PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

मानेको निर्णायक गोलमा नर्विचमाथि लिभरपुलको जित



पहिलोपोस्ट

मानेको निर्णायक गोलमा नर्विचमाथि लिभरपुलको जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिग लिडर लिभरपुलले नर्विच सिटीमाथि जित निकालेको छ। घरेलु टोली नर्विचलाई १-० ले हराउँदै लिभरपुलले जारी सिजन आफ्नो अपराजित यात्रा कायम राखेको छ।

नर्विचको घरेलु मैदान ‘कारो रोड’ स्टेडियममा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा सार्डियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। खेलको ७५ औं मिनेटमा हेन्डरसनबाट पासमा पाएको बललाई मानेले गोलमा परिणत गरेका थिए। जुन लिभरपुलको जितमा निर्णायक बन्न पुग्यो। यो गोलसँगै उनले इङलिस क्लब करियरमा १०० गोल पुरा गरेका छन्। मानेले साउथ ह्याम्टनका लागि २५ गोल र लिभरपुलका लागि ७५ गरेका छन्।

जितसँगै लिभरपुलले लिगमा २५ अंकको अग्रता बनाएको छ। तालिकामा साविक विजेता म्यान्चेस्टर सिटीको ५१ अंकसहित दोस्रो स्थानमा रहँदा एक खेल बढी खेलेको लिभरपुलको ७६ अंक छ। लिभरपुलले २६ खेलमा २५ जित र एक बराबरी खेलेको छ।

जारी सिजनमा अपराजित रहेको लिभरपुलले अब पाँच खेलमा जित निकाले लिग विजेता हुने निश्चित हुनेछ। लिभरपुलको अब १२ खेल बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell