PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मछिन्द्रलाई उपहारसँगै सकियो शहीद स्मारक लिग : साहुखलको १०० गोल देखि विर्सनलायक झगडासम्म



मुकुन्द घिमिरे

मछिन्द्रलाई उपहारसँगै सकियो शहीद स्मारक लिग : साहुखलको १०० गोल देखि विर्सनलायक झगडासम्म

मछिन्द्र क्लब च्याम्पियन बनेसँगै शहीद स्मारक 'ए' डिभिजन लिग सकिएको छ। शनिबार आर्मीलाई हराउँदै मछिन्द्रले उपाधि उचाल्यो। लिग सुरु नहुँदै लिग उपाधिको दावेदारका रुपमा आँकिएको टिम हो मछिन्द्र क्लब।

अघिल्लो सिजन फितलो प्रदर्शन गरेको मछिन्द्रले साविक विजेता मनाङ मर्स्याङदी क्लबबाट कप्तान विराज महर्जन सहितका धेरै खेलाडी भित्र्यायो। अधिकांश राष्ट्रिय टिमबाट खेलेका खेलाडी उतारेको मछिन्द्रले लिगमा राम्रै प्रदर्शन गर्‍यो।

लिगको सुरुवाती चरणहरुमा मनाङ मर्स्याङदी क्लबले लिग लिड गरेको थियो। त्यसपछि मछिन्द्र र त्रिभुवन आर्मीले लिग लिड गरे। पछिल्ला चरणहरुमा आर्मीले लिगमा लिड गरेको थियो। त्यसैले पनि अन्तिम खेलमा बराबरीको 'एडभान्टेज' आर्मीलाई थियो। तर मछिन्द्रले त्यसको अवसर नै दिएन। प्रतिस्पर्धात्मक खेलमा आर्मीकै आत्मघाती गोल मछिन्द्रको जितमा निर्णायक बन्यो।

अघिल्लो सिजन अंकतालिकाको पुछारबाट एक स्टेपमाथि रहेको मछिन्द्रले ऋणात्मक अंकसँग लिग सुरु गरेको थियो। र ऐतिहासिक जित पनि हात पार्‍यो। लामो समय 'बी' डिभिजनमा थन्किएको मछिन्द्रले पहिलो पटक 'ए' डिभिजन लिग उपाधि जितेको हो।

मछिन्द्रले पहिलो पटक लिग जित्दा मछिन्द्रका अधिकांश खेलाडीले भने अघिल्लो सिजन पनि उपाधि उचालेका छन्। तर, फरक टिमबाट।

लिगको अन्तिम खेलको कथा भने फरक छ। सँधैजसो खाली देखिने दशरथ रंगशालाका प्यारापिटहरु भरिएका थिए। मानिसहरु बाजागाजा लिएर समर्थनमा आएका थिए। त्यसो त आर्मीको समर्थकहरुको पनि कमी थिएन तर मछिन्द्रको समर्थक संख्या धेरै देखिन्थ्यो।

लिगमा लगभग भरिएको प्यारापिटमा समर्थकहरुको उपस्थिति देख्दा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा फाइनल अघिका नेपालको खेलको झझल्को आउँथ्यो।

लिग सकिँदा केही यो लिगका महत्वपूर्ण पक्षलाई हेर्नै पर्ने हुन्छ।

सन्तोषको १०० गोल

शहीद स्मारक ए डिभिजन लिगमा १ सय गोल पूरा गर्ने पहिलो खेलाडी बने सन्तोष साहुखल। च्यासल युथ क्लबका कप्तान समेत रहेका साहुखलले सुरुका लिगको २ खेलमा ३ गोल गर्दै ए डिभिजन लिगमा आफ्नो गोलसंख्य ९९ बनाएका थिए। त्यसपछिका २ खेलमा उनी गोल गर्न असफल रहे। त्यसपछिको खेलमा नेपाल पुलिसविरुद्ध गोल गर्दै उनले १०० गोल गर्ने इतिहास रचे।

साहुखलले २०६० सालमा थ्री स्टारबाट लिगमा डेभ्यु गरेका थिए। उनले आफ्नो पहिलो लिगमै ६ गोल गरेर आफूलाई प्रमाणित गरिसकेका थिए। त्यस्तै २०६१ सालमा एपिएफबाट पनि उनले ६ गोल गरेका थिए। पछि फेरि उनी थ्री स्टार नै फर्किए। २०६२ सालमा थ्री स्टारबाट ९ गोल गरेका उनले २०६३ सालमा ११ गोल गरेका थिए। त्यस्तै ६६/७७ मा १९ गोल गरेका साहुखल २०६८ सालमा मनाङ मर्स्याङदी क्लबमा पुगे। त्यहाँबाट पनि उनले १६ गोल गरे। फेरि अर्को सिजन उनी थ्री स्टारमै फर्किए। २०६९ मा १७ गोल गरेका उनले २०७० मा थ्री स्टारबाट ९ गोल गरेका थिए।

त्यसपछि लामो समय लिग रोकियो। फेरि २०७५ सालमा उनले च्यासलबाट ३ गोल गरे। जारी सिजन पनि पहिलो खेलमा च्यासलमा आबद्ध सन्तोषले पहिलो खेलमा उपाधि विजेता मछिन्द्रविरुद्ध गोल गर्दै खेल बराबरीमा रोक्न सफल भएका थिए। त्यस्तै दोस्रो खेलमा पनि संकटालाई २ गोल गरेपछि उनको गोल संख्या पनि ९९ पुगेको थियो।

यो लिगमा पनि उनले ७ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहे।

मनाङ र मछिन्द्रको झगडा

शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। खेलमा दुवै टिमको दमदार प्रस्तुति देखायो।

एक अर्काविरुद्ध जित निकाल्ने दाउमा दुवै टिमले निकै आक्रमक खेल प्रस्तुत गरेका थिए। फुटबलमा आक्रमक खेललाई नै रोमाञ्चक मान्छन् दर्शकहरु। ९० मिनेट र थप गरिएको समय सकिँदा २-२ को नतिजा निस्कियो। कुनै टिमले पनि जित दावी गर्न सकेनन् र अंक बाडियो।

तर जसै रेफ्रीले खेल सकिएको अन्तिम सिट्ठी बजाए तब त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको माहौल एकाएक परिवर्तन भयो। खेलाडीहरुबीच धकेलाधकेल हुन थाल्यो। मनाङका जगजित श्रेष्ठ र मछिन्द्रका दीपक राईबीच भनाभन भएपछि विवाद शुरु भएको थियो। बेन्चमा बसेका खेलाडीहरु झगडाबाट आफ्ना खेलाडीलाई टाढा राख्न मैदान तिर दगुर्न थाले। तर खेलाडीहरु शान्त हुने अवस्थामा आएनन्।

अवस्था साम्य पार्न केही प्रहरी पनि मैदानमा उत्रिए। रेफ्री र अफिसियलहरु मैदानमा पस्दा ठूलै भीडभाड देखियो। यो प्रकरणले निकै चर्चा पायो।

निकै चर्चामा आएको यो प्रकरण माथि पुस २४ गते एन्फाको अनुशासन समितिले कारवाहीको निर्णय गर्‍यो। एन्फाले खेलाडीलाई अनुशासनमा राख्न नसकेको भन्दै मछिन्द्र र मनाङलाई समान ५०-५० हजार रुपैयाँ जरीवाना तिराउने र दुबै क्लबका खेलाडीलाई उनीहरुको व्यवहार अनुसार कारवाही गर्ने निर्णय गर्‍यो। निर्णयअनुसार मनाङका जगजित श्रेष्ठ, अशोक बराल र रञ्जन विष्ट कारवाहीमा परे भने मछिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमालले कारवाही भोगे।

भरतको ५० गोल

ए डिभिजन लिग अन्तर्गत १२ औं चरणको खेल सुरु हुँदानहुँदै पहिलो गोल त्रिभुवन आर्मीबाट भयो। आर्मीका लागि कप्तान भरत खवासले गरेका थिए त्यो गोल। उक्त गोल लिगमा खास रह्यो किनभने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा भरतको त्यो पचासौं गोल थियो। त्यो गोलसँगै भरत शहीद स्मारक ए डिभिजन लिगमा ५० गोल पुर्‍याउने सातौं खेलाडी बने।

आशिष सर्वाधिक गोलकर्ता

लिगमा यसपटक सर्वाधिक गोलकर्ताको सूचीमा नेपाली खेलाडीकै दवदवा रह्यो। धेरैजसो समय च्यासलका कप्तान सन्तोष साहुखलले सर्वाधिक गोलकर्ताका रुपमा आफूलाई उभ्याए पनि अन्तिम चरणका खेलहरुमा गोल संख्या बढाउँदै सशस्त्र प्रहरीको एपिएफमा आशिष लामाले आफूलाई सर्वाधिक गोलकर्ताका रुपमा उभ्याए।

उनले लिगमा सर्वाधिक ९ गोल गरे। उनी पछि च्यासलका साहुखलले ७ गोल गर्दा सरस्वतीका कजिम बुसारी, मनाङका विमल राना र अन्जन विष्ट र त्रिभुवन आर्मीका नवयुग श्रेष्ठले समान ६/६ गोल गरेका छन्।

सरस्वतीको रेलिगेसन

लिग सकिँदा मछिन्द्र च्याम्पियन बन्यो भने त्रिभुवन आर्मी क्लब दोस्रो भयो। अघिल्लो सिजन रेलिगेसन नराखेर आलोचना खेपेको एन्फाले यसपटक एउटा टिम रेलिगेसनमा पर्ने नियम बनाएको छ। जसमा लिग तालिकाको पुछारमा रहँदै दोस्रो डिभिजन लिगमा झरेको टिम हो, सरस्वती युथ क्लब।

जारी लिगमा १३ खेल मध्ये १ जित र १ बराबरी बाहेक बाँकी सबै खेलमा पराजित भएको सरस्वतीले खराव प्रदर्शन गर्दै रेलिगेसनमा पर्‍यो। तालिकामा सरस्वती क्लबको ४ अंक छ। उसको निकट प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज क्लबको ९ अंक छ।

साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले यसपटक तेस्रो स्थानमा छ। ४ वटा खेलमा बराबरी खेलेको मनाङले च्यासल युथ क्लबसँग पराजय भोग्यो जसले उसलाई उपाधि होडबाट टाढा पुर्‍यायो। मनाङको तालिकामा २८ अंक छ।

तालिकामा २६ अंक जोडेको थ्री स्टार चौथो स्थानमा रहँदा २० अंक जोडेको नेपाल पुलिस पाँचौं स्थानमा रह्यो। त्यस्तै १९ अंकसहित जावलाखेल युथ क्लब छैटौं स्थानमा आफूलाई पुर्‍याउन सफल भयो। सातौ स्थानबाट संकटा क्लब, एनआरटी, च्यासल, हिमालयन शेर्पा, फ्रेन्डस् क्लब, एपिएफ, ब्रिगेड व्वाइज र सरस्वती क्रमश १४ औं स्थानसम्म रहे।

यसपटकको लिग प्रतिस्पर्धात्मक रह्यो। खासगरी शीर्ष तीनको हकमा। सुरुवाती चरणबाटै पालैपालो लिग लिड गरेका मनाङ, आर्मी र मछिन्द्रबीच ठूलो दुरी रहेन।

लिगसकिँदा समेत मछिन्द्र ३१ अंकसहित शीर्षस्थानमा रह्यो भने आर्मी २९ अंकसहित दोस्रो र २८ अंक जोडेको मनाङ तेस्रो बन्यो। शीर्ष तीन टिमवीचको अन्तर ३ अंक भित्रै रह्यो। त्यस्तै जारी प्रतियोगितामा कुनै टिम अपराजित रहेन भने कुनै टिम जितविहीन पनि बनेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell