PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

केल टोलको सपना पूरा : तीन फुटे फुटबल खेल्दै सुरु भएको मछिन्द्रको यात्रा



सहयोग रञ्जित

केल टोलको सपना पूरा : तीन फुटे फुटबल खेल्दै सुरु भएको मछिन्द्रको यात्रा

कान्छाकाजी शाक्यले फुटबल लिगका खेलहरु हेर्न छुटाउँदैनन्। अझै आफ्नै केल टोलको मछिन्द्र क्लबको खेल छुटाउने कुरै भएन। शनिवार दशरथ रंगशालामा मछिन्द्र क्लब र नेपाली आर्मी क्लबबीचको 'अघोषित फाइनल' हेर्न पुगेका उनी घरी घरी 'वल वल मछिन्द्र ...' भन्दै आफ्नो टोलीको हौसला बढाउँदै थिए।

उनका लागि शनिवारको दिन जीवनको सफल दिन बन्यो।

उपाधिको दाबेदार मानिएको आर्मीलाई पाखा लगाउँदै धेरैपछि काठमाडौंको 'लोकल क्लब' लिग च्याम्पियन बन्यो।

कुनै बेला संकटा, ब्याइज युनियन, एनआरटी, मछिन्द्र जस्ता काठमाडौंको स्थानीय फुटबल टोलीहरुको दबदबा थियो लिगमा। पछिल्लो चरणमा धेरैजसो स्थानीय क्लबहरु बी डिभिजनमा सिमित भए।

मछिन्द्र पनि २९ वर्षसम्म बी डिभिजनमा रह्यो।

'हामीले ए डिभिजनमा पुग्न निकै संघर्ष गर्‍यौं।' मछिन्द्र क्लबका अध्यक्ष प्रवोध कासा भन्छन्, ' शनिवार मछिन्द्र च्याम्पियन बन्यो। सबै टोलवासीको सपना पूरा भएको छ।'

मछिन्द्रका स्टार खेलाडीहरु घाइते थिए। आर्मीको टिम राम्रै फर्ममा थियो। आर्मीलाई लिग जित्न बराबरी गरे पुग्थ्यो। मछिन्द्रलाई खेल जित्नै पर्ने थियो।

दुवै टोली आक्रमक। मछिन्द्रलाई समर्थन गर्न केल टोलका युवादेखि वृद्धवृद्धासम्म दशरथ रंगशाला पुगेका थिए। युवायुवतीहरु धिमे र भुस्याको तालमा इतिहास रच्न आतुर आफ्‍नो टोले टोलीको हौसला बढाउँदै थिए।

३३ मिनेटमा आर्मीले आफ्नै पोस्टमा 'सुसाइड गोल' हान्यो। आर्मीको उही गोलले मछिन्द्रले इतिहास रच्यो। आर्मीले कयौंपटक गोल गर्ने अवसर गुमायो। एक गोल उपहार पाएको मछिन्द्रले आर्मीलाई रोकेकै कारण शनिवार केल टोल च्याम्पियन बन्यो। यस खेलमा नायक रहे अफ्रिकन खेलाडी अन्ड्रेस निया।

**

मछिन्द्र क्लब स्थापना भएको करिब ६० वर्ष भयो। तर यसको 'लिगेसी' यो भन्दा पुरानो छ। केल टोलका युवाहरु मछिन्द्र क्लबका नाममा नै फुटबल खेल्थे, लिग सुरु हुनु अघि नै। आसपासका टोलका युवाहरु सँग मिलेर टुँडिखेल गइन्थ्यो। त्यहाँ दुई फिट- पाँच फिट टुर्नामेन्ट खेल्थे।

केल टोल लगायतका टोलबाट नै काठमाडौंमा फुटबल कल्चरको विकास भएको थियो।

असनबाट इन्द्रचोक जाने बाटोको बीच भागमा छ केल टोल। करुणामय सेतो मछिन्द्रनाथ रहेकोले यस स्थानलाई जनबहा: पनि भनिन्छ।

हाल क्लबका अध्यक्ष रहेका प्रवोध सानै थिए जब उनले खुट्टामा बल अड्याउन सिके। सानो छँदा जनबहा: भित्रै फुटबल खेल्थे। अलि हुर्किँदै गएपछि प्रवोध आफ्ना साथीहरुका साथमा टुँडिखेल पुग्थे।

'विभिन्न टोलका युवाहरु टुँडिखेलमा भेला हुन्थे। फुटबल खेल्थे। ३,४,५ फिट को खेल हुन्थ्यो। आफ्नो उचाइ जहाँ पुग्थ्यो त्यहाँ गएर खेलिन्थ्यो। ३२ पछि त लिगमा नै अभ्यस्त भयौं। शनिवार लिग च्याम्पियन बन्यौं।'

उपाधि जितिसकेपछि शनिवार नै केल टोलमा ट्रफी प्रदर्शन गरियो। स्थानीयले एकआपासमा खुशीयाली मनाए।

मछिन्द्र क्लब, फुटबलमा नयाँ नाम होइन। यो क्लबले आधिकारिक रुपमा दर्ता भएर विभिन्न कार्यक्रम गर्दै आएको छ। वर्षा र सहकालका देवता करुणामय सेतो मछिन्द्रनाथको नाममा नै स्थापना भएको सामाजिक संस्था हो मछिन्द्र क्लब। सांस्कृतिक भाषिकका साथै खेलकुदका क्षेत्रमा समेत यस क्लबले आफ्नो उपस्थिति जनाउँदै आएको छ।

प्रवोधका अनुसार उनका बुवाको पालादेखि नै मछिन्द्र क्लबको नामबाट फुटबल खेलिन्थ्यो। त्यही क्रममा डिभिजन र्‍याङकिङ सुरु भयो। २०३२ सालमा डि डिभिजनमा दर्ता भएर मछिन्द्रले लिग फुटबल खेल्न सुरु गरेको थियो।  खेल्दा खेल्दै मछिन्द्र क्लब बि डिभिजनसम्म पुग्यो। बि  डिभिजनमा २९ वर्ष सम्म अड्कियो मछिन्द्र। सन् २००४ मा मछिन्द्रले ए डिभिजनमा उक्लियो।'

ए डिभिजन पुगेर लिग च्याम्पियन बन्दा सम्म मछिन्द्रमा स्थानीय युवाहरु छैनन्। विराज महर्जनले पुरै उपत्यकाको प्रतिनिधित्व गरिरहेका छन्। बांकी मोफसल र विदेशी खेलाडी। तर पनि केल टोलले मछिन्द्र क्लबलाई आफ्नै मानेर स्याहार गर्दैछ।  

मछिन्द्रले लिग च्याम्पियन बन्दै कप उठाउँदै गर्दा कान्छाकाजी शाक्य जस्तै कयौं केल टोलवासी दशरथ रंगशालमा ताली बजाउँदै थिए। आफूहरुको सपना पूरा भएकोमा एक अर्कालाई बधाई दिँदै थिए।

प्रवोध भन्छन्,' हामीले जसबाट फुटबल सिक्यौं उहाँहरु सबैजनाले शनिवार रंगशालामा आएर साथ लिनु भयो। डि डिभिजनमा खेलेका हाम्रा दाईहरुको साथ पायौं। हामी यसलाई निरन्तरता दिन चाहन्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell