दुई तर्फी छलफलपछि वार्ताको माध्यमबाट समस्या समाधान गरिनेछ।’

भारत सरकारसँग सीमाबारे सार्वभौम मुलुकका रूपमा वार्ता गर्ने उनको भनाइ थियो।

‘यो सरकार राष्ट्रिय हित, भौगोलिक अखण्डताका सवालमा कुनै अनुचित सम्झौता गर्दैन। हामी भूभाग नै फिर्ता ल्याउने तयारीमा छौँ भने नक्सा छाप्ने कुरा त के भयो र। नक्सा तुरुन्तै छापिन्छ,’ प्रधानमन्त्री ओलीले भने। 

निर्मला हत्याकाण्डका दोषी कठघरमा उभिनैपर्छ

प्रधानमन्त्री ओलीले दुई वर्षको अवधिमा देशको शान्तिसुरक्षाको स्थिति सामान्य र सन्तोषजनक रहेको बताए। ‘सरकार छ र हामी सुरक्षित छौँ’ भन्ने अनुभूति गर्नसक्ने सुरक्षित र ढुक्कको परिवेश बनाउन सरकार सफल भएको उनले दावी गरे। उनले निर्मला हत्यकाण्डका दोषीलाई कठघरमा उभ्याउने दावी पनि गरे।

उनले भने, ‘निर्मला हत्याकाण्डलाई जतिसुकै गिजोल्न र अपराधी जोगाउन अनेकन् हत्याकाण्ड प्रयोग भए पनि अन्ततः दोषी उम्किन अब संभव छैन। पक्राउ परी हत्याराले कानुनी कठघरामा उभिनै पर्नेछ।’

प्रधानमन्त्री ओलीले संविधान सबैले स्वीकार गरेको र औचित्यका आधारमा संशोधन पनि हुने बताए। संवोधनका क्रममा ओलीले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नुलाई पनि सरकारको उपलब्धिका रुपमा सुनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell