PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वुहानबाट १७० जना नेपाली बोकेर वायु सेवा निगमको विमान नेपालका लागि उड्यो, ६ जना किन आउन पाएनन्?



विधुर ढकाल

वुहानबाट १७० जना नेपाली बोकेर वायु सेवा निगमको विमान नेपालका लागि उड्यो, ६ जना किन आउन पाएनन्?
फोटो : Ashok Shah

काठमाडौं : नोवेल कोरोना भाइरसको आउटब्रेक इपिसेन्टर वुहानबाट उद्धार गरिएका नेपालीहरु लिएर नेपाल वायु सेवा निगमको विमान नेपालका लागि उडेको छ।

बेइजिङ स्थित नेपाली दूतावासका अनुसार वुहानबाट १७५ जना नेपाली बोकेर विमान नेपालका लागि प्रस्थान गरेको हो।

हुवेइका विभिन्न स्थानमा रहेका नेपालीलाई वुहानस्थित थियान्ह अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्‍याइएको थियो। त्यहाँबाट नेपालीहरुको स्वास्थ्य परीक्षण गरी नेपाल फर्काइएको थियो। सुरुमा १८५ जना नेपाली आउने भनिए पनि १० जना नेपाली आउन पाएका छैनन्।

यसरी नेपाल फर्किनेमा १७० जना विद्यार्थी एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको दूतावासका उपप्रमुख सुशील कुमार लम्सालले पहिलोपोस्टलाई जानकारी दिए। वुहानबाट विमान स्थानीय समय अनुसार १२ बजेर ५२ मिनेटमा उडेको हो।

विमान नेपाली समय अनुसार विहान ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ। हुवेइ प्रान्तका विभिन्न ६ शहरबाट नेपाली नेपाल आउन लागेका हुन्। जसमध्ये वुहानबाट ५५, अनसीबाट २६, सियानबाट २९, यीचाङबाट ८, जिङमनबाट ९ र जिङचोबाट ४८ जना नेपालका लागि उडेका हुन्। जसमध्य १३४ जना पुरुष र ४१ जना महिला रहेका छन्।

उनीहरुलाई नेपाल ल्याएसँगै क्वारेन्टाइनमा राखिने छ।

१८५ जना नेपालीले नेपाल आउनका लागि दूतावासमा निवेदन दिएकोमा ६ जना स्वास्थ्य समस्याका कारण नेपाल आउन सकेनन्। यसअघि नेपाल आउनेहरुको स्वास्थ्य परीक्षण गर्दा ३७ डिग्री सेल्सियस भन्दा माथि भए आउन नदिने बताइएको थियो।

विमानमा नेपालबाट नेपाल सरकारले चीन सरकारलाई सहयोग दिइएको १ लाख मास्कसमेत लगिएको थियो। मास्कलाई विमानस्थलमा त्यहाँको विदेश मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरिएको थियो।

नेपालीहरुलाई नेपाल फर्काउनका लागि त्यहाँको नागरिक उड्ययन प्राधिकरण विदेश मन्त्रालय तथा प्रान्तिय सरकारले सहयोग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell